प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्‍वास प्रस्ताव यथावत : देव गुरुङ- समाचार - कान्तिपुर समाचार

प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्‍वास प्रस्ताव यथावत : देव गुरुङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा दाहाल–नेपाल समूहका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव जीवित रहेको बताएका छन् ।

फाइल तस्बिर

बुधबार बसेको अनौपचारिक संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गुरुङले प्रधानमन्त्रीविरुद्ध पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव यथावत रहेको बताएका हुन् । संसद् सुरु भएपछि दलहरुबीच आपसी समझदारीका आधारमा अविश्वास प्रस्ताव माथिको प्रक्रिया अगाडि बढ्ने बताए । उनले भने, ‘पुस ५ गते अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । त्यो प्रस्ताव जीवित रुपमा यथावत् रहेको छ । सदन सुरु भएपछि दलहरुबीचमा आपसी सहमति, समझदारीको आधारमा त्यो प्रक्रिया अघि बढ्ने कुरा हो ।’

सर्वोच्च अदालतको फैसलाअनुसार संसदको अधिवेशन बोलाउनै पर्ने कारण प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन नमिल्ने उनले बताए । प्रमुख सचेतक गुरुङले बुधबारको अनौपचारिक बैठकमा संसदलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, संसदमा पैदा हुने विभिन्न एजेण्डाहरुमा विषयगत आधारमा आवश्यक सहकार्य गर्दै जाने र दललाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको बताए ।

सर्वोच्च अदालतले संविधान र संसदको रक्षा गरेको भन्दै नेताहरुले एक आपसमा खुसी र बधाई साटासाट गरेको पनि बताए । संसदीय दलको अनौपचारिक बैठकमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिको बारेमा मन्तव्य राखेका थिए ।

प्रकाशित : फाल्गुन १२, २०७७ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्

पाँच वर्षअघि म्याद सकिएको दाल बेच्‍नेलाई ३ लाख जरिवाना

३९ हजार ६ सय किलो रहरको दाल बरामद
कान्तिपुर संवाददाता

मोरङ — विराटनगरका उद्योगी अविनाश बोहोराको घरमा रहेको गोदामबाट ५ वर्षअघि नै म्याद गुज्रिएको ३९ हजार ६ सय किलो रहरको दाल बुधबार बरामद गरिएको छ ।

बजार अनुगमन टोलीले उक्त परिमाणको दाल बरामद गरेपछि वाणिज्य कार्यालय विराटनगरले तत्काल तीन लाख रुपैयाँ जरिवाना गरी गोदाम सिल गरेर दाल परीक्षणका लागि पठाएको छ ।

वाणिज्य कार्यालयका प्रतिनिधिसहितको अनुगमन टोलीले बजार अनुगमन गर्ने क्रममा विराटनगर ११ नयाँ गुद्री बजारस्थित ओम शान्ति किराना पसलमा लेबल परिवर्तन गरी ‘तोर दाल’ लेखिएको १५ किलोको बोरा बरामद गरेको थियो । खुद्रा विक्रेताले आफूले थोक विक्रेताबाट खरिद गरेको बताएपछि अनुगमन टोलीले थोक विक्रेता अनौखी ट्रेड एण्ड सप्लायर्स विराटनगर ९ मा पुगेपछि उक्त दाल जैसनी ट्रेड एण्ड कन्सर्नबाट ल्याएको जानकारी गराए । जैसनी ट्रेड खोज्ने क्रममा अनुगमन टोलीले पिकअप भ्यानमा बजार लैजाँदै गरेको उक्त दाल फेला पारेपछि बोहराको घरमा रहेको गोदाममा पुगेको थियो ।

वाणिज्य कार्यालयका निमित्त प्रमुख पोखरेलले पिकअपमा भएको दालमा पनि लेबल परिवर्तन गरेको पाइएपछि फिर्ता लगेर गोदाममा राख्न लगाएको बताए । ‘कुनै पनि प्याकिङमा लेबल परिवर्तन गर्न नपाइने कानुनी व्यवस्था छ,’ उनले भने, ‘त्यसैले लेबल परिवर्तन गरी खरिद बिक्री गर्ने ओम शान्ति किराना पसललाई ५ हजार, अनौखी ट्रेड एण्ड सप्लायर्सलाई २० हजार र जैसनीलाई तीन लाख रुपैयाँ तत्काल जरिवाना गरी खान योग्य भए/नभएको परीक्षणका लागि दालको नमुना संकलन गरेर गोदाम सिल गरेका छौं ।’

उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार तत्कालै अधिकतम तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्थाअनुसार जैसनीलाई त्यही अनुसारको जरिवाना गरेको उनले सुनाए ।

अफ्रिकी मुलुकबाट आयात गरिएको उक्त दालको बोरामा सन् २०१५ सम्मको मात्रै म्याद उल्लेख भएको भन्दै पोखरेलले पुरानो म्याद मेटेर माथिबाट टाँसिएको नयाँ स्टिकरमा सन् २०२० मा बनेको र उपभोग मिति सन् २०२२ सम्म राखिएको बताए ।

प्रकाशित : फाल्गुन १२, २०७७ १९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×