कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा 

सम्झना रसाइली

तनहुँ — पुल उद्घाटन गर्न गृहनगर दमौली आएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको छ । व्यास नगरपालिका–१, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका उनलाई प्रहरीले दिउँसो पौने ३ बजेतिर पक्राउ गरेको थियो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा 

सत्तारूढ नेकपानिकट राष्ट्रिय युवा संघ पुल उद्घाटन कार्यक्रमलाई अवरोध गर्न सदरमुकाम दमौलीमा प्रदर्शनमा उत्रिएपछि त्यसलाई मत्थर पार्न भन्दै स्थानीय प्रशासनले दिउँसो १२ देखि साँझ ६ बजेसम्म कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गरेको थियो । पौडेलबाट उद्घाटन गराउने कार्यक्रम भने बुधबार दिउँसो १ बजेलाई तय गरिएको थियो । अकस्मात् जारी निषेधाज्ञा तोड्दै पौडेल पुल उद्घाटन गर्न हिँडेपछि तालघरेबाट उनलाई पक्राउ गरिएको थियो । नारा–जुलुससहित पुलनजिकै पुगेका कांग्रेस कार्यकर्तालाई प्रहरीले रोकेपछि झडप पनि भएको थियो । त्यस क्रममा नेता पौडेल, कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेसहित एक दर्जन नेता–कार्यकर्ता पक्राउ परेका हुन् ।

पौडेलसहित सबैलाई साँझ साढे ५ बजे प्रहरीले छाडेको थियो । नेताहरू हिरासतमा रहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर तत्काल रिहा गर्न आग्रह गरेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

तनहुँ कांग्रेसका कार्यवाहक सभापति आलेले सर्वदलीय सहभागिता रहेको निर्माण उपभोक्ता समितिले सर्वसम्मत रूपमा पौडेलबाट पुल उद्घाटन गराउने निर्णय गरेको बताए । त्यसमा नगरपालिका र सम्बन्धित वडाको साथ–सहयोग रहेको उनको भनाइ छ । तर मंगलबारदेखि नै प्रशासनले सत्तासीन पार्टीको इसारामा उपभोक्ता समिति र वडाध्यक्षलाई उद्घाटन स्थगन गर्न भनेको र उद्घाटन नरोकिने भनेपछि युवा संघलाई प्रशासनले नै प्रतिरोध गर्न लगाएको आरोप उनले लगाए । ‘युवा संघका केहीलाई पक्राउ गरेको नाटक गरी निषेधाज्ञा लगाइयो,’ उनले भने, ‘यस्तो घटनाबाट सरकार देशलाई प्रतिगमनमा धकेल्ने योजनामा छ भन्ने छर्लङ्ग भएको छ । पुल उद्घाटनले न शान्तिसुरक्षामा असर पुर्‍याउँथ्यो न कुनै हानि–नोक्सानी हुन्थ्यो ।’ उनले प्रशासनको ‘रवैया’ विरुद्ध आन्दोलन गर्ने बताए ।

प्रहरीसँगको झडपमा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, कांग्रेस महासमिति सदस्य रामचन्द्र अधिकारी र जिल्ला सचिव लक्ष्मी आचार्य घाइते भएको र उनीहरूको रत्नहरि अस्पतालमा उपचार भइरहेको आलेले बताए । उनका अनुसार जिल्ला समन्वय समिति उपप्रमुख पवित्रा पौडेल, ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, ट्रेड युनियन कांग्रेसका अध्यक्ष सूर्य हड्खले र उद्धव पौडेल पनि घाइते भएका छन् । प्रहरीसँगको धकेलाधकेलमा नेता पौडेल र आले पनि परेका थिए ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पूर्वाधार विकास कार्यालयबाट मंगलबार मात्रै पुल उद्घाटन कार्यक्रम रोक्नुपर्‍यो भन्दै पत्राचार भएको बताए । ‘त्यही पत्रका आधारमा उपभोक्ता समितिलाई कार्यक्रम रोक्न भनेका थियौं । नेता पौडेललाई मौखिक रूपमा अनुरोध गरेका थियौं,’ उनले भने । पुल उद्घाटन गर्ने र रोक्न खोज्ने पक्षबीचको सम्भावित झडपलाई रोक्न निषेधाज्ञाको विकल्प नरहेको उनले बताए । ‘निषेधाज्ञालाई तोड्छु भन्दै नेता पौडेल जानुभयो । त्यही क्रममा प्रहरीले उहाँलाई स–सम्मान गाडीमा राखेर जिल्ला प्रहरी पुर्‍याएको हो ।’ जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेलले प्रशासनले निषेध गरेको क्षेत्रमा प्रवेश गर्न खोजेकाले नियन्त्रणमा लिइएको बताए ।

युवा संघका जिल्ला अध्यक्ष ईश्वर बस्यालले भने व्यास नगरपालिकाले एकलौटी हिसाबमा कार्यक्रम गरेकाले आफूहरू विरोधमा उत्रिएको बताए । संघले उद्घाटन कार्यक्रम रोक्नुपर्ने भन्दै मोटरसाइकल र्‍यालीसहित दमौलीमा प्रदर्शन गरेको थियो । जिल्ला प्रशासन कार्यालय पुगेका बस्याल, नेकपा व्यास–१ का अध्यक्ष ज्ञानेन्द्र बसौलासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि छाडिदिएको थियो ।

तत्कालीन जिविसको एसएनआरटीपी परियोजनाअन्तर्गत २०७३ वैशाखमा निर्माण सुरु भएर २०७५ कात्तिकमा पुल निर्माण सकिएको थियो । पक्की बाटोलगायत संरचना बनिनसकेकाले उद्घाटन भएको थिएन । पुल दुई करोड ५४ लाख रुपैयाँ लागतमा बनेको थियो । पौडेलले मंगलबार मास्दी घाटमा व्यास–१४ र ऋषिङ–३ जोड्ने सोंढेस्थित सेती पुलको पनि उद्घाटन गरेका थिए । यहाँको पुल उद्घाटन गर्ने चाहना भने पौडेललाई हराएर प्रतिनिधिसभामा चुनिएका नेकपाका कृष्णकुमार श्रेष्ठको थियो । तर पौडेलबाट उद्घाटन गराइएपछि नेकपाका नेता–कार्यकता रुष्ट बनेका थिए ।

प्रहरीको नियन्त्रणबाट मुक्त भएपछि नेता पौडेलले आफूलाई सामान्य गतिविधिमा सरिक हुनबाट पनि रोकेर सरकारले नागरिकको अधिकारमाथि नाङ्गो हस्तक्षेप गरेको प्रतिक्रिया दिएका छन् । आफूलाई सुनियोजित ढंगले नै पक्राउ गरिएको जनाउँदै उनले देशैभरि प्रतिकार गर्ने पनि बताए । नेता पौडेलले सरकारका गलत क्रियाकलापविरुद्ध संघर्ष गर्ने बताए । ‘यो जनविरोधी सरकार हो । हामीले राणा शासनसँग लड्यौं, पञ्चायतसँग पनि लड्यौं, कम्युनिस्ट तानाशाहीसँग पनि लड्छौं,’ उनले भने, ‘हामी कुनै पनि गुन्डा र तस्करहरूको आदेश मान्दैनौं, लक्ष्य पूरा नहुन्जेल पछाडि हट्ने छैनौं ।’

अधिनायकवादी जगमा गिरफ्तारी : देउवा

कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरी प्रशासनले दुर्व्यवहार गर्दै गिरफ्तारी गरेकामा आपत्ति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्तिमार्फत सरकारले अधिनायकवादी शैली प्रकट गरेको जनाउँदै त्यसविरुद्ध एकढिक्का भएर प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

‘स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रूपमा निर्णय गरेर निमन्त्रणा गरेपश्चात् उद्घाटन गर्न जाँदै गर्दा पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । देउवाले सरकारको अधिनायकवादी आकांक्षाको जगमा यस्तो घटना भएको बताएका छन् ।

मानवअधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमिति र पार्टीका विभिन्न भ्रातृसंस्थाले पनि पौडेलको गिरफ्तारीलाई लिएर विरोध जनाएका छन् । नेविसंघले बुधबार साँझ नै माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको थियो ।

यो पनि पढ्नुहोस्ः

पुल उद्घाटनका विषयमा विवाद चर्किएपछि निषेधाज्ञा

प्रकाशित : मंसिर १७, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?