पुल उद्घाटनका विषयमा विवाद चर्किएपछि निषेधाज्ञा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल उद्घाटनका विषयमा विवाद चर्किएपछि निषेधाज्ञा

सम्झना रसाइली

तनहुँ — व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको हो । 

‘नेपाली कांग्रेसले जसरी पनि पुल उद्घाटन गर्ने र युवा संघले जसरी पनि रोक्ने भनी विवाद सृजना भएको छ,’ प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने, ‘पूर्वाधार कार्यालयले पनि तत्कालका लागि पुल उद्घाटन कार्यक्रम रोकिदिन अनुरोध गरेपछि सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो ।’

एक पक्ष पुल उद्घाटनका पक्षमा रहेको र अर्को पक्ष विरोधमा उत्रँदा हुन सक्ने झडपको स्थितिलाई विश्लेषण गरी निषेधाज्ञा लगाइएको प्रशासनको सूचनामा उल्लेख छ । व्यास–१ र १० को पृथ्वी राजमार्गमा चल्ने सवारीसाधनबाहेक गल्बुबेसी, बुल्दीखोला पुल, रानीगाउँ, घाँसीकुवा, मुसेखोला अंम्रेनीलगायत ४ किल्ला क्षेत्रभित्र ५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा जम्मा हुन रोक लगाइएको छ । व्यास नगरपालिकाले बुधबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबाट पुल उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो ।

नगरपालिकाले बलमिचाइँ गर्दै आफ्नो क्षेत्रभन्दा बाहिर गएर कार्यक्रम गरेकाले विरोधमा उत्रनुपरेको संघका अध्यक्ष ईश्वर बस्यालले बताए । उनले भने, ‘जसको जोत उसैको पोत हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

कार्यक्रम रोक्न माग गर्दै संघले दमौलीमा मोटरसाइकल र्‍यालीसहित जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संघ अध्यक्ष बस्याल, नेकपा व्यास नगरपालिका–१ का अध्यक्ष ज्ञानेन्द्र बसौलालगायत छन् ।

प्रकाशित : मंसिर १७, २०७७ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्

‘जाता वार्ता’ र ‘कोरोना कैरन’ बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — साहित्यकारद्वय खगेन्द्र संग्रौला र आहुतिका बेग्लाबेग्लै दुई पुस्तक प्रकाशित भएका छन् । संग्रौलाको ‘कोरोना कैरन’ र आहुतिको ‘जात वार्ता’ दुई गैरआख्यान पुस्तकबाट नयाँ प्रकाशन संस्था बेला पब्लिकेसन्सले आफ्नो प्रकाशन यात्रा थालेको छ ।

कोरोना भाइरसका कारण उत्पन्न महामारी र त्यसले सिर्जना गरेको सामाजिक–आर्थिक संकट एवम् त्यसैका वहानामा राजनीतिमा देखिएको भ्रष्टाचार, विकृति र बेथितिलाई विषय बनाएर लेखिएको गैरआख्यान पुस्तक ‘कोरोना कैरन’मा संग्रौलाका २७ वटा नवीन निबन्धहरु सङ्गृहित छन् ।

‘कोरोना कैरन संग्रौलाका अनुभव र अनुभूतिको निजी शृंखला मात्र होइन, सामान्य जनले भन्न खोजेका र भन्न चाहेका कुराहरुको सिलसिलाबद्ध प्रकटीकरण पनि हो,’ बेला पब्लिकेसन्सका सम्पादक विनोदविक्रम केसीले भने, ‘भोकले मर्ने सप्तरीका मलर सदादेखि आफूलाई कोरोना भाइरस सल्केपछि अरुका ज्यान बचाउने पवित्र ध्येयले आफ्नो ज्यान लिने इटालीकी नर्स ड्यानिएला ट्रेज्जीसम्मलाई यो कैरनमालाले समेटेको छ । खासमा यो पुस्तक दुखियाहरुको खबरमाला हो ।’

लामो समयदेखि नेपाली समाजको वर्गचरित्रबारे चिन्तन गर्दै आएका लेखक तथा राजनीतिज्ञ आहुतिको नयाँ पुस्तक ‘जात वार्ता’ दक्षिण एसियामा विद्यमान जात व्यवस्था, त्यसले उत्पादन गरेका समस्या र त्यसको उन्मुलनको परियोजनाका विषयमा केन्द्रित छ । ‘जात वार्ता’ पुस्तक पनि प्रस्तावनासहित २७ अध्यायमा विभाजित छ । पुस्तकले जात व्यवस्थाको उत्पत्ति, विकास, धर्मपरिवर्तन, अन्तरजातीय प्रेम र विवाह, दलित आन्दोलनमा गैरसरकारी संस्थाको भूमिका, अन्तरदलित भेदभावलगायतका सामाजिक जीवनमा बारम्बार उठिरहने प्रश्नको जवाफ खोज्ने काम गरेको छ । लेखक आहुतिले यसलाई ‘निरन्तर संघर्षका निम्ति हाते पुस्तक’ भनेका छन् ।

कोरोना महामारी र जात व्यवस्था आजको नेपाली समाजलाई प्रभाव पारिरहेका सबैभन्दा ज्वलन्त विषय भएकाले यिनै विषयमा आधारित गैरआख्यान पुस्तकबाट आफूहरुले प्रकाशन प्रारम्भ गरेको बेला पब्लिकेसन्सका चिफ प्रोडक्सन अफिसर वन्दना ढकालले बताइन् ।

‘हामीले हाम्रो नियमित प्रकाशन योजना र वार्षिक प्रकाशन क्यालेन्डर अंग्रेजी नयाँ वर्षसँगै सार्वजनिक गर्नेछौं र पाठकबीच नियमित प्रकाशनहरुमार्फत् संवाद सुरु गर्नेछौं’, ढकालले भनिन्, ‘जात वार्ता र कोरोना कैरनलाई बेला पब्लिकेसन्सका परीक्षण प्रकाशनका रुपमा लिइदिन हामी पाठकलाई आग्रह गर्दछौं । यी पुस्तकलाई पाठकले माया गरिदिनुहुनेछ भन्ने विश्वास लिएका छौं ।’

प्रकाशित : मंसिर १७, २०७७ १३:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×