इजरायलसँग श्रम सम्झौता र एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्समा हस्ताक्षर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजरायलसँग श्रम सम्झौता र एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्समा हस्ताक्षर

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाल र इजरायल बीच श्रम सम्झौता र सातवटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ ।

इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच बुधबार इजरायलमा श्रम सम्झौता र कृषि क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।

नेपालको तर्फबाट हस्ताक्षर गर्नको लागि मन्त्रिपरिषद्ले यसअघि नै निर्णय गरेर राजदूत शाक्यलाई अख्तियारी दिइसकेको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेका अनुसार एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्समार्फत नेपालमा इजरायलबाट कृषि क्षेत्रमा सुधार गर्ने र यसले गर्दा नेपालमा उत्पादन र स्वरोजगार बढ्न समेत बढ्ने बताए ।

इजरायलस्थित नेपाली राजदूतावासका द्वितिय सचिव तथा प्रवक्ता अर्जुन घिमिरेका अनुसार दुई मुलुकबीच छलफल गरेर काम अघि बढाइने भन्ने सम्झौता भएको छ । उनले अहिले नेपालको तीन जिल्लाहरु झापा, लम्जुङ र गुल्मीमा यस सम्बन्धमा सर्वेक्षण पनि भइरहेको जानकारी दिए ।

सहसचिव घिमिरेका अनुसार नेपालले बुधबार इजरायलसँग भएको श्रम स्वीकृत उल्लेख गर्दै अब अन्य स–साना श्रम सम्बन्धी कामको लागि पनि बाटो खुला भएको बताए । उदाहरणको लागि अब नेपालीलाई इजरायलमा नर्सिङ क्षेत्रमा काम गर्न जाने बाटो खुलेको छ । यो सहमतिसँगै स्याहारसुसार केन्द्र (केयर सेन्टर) मा नेपाली श्रमिक जाने बाटो खुलेको हो । यसअघि घरमै बस्ने गरी केयर गिभरका रूपमा नेपालीलाई लगिएको थियो । अब अस्पतालको काममा लैजान लागिएको हो । ‘अन्य क्षेत्रमा पनि नेपालीहरु इजरायलमा गएर काम गर्ने बाटो खुलेको छ,’ उनले भने ।

केयर गिभरका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा यसअघि म्यानपावर कम्पनीले नै नेपाली श्रमिक पठाउँदै आएका थिए । श्रमिकसँग ९ लाख रुपैयाँसम्म लिएको भेटिएपछि सन् २००९ बाट म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउन रोक लगाइएको थियो ।

दूतावासका प्रवक्ता घिमिरेले इजरायलको सम्पूर्ण बजारमा काम गर्न जानको लागि नेपालीहरुलाई बाटो खुलेको बताए । उनले अब सेक्टर अनुसार काम गर्न जाने विषयमा दुई मुलुकबीच अक्टोबरमा कार्यान्वयन प्रोटोकलमा नेपालमा सम्झौता हुनेछ । ‘जुन–जुन सेक्टरमा सम्झौता हुने हो । त्यहि सेक्टरको कार्यान्वयन प्रोटोकलमा सम्झौता हुन्छ,’उनले भने,‘उदाहरणको लागि होटल, पूर्वाधार वा अन्य कुन सेन्टरमा काम गर्ने हो, त्यहि सेक्टरमा हताक्षर हुनु पर्छ ।’

सरकारी प्रक्रियामार्फत सन् २०१५ को अगस्टदेखि पाइलट प्रोजेक्टका रूपमा केयर गिभर लैजान थालिएको थियो । संसदीय समितिले श्रम सम्झौता नभएसम्म घरेलु श्रमिक नपठाउने निर्णय गरेपछि २०७३ चैत २२ देखि केयर गिभरसमेत पठाउन बन्द गरिएको थियो । त्यसपछि पाइलट प्रोजेक्ट सफल हुन सकेन । हाल इजरायलमा तीन हजार नेपाली केयर गिभरका रूपमा कार्यरत छन् ।

प्रकाशित : आश्विन १४, २०७७ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्

'गोल्ड मेडलिस्ट' अध्यापकलाई १४ महिना कैद

कान्तिपुर संवाददाता

काठमाडौँ — घूस खुवाएर गोल्ड मेडल लिएको आरोपमा भक्तपुर बहुमुखी क्याम्पसका अध्यापक सुरेन्द्रप्रसाद कोइरालालाई विशेष अदालतले १४ महिना कैद र ४ लाख ५७ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । 

विशेष अदालतले कोइरालासहित अरु २ जनालाई प्रश्नपत्रको गोपनियता भंग गरेको र घूस खुवाएको फरक अभियोगमा सजाय सुनाएको हो । अध्यक्ष शिवराज अधिकारी र सदस्यहरु बालेन्द्र रुपाखेती अनि रवि शर्मा अर्यालको इजलासले कोइरालामाथि प्रश्नपत्रको गोपनियता भंग गरेको आरोपमा ६ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना गरेको हो । घूस रिसवत बुझाएको आरोपमा ८ महिना कैद अनि ४ लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।

त्यसैगरी घूस खुवाएर अंक बढाएको आरोपित केदार भट्टराईमाथि ११ महिना कैद र ३ लाख ५ हजार जरिवानाको फैसला भएको छ । भट्टराईमाथि प्रश्नपत्रको गोपनियता भंग गरेको आरोपमा ४ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना अनि घूस दिएको आरोपमा ७ महिना कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला भएको हो ।

यी दुवैसँग घूस लिएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको एम ए गोप्य शाखामा कार्यरत रामबहादुर कर्माचार्यमाथि ११ महिना कैद र एक लाख ५५ हजार रुपैयाँ जरिवानाको फैसला भएको हो । उनीमाथि पनि प्रश्नपत्र गोपनियतामा ४ महिना र घूसको आरोपमा ७ महिना कैद सजाय भएको हो । प्रश्नपत्र गोपनियतामा ५ हजार जरिवाना भयो भने डेढ लाख रुपैयाँ उनले घूस नै बुझाएको पुष्टि भएको हो ।

आरोप के थियो ?

शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइरालामाथि त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयभित्र सेटिङ गरेर अंक बढाएको र त्यसका आधारमा प्रथम श्रेणी पाउनुका साथै सर्वप्रथम भएर गोल्डमेडलसमेत जितेको आरोप थियो । कोइरालाले त्रिविको पनिका मानविकी संकायमा एमएको गोप्य शाखामा काम गर्ने शाखा अधिकृत रामबहादुर कर्माचार्यसँग मिलेमतो गरी १ लाख ५० हजार रुपैयाँ घूस दिएका थिए । कोइरालाले यसअघि नै ४ वटा विषयमा स्नातकोत्तर तह पास गरेका थिए ।

एमए इकोनोमिक्समा उनले सबै परीक्षार्थीको भन्दा बढी प्राप्तांक ल्याई सन् २०१९ को दीक्षान्त समारोहमा गोल्ड मेडल पनि लिए । उनले एमएको ग्रामीण विकास विषयमा पनि प्रथम श्रेणी हासिल गरेका थिए । एमए समाजशास्त्रको परीक्षामा अनुपस्थित भइकन पनि उत्तीर्ण भएका थिए । १५ वटा पेपरमा ३ देखि ५० नम्बरसम्म कुल २२४ अंक थप गर्न घूस लिएको अख्तियारको आरोप थियो ।

अख्तियारले उनको साथमा केदार भट्टराईले पनि घूस दिएर अंक बढाएको आरोप लगायो । केदार भट्टराई बानेश्वर बहुमुखी म्याक्पसमा कामु प्रशासनिक अधिकृत छैठौं तहमा कार्यरत थिए । भट्टराईले ५ पेपरमा १०/१० अंकका दरले ५० अंक बढाउन ३ लाख घूस दिएका थिए । कुल घूस रकम ४ लाख ५० हजार थियो ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट विद्यार्थीको लब्धांक नम्बर परिवर्तन गरी फर्जी प्रमाणपत्र जारी हुने गरेको त्यो नौलो घटना थियो । अख्तियारको टोलीले त्यतिबेला उनीहरुलाई पक्राउ नै गरेर अनुसन्धान गरेको थियो ।


प्रकाशित : आश्विन १४, २०७७ १९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×