१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

घर खर्च नचलेपछि ‘लाहुर’

वीरेन्द्र केसी

अर्घाखाँची — कोभिड–१९ का कारण भारतमा रोजगारी गुमेपछि गुल्मीको मदाने गाउँपालिका–३ का पुनाराम विक वैशाखमा घर आएका थिए । मंगलबार गाउँका दुई युवासगै उनी रोजगारी खोज्दै फेरि भारत फर्किएका छन् । ‘परिवार पाल्ने खर्च जुटाउन भारत नगई उपाय भएन,’ विकले भने, ‘पहिला काम गर्ने कम्पनीले अहिलेसम्म बोलाएन, अब दिल्ली पुगेर नयाँ काम खोज्ने हो ।’

चार महिना बेरोजगार भएर बस्दा घरमा चुलो बाल्न मुस्किन हुन लागेकाले फेरि दिल्लीमै काम खोज्न हिँडेको उनले बताए । दिल्ली पुगेर केही काम खोज्ने र चामल किन्न अर्को महिना घरमा पैसा पठाइदिने उनले बताए । एक महिनापछि दसैं आउँदै छ । ‘खाने खर्च नै नभएपछि दसैं खल्लो हुन्छ, त्यसैले पैसा कमाउन हिँडे,’ उनले भने, ‘दसैं मनाउन ५ हजार ऋण खोजेर श्रीमतीलाई दिएको छु । मैले दिल्लीमै ठूलाबुबाको हातबाट टीका लगाउँछु ।’

उनीसँगै हिँडेका ३६ वर्षीय भीम नेपालीले गाउँमै तरकारी खेती गर्थे । तर, कोरोनाका कारण बजार बन्द भएपछि किनिदिने मान्छे कोही भएन । दुई क्विन्टल बन्दासहित गोलभेंडा र करेला बिक्री नभएपछि भैंसीलाई ख्वाएको उनले बताए । ‘बिक्री हुन्थ्यो भने तरकारीबाट कम्तीमा ५० हजार कमाइ हुन्थ्यो,’ उनले भने । गाउँमा डकर्मीको काम पनि गर्ने उनले घर निर्माण ठप्प भएपछि भारत जाने निर्णय गरेका हुन् ।

सोही गाउँकै अर्का युवा विक्रम नेपाली चैतमा भारतको करनालबाट घर आएका थिए । ६ महिनसम्म घरमा बस्दा कमाएजतिको सबै सकियो । ‘यस वर्ष घरमै बसेर दसैं मनाउने रहर थियो तर बेरोजगार भएर कसरी बस्नू,’ उनले भने, ‘गाडी चलेपछि म हिँडेँ । नोकरीमा हाजिर भएपछि महिनाको नेपाली २६ हजार कमाइ हुन्छ ।’ त्यही कमाइले करनालमा आफू, घरमा बुबाआमा, श्रीमती र तीन छोराछोरी पालिन्छन् । ‘१३ वर्षदेखि गर्दै आएको जागिर छुट्ने चिन्ताले दसैं नमनाई हिँडेँ, अर्को सालको दसैं परिवारसित मनाउनुपर्ला,’ उनले भने ।

अर्घाखाँची सिद्धाराका धनबहादुर विक २ लाख ऋण तिर्न जेठो छोरा लिएर सोमबार भारततर्फ लागे । कोरोना भन्दै घरमा बस्दा खानेखर्च सकियो । ऋणको ब्याज खप्टिदै गयो । ‘कोरोनासँग डराएर के गर्नु ? यहाँ रोगभन्दा भोककै चिन्ता छ,’ उनले भने, ‘पैसा नभएपछि दोकानदारले चामल दिँदैनन् अनि के खाएर बाँच्ने ?’ दिल्लीमा सानाबुबाले जागिर खोजिदिने आशाले बाबुछोरा परदेश लागेको उनले बताए । उनका छोरा नवीन एसईई उत्तीर्ण गरी घरमा बसेका थिए । पढ्ने इच्छा भए पनि घरको आर्थिक अवस्था कमजोर र ऋण भएका कारण कमाउन भारत हिँडेको उनले बताए । ‘आमालाई छाती दुख्ने समस्या छ, औषधिकै भरमा बाँच्नुभएको छ,’ उनले भने, ‘टाउकोमा ऋणको भारी छ, त्यो तिरेर भ्याएपछि बुबालाई घरमा आमाको रेखदेख गर्न पठाउँछु ।’

प्रकाशित : आश्विन ७, २०७७ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?