२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कार्यस्थलबाटै संक्रमण हुन सक्ने चिन्ता

काठमाडौँ — वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले कार्यस्थलबाटै कोभिड–१९ संक्रमण हुन सक्ने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाली पोलिसी इन्स्टिच्युटले माइग्रेसन ल्याबसँगको सहकार्यमा खाडीका ८ देश, मलेसिया र भारतमा कार्यरत ६ सय २५ कामदारमाझ गरेको सर्वेक्षणमा ५८ प्रतिशतले यस्तो चिन्ता जनाएका हुन् । सर्वेक्षणमा सहभागी १७ प्रतिशतले भने व्यक्तिगत जीवनशैलीका कारण संक्रमण हुन सक्ने बताएका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कार्यस्थलबाटै संक्रमण हुन सक्ने चिन्ता

कोभिड–१९ संक्रमणका कारण स्वदेश फर्किने योजना बनाइरहेकामध्ये धेरैजसो (८० प्रतिशत) कामदारले नेपाल फर्केपछि कृषि वा गैरकृषि क्षेत्रमा स्वरोजगार बन्ने योजना बनाएको पाइएको छ । बाँकीले कृषि वा गैरकृषि क्षेत्रमा ज्यालादारी गर्ने योजना बनाएको बताएका हुन् । मुख्य श्रम गन्तव्यमा रहेका नेपाली कामदारले समूहगत कुराकानीमा नेपालमा ज्यालादारी काममा आम्दानी कम हुने र खर्च धेरै हुनेसमेत बताएका छन् ।

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम र बजेट छुट्याएको भए पनि प्रवासमा रहेकामध्ये ७० प्रतिशत कामदारलाई यसबारे जानकारी नै नरहेको पाइएको हो । सर्वेक्षणमा सहभागी २ प्रतिशतले मात्रै त्यस्ता योजनाको बारेमा थाहा भएको सुनाएका थिए । सर्वेक्षणमा सहभागीमध्ये ८० प्रतिशतले स्वदेश फर्केर केही उद्यम गर्न आफूहरूसँग पुँजीको अभाव रहेको बताएका छन् । यस्तो बताउनेले प्रवासको कमाइ घर खर्चमै सकिने गरेको पनि खुलाएका थिए ।

कोरोना संकटका कारण धेरै संख्यामा प्रवासी कामदारहरूले स्वदेश फर्किने सोच बनाए पनि उनीहरू नेपालमा रोजगारीको प्रत्याभूति नहुने र कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले द्विविधामा रहेको देखिएको छ । धेरैजसो कामदारले महँगो हवाई भाडा, गुणस्तरहीन क्वारेन्टाइन र त्यहाँ बस्दाको खर्च, नेपालमा जारी लकडाउनको सामना गर्नुपर्ने भएकाले पनि स्वदेश फर्किन नचाहेको बताएका थिए ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले भिसाको म्याद सकिएका र आममाफीका कारण तत्काल फर्किन सक्ने १ लाख २७ हजार र रोजगारी गुमाएर फर्किन सक्ने २ लाख ८० हजार गरी कुल ४ लाख ७ हजार कामदारलाई फर्काउनुपर्ने आकलन संसद्को श्रम सम्बन्ध तथा अन्तर्राष्ट्रिय समिति बैठकमा पेस गरेको थियो । खाडीस्थित नेपाली दूतावासहरूमा मात्रै झन्डै एक लाख नेपाली श्रमिकले स्वदेश फर्किनका लागि नाम टिपाएका छन् ।

प्रकाशित : श्रावण १, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?