२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मणिपुरबाट २१ महिलाको उद्धार : दोस्रो पटक खाडी जान खोज्‍ने धेरै

पर्वत पाेर्तेल

काँकडभिट्टा — काभ्रेकी ३० वर्षीया महिला २ वर्ष साउदी अरब बसेर फर्किएकी थिइन् । उनी यसपटक दुबई जाने तरखरमा थिइन् ।कैलालीकी महिलाले पनि २ वर्ष ओमानमा बिताइन् । उनको दोस्रो पटकको गन्तव्य पनि ओमान नै थियो । पर्वत जिल्लाकी महिला भने १० वर्ष ओमानमा बिताएर बिदामा घर आएकी थिइन् । पुन: फर्किने क्रममा उनी भारतको मणिपुरका सुरक्षाकर्मीको फन्दामा परिन् ।

मणिपुरबाट २१ महिलाको उद्धार : दोस्रो पटक खाडी जान खोज्‍ने धेरै

मानव तस्करको फन्दामा परेर खाडी मुलुक जाने क्रममा ९ महिनाअघि पक्राउ परी मणिपुरमा अलपत्र २१ महिलाहरुलाई मंगलबार बिहान स्वदेश फिर्ता गरिएको छ । २१ मध्ये १७ महिला दोस्रो या तेस्रो पटक विदेश जान लागेका हुन् । ४ जना महिला मात्रै पहिलो पटक जान लागेका थिए । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव गोमा ढकालले कतिपय महिला त कुवेत, कतार, साउदी बसेर ओमान जान लागेका पनि भेटिएको बताए । उनले भनिन्,‘दुई–तीन पटक विदेश बसिसकेकाहरु नै बढी छन् ।’

पक्राउ परेकामध्ये ५ जना महिला मणिपुरमै छन् । उनीहरुलाई मणिपुर सरकारले मुद्दा दायर गरेका कारण तत्काल उद्धार गर्न नसकिएको दिल्लीस्थित नेपाली दूतावासका अधिकारी काउन्सिलर प्रकाश अधिकारीले जानकारी दिए । उनले भने,‘उनीहरुलाई तत्काल मणिपुर नछाड्नु भन्ने त्यहाँको अदालतको आदेश छ । त्यही भएर ल्याउन सकिएन ।’

नेपाली महिलाको स्वदेश फिर्तीका लागि गत दुई सातादेखि नयाँदिल्लीस्थित दूतावासको पहल गरेको थियो । जसका लागि काउन्सिलर अधिकारी मणिपुर पुगेका थिए । उनकै नेतृत्वमा मंगलबार बिहान ३ बजे नेपाली महिलालाई पूर्वी नाका काँकडभिट्टावाट प्रवेश गराइएको थियो ।

अधिकारीका अनुसार गत मंसिरतिरै नेपाली महिलाहरु मणिपुरमा पक्राउ गरेको खबर दूतावासले पाएको थियो । मणिपुर सरकारले पक्राउ परेका महिलाहरु ‘नेपाली हुन कि होइनन् भेरिफाइ गरेर पठाउनु’ भनेर पत्राचार गरेको थियो । नेपालको परराष्ट्र मन्त्रालयमार्फत ‘नेपाली नागरिक हुन्’ भनि प्रमाणित गरेर फिर्ता पठाउन मणिपुर सरकारलाई आग्रह गरिएको थियो ।

मणिपुर सरकारले महिलाहरुलाई आफै फिर्ता गराउने प्रक्रिया गरिरहेका बेला भारतभर लकडाउन सुरु भएपछि बीचैमा रोकिएको थियो । जसका कारण महिलाहरु अलपत्र परेका थिए । यद्यपि उनीहरुलाई त्यहाकँो सरकारले उज्याला होम अन्र्तगतका विभिन्न पुन:स्थापना गृहमा सेल्टर दिएर राखिएको थियो । उद्धार गरेर ल्याइएकी एक महिलाले पुन:स्थापन गृह रहँदा मानसिक यातना सहनु परेको सुनाइन् । ती महिलाले भनिन्, ‘समयमा खान पनि दिँदैनथ्यो, गालीगलौज त कति हो कति ।’

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव ढकालले दूतावासको लामो प्रयत्न र मणिपुर सरकारसँगको सहकार्यमा फर्काइएका महिलाहरुमध्ये काठमाडौं आसपासका जिल्लाका १२ जना महिलाहरुलाई बुधबार काठमाडांै लगिने र झापा आसपासका बाँकी ९ जनालाई माइती नेपाल झापाकै पुर्न:स्थापना गृहमा राखिने जनाइन् । उनले भनिन्, ‘केही दिनभित्र महिलाका परिवारलाई सम्पर्क गरेर जिम्मा लगाइने छ ।’ परिवार नभएका एकल महिला र विपन्न महिलालाई पुन:स्थापना गृहमै राखेर सीपमूलक तालिम दिने र आत्मनिर्भर बनाउन सहयोग गरिने उनले बताइन् ।

झापाकी एक महिलाले आफू पहिलो पटक विदेश जान लागेको तर, सफल नभएको बताइन् । श्रीमानले समेत छाडेको र मजदुरी परेर जीविका चलाउन गाह्रो भएका कारण बाध्य भएर विदेश जान लागेको सुनाइन् । ‘विदेश गएर कमाएर छोराछोरी पालांै भन्ने थियो’, उनले सुनाइन्,‘तर, सकिएन ।’ मणिपुरबाट म्यानमार छिर्न लाग्दा सीमाका सुरक्षाकर्मीले उनीसहितका नेपाली महिलालाई गत मंसिरमै पक्राउ गरेको थियो ।

उद्धार गरिएका महिला २१ देखि ४८ वर्ष उमेर समूहका छन् । उद्धार गरिएका महिलाहरुमा कैलालीका ३, झापा, मोरङ, बाँके र पर्वतका २–२ तथा रुपन्देही, लमजुङ, सुर्खेत, दाङ,पर्सा, बारा, काभ्रे, सर्लाही र महोत्तरीका १–१ जना रहेको माइती नेपालका प्रदेश संयोजक गोविन्द घिमिरेले जनाए ।

म्यानमार छिर्न लाग्दा मणिपुरका सुरक्षाकर्मीले विभिन्न मितिमा पक्राउ गरी उनीहरुलाई मणिपुर सरकारको सेल्टर गृहमा राखेको थियो । लामो प्रयत्नपछि उनीहरुलाई स्वदेश फर्काउन सफल भएको दिल्लीस्थित दूतावासका काउन्सिलर अधिकारीले जनाए ।

मानव तस्करहरुले पछिल्लो समय खाडीलगायतका मुलुक पठाउन मणिपुर हुँदै म्यानमारको रुट प्रयोग गर्दै आएका छन् । यसअघि पनि यो क्षेत्रबाट पटक–पटक गरी २ सयभन्दा बढी नेपाली महिला र पुरुष उद्धार गरी स्वदेश फर्काइएको थियो । केहीलाई त्यहाँको सरकारले मानव बेचविखनको मुद्धासमेत दायर गरेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : असार ३१, २०७७ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?