कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बल्ल भयो मणिपुरमा अलपत्र नेपाली महिलाको उद्धार

सुरेशराज न्यौपाने

नयाँ दिल्ली — विगत नौ महिनादेखि भारतको मणिपुरमा अलपत्र परेका नेपाली महिलाहरुमध्ये २१ जनाको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासको पहलमा उनीहरुको उद्धार भएको हो । 

मानव तस्करहरुको प्रलोभनमा परेर म्यानमारको बाटो हुँदै वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान हिँडेका उनीहरु मणिपुरमा अलपत्र परेका थिए । उनीहरुलाई मणिपुर प्रहरीले पक्राउ गरेर त्यहींको सेल्टर होममा पुर्‍याएको थियो । दिल्लीस्थित दूतावासले समयमै पहल नगर्दा उनीहरु मणिपुरकै सेल्टर होममै कष्टकर जीवन बिताउन बाध्य भएका थिए । उनीहरुको उद्धारका लागि दूतावासले बेवास्ता गरेको सम्बन्धमा कान्तिपुरमा समाचार प्रकाशित भएको थियो । त्यसपछि मात्र दूतावासले उनीहरुको उद्धार लागि पहल सुरु गरेको थियो ।

दूतावासले काउन्सिलर तथा प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीलाई नै मणिपुरको इम्फाल पठाएको थियो । करीब दुई साताको प्रशासनिक प्रक्रियापछि बल्ल उनीहरुको उद्धार सम्भव भएको हो । मणिपुरमा अलपत्र परेका मध्ये ५ जनाको उद्धारका लागि भने अझै समय लाग्ने भएको छ । उनीहरुका विरुद्ध स्थानीय प्रहरीले अदालतमा मुद्दा नै दायर गरेको हुँदा अदालती प्रक्रिया पूरा भएपछि मात्र उद्धार हुने बताइएको छ ।

दिल्लीस्थित दूतावासका प्रवक्ता हरि ओडारीका अनुसार उद्धार गरिएका २१ जना महिलाहरुलाई आइतबार नै मणिपुरबाट बसमा काकडभिट्टातर्फ लगिएको छ । ‘सबै प्रक्रिया पूरा गरेर आइतबार उनीहरु काकडभिट्टाका लागि हिँडेका छन्,’ ओडारीले भने । काकडभिट्टा पुर्‍याएर स्थानीय प्रशासन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिको जिम्मा लगाइने प्रवक्ता ओडारीले बताए ।

मानव तस्करहरुले वैदेशिक रोजगारीको प्रलोभन दिएर ओमान, कुवेत, इराकलगायतका खाडी मुलुक पठाइदिने भन्दै भारतको उत्तरपूर्वी राज्य मणिपुर पुर्‍याएका थिए । उनीहरुलाई नेपालबाट बसमा दिल्ली ल्याएर त्यसपछि जहाजमा डिम्बापुर पुर्‍याइ त्यहाँबाट बसमा इम्फाल पुर्‍याइएको थियो । पीडित महिलाहरुका अनुसार इम्फालबाट ११० किमिको दूरीमा रहेको मुरेह नाकाहुँदै म्यानमार छिराउने योजना बुनिएको थियो । मणिपुरमा उनीहरुलाई विभिन्न होटलमा समूह समूह बनाएर राखिएको थियो । म्यानमारको नाकाहुँदै मानवतस्करी हुँदै गरेको सूचनाको आधारमा स्थानीय प्रहरीले ती होटलमा छापा मारेर नेपाली महिलाहरुलाई पक्राउ गरेको थियो । केहीलाई भने नाकामा रहेको अध्यागमन कार्यालयबाटै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । त्यसपछि केहीलाई इम्फालमा र केहीलाई कक्चिङस्थित सेल्टर होममा राखिएको थियो ।

अलपत्र परेका महिलाहरुले उद्धारका लागि दिल्ली दूतावासलाई सम्पर्क गर्न थालेपछि सुरुमा दूतावासले मणिपुरको गृह प्रशासनसँग सम्पर्क पनि गरेको थियो । पत्र आदानप्रदान पनि भयो । मणिपुरका विभिन्न सेल्टर होममा रहेका नेपाली महिलाहरुलाई घर लैजाने प्रक्रिया पनि सुरु भयो । तर, पछि दूतावासले चासो नराख्दा त्यत्तिकै रोकियो । जबकि सेल्टरमा रहेका नेपाली महिलाहरुले उद्धारका लागि दूतावासलाई तारन्तार आग्रह गर्दै आएका थिए । कहिले लकडाउन त कहिले प्रक्रिया पूरा नभएको भन्दै दूतावासले आलटाल गर्दै आएको थियो । कान्तिपुरसँगको कुराकानीमा पनि मणिपुर राज्य सरकारका अधिकारीहरुले दूतावासको बेबास्ताका कारण उद्धारमा ढिलाई भएको बताएका थिए । उनीहरुले नेपाल सरकारका तर्फबाट एकजना आधिकारिक व्यक्तिले नेपाली महिलाहरुको जिम्मा लिने हो भने सीमासम्म जाने प्रबन्ध गरिदिने भनेर दूतावासलाई पत्राचार गर्दा समेत ठोस जवाफ नआएको गुनासो गरेका थिए ।

नेपाल सरकारले भारतहुँदै तेस्रो मुलुक जानका लागि नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य गरेपछि पछिल्लो समय मानव तस्करहरुले नेपालीहरुलाई गैरकानुनी रुपमा विदेश पठाउनका लागि भारतका साना सहरबाट उडाउनेदेखि नक्कली एनओसी बनाउने लगायतका उपायहरु अपनाउँदै आएका छन् । तिनै तस्करहरुले म्यानमारको बाटो हुँदै खाडी मुलुक पुर्‍याउने भनेर नेपालीहरुलाई मणिपुर लैजाने गरेका छन् । करीब डेढ वर्षअघि पनि यसरी नै अवैध तरिकाले वैदेशिक रोजगारीमा हिँडेका १७९ जना नेपालीलाई इम्फाल प्रहरीले दिल्लीस्थित नेपाली दूतावाससँगको समन्वयमा उद्धार गरेर नेपाल फर्काएको थियो ।

प्रकाशित : असार २८, २०७७ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?