नेतृत्वलाई एकताका लागि दबाब दिन हस्ताक्षर संकलन गर्दै नेकपा सांसद, ओली पक्ष सशंकित

जयसिंह महरा

काठमाडौँ — पार्टीको शीर्ष नेतृत्व जनता र कार्यकर्ताको इच्छाविपरीत फूटको दिशामा गएको भन्दै सत्तारुढ नेकपाका सांसदहरूले हस्ताक्षर संकलन अभियान थालेका छन् । सांसदहरूले थालेको अभियानमा शुक्रबार साँझसम्म २८ जनाभन्दा बढी सांसदहरूले हस्ताक्षर गरेको नेकपा सांसद यज्ञराज सुनुवारले बताए ।

नेतृत्वलाई एकताका लागि दबाब दिन हस्ताक्षर संकलन गर्दै नेकपा सांसद, ओली पक्ष सशंकित

'नेपाल कम्युनिष्ट पार्टीको एकतालाई अक्षुण्ण राख्न र तार्किक निष्कर्षमा पुर्‍याउन संघीय संसदका सदस्यहरूको तर्फबाट जारी अपिल' मा संघीय संसद प्रतिनिधिसभाका सांसदहरूले मात्रै हस्ताक्षर गरिरहेका छन् । उक्त अपिलमा शीर्ष नेताहरूबीच जारी शक्ति संघर्षले पार्टी एकता विग्रहमा जाने हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ । अपिलमा लेखिएको छ, 'गत निर्वाचनमा करिब दुई तिहाई मत नेकपालाई दिएर विजयी बनाएका नेपाली जनताका सपना साकार बनाउन लाग्नुपर्ने ऐतिहासिक जिम्मेवारीलाई भुलेर नेकपा शीर्ष नेतृत्व हतमा देखा परेको गम्भीर अन्तरविरोधले एकातिर आम नेपाली जनता, तमाम कार्यकर्ता मर्माहत भएका छन् । अर्कोतिर दुई ठूला कम्युनिस्ट पार्टीहरूको एकता प्रक्रिया पूरा नहुँदै विग्रहतिर जाने सम्भावना बढेर गएको छ ।'

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले दबाब दिँदा उत्पन्न भएको पछिल्लो मतभेदले पार्टी विभाजनतिर जान लागेको हो कि भन्ने बुझाइ अभियान चलाइरहेका सांसदहरूको छ ।

यसरी हस्ताक्षर संकलनमा लागेका सांसहदरूमा अध्यक्षद्वय ओली र दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद छन् । कृष्णप्रसाद दाहाल, सुरेश राई, गणेश पहाडी, रामकुमारी झाँक्री, समिना हुसेन, लक्ष्मी चौधरी, इन्दु शर्मा, झपट रावल, मेटमणी चौधरी, यज्ञराज सुनुवारलगायतका सांसदले उक्त अपिलमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर अभियानमा संलग्न सांसद यज्ञराज सुनुवारले स्थायी कमिटी सदस्य र मन्त्रीलाई सहभागी नगराइएको बताए । 'पार्टी एकताका लागि दबाब अभियान जारी छ । सबै सांसदहरू सहभागी हुनुहुन्छ । बाँकी कुरा आइतबार सार्वजनिक गर्छौं,' सुनुवारले भने ।

अभियानमा हस्ताक्षर गरेकी सांसद रामकुमारी झाँक्रीले पार्टी निर्माण नेता र कार्यकर्ताको योगदान र बलिदानबाट भएको, कसैको सनकबाट नभएको भन्दै सांसदहरूले एकताका लागि दबाब दिने अभियान चलाएको बताइन् । 'पार्टी एकतालाई तलसम्म विधिसम्मत टुंगो लगाउन र एकता कायम गर्न भनेर केन्द्रीय कमिटी र संसदमा रहेकाले अभियान चलाएका छौं,' उनले भनिन्, 'पार्टी एकता नेता र कार्यकर्ताको योगदान र बलिदानले बनेको हो कसैको सनकमा होइन । हामीले यो अभियान कसैलाई सरकारबाट हटाउन, कसैलाई सरकारमा जान, पार्टी फुटाउन चलाएका होइनौं ।' यसमा सहभागी सांसदहरूले पार्टी विधिसम्मत चलाउनुपर्ने र संसदीय दलमा पार्टी विभाजनका पक्षमा जानेलाई समर्थन नगर्ने भन्दै प्रतिबद्धता जनाएका उनीहरूले बताएका छन् ।

ओली पक्ष सशंकित

सांसदहरूले एकताका लागि दबाब दिन भन्दै अभियान चलाएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष भने सशंकीत बनेको छ । हस्ताक्षर अभियान रोक्न र आफ्नो पक्षका सांसदहरूलाई त्यसमा सहभागी नहुनका लागि ओली पक्षले दबाब दिइरहेको सांसदहरूले बताएका छन् ।

अभियानमा ओली पक्षका भनेर चिनिएका कृष्णप्रसाद दाहाल, अध्यक्ष दाहाल पक्षका सुरेश राई र नेता नेपाल पक्षबाट सुनुवारले नेतृत्व गरिरहेको दबाब अभियानमा संलग्न सांसदहरूले बताएका छन् ।दाहाललाई ओली पक्षले अभियान स्थगित गर्न दबाब दिइएको अभियानमा सहभागी एक सांसदले बताए ।

ओली निकट नेताहरूले पार्टीभित्र विवाद बढेका बेला संकलन भइरहेका सांसदका हस्ताक्षर भविष्यमा दुरुपयोग हुने आशंका गरेका छन् । ओली निकट एक सांसदले भने, 'संसदीय राजनीतिको अभ्यासमा सबै कुरा भनेर गरिँदैन । खाली पानामा गरिएका हस्ताक्षर भोलिका दिनमा दुरुपयोग हुनसक्छ भनेर सांसदहरूलाई सचेत गराएका मात्रै हौं ।' प्रधानमन्त्री ओलीको पक्षमा सडक र सामाजिक संजालमा भइरहेका गतिविधि रोक्नुपर्ने र त्यसरी नेता विशेषका पक्षमा हुने गतिविधिमा संलग्न नहुने भन्ने आशयको प्रतिबद्धता यो अभियानमा सहभागी सांसदले चलाएका कारण पनि ओली पक्षले शंकाको नजरले हेरेको हुनसक्ने उनले बताए ।

यसअघि यो अभियानमा संलग्न सांसदहरू महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निवास पुल्चोकमा भेला भएका थिए । उक्त भेलामा राष्ट्रिय सभामा सत्तारुढ दलका सचेतक रहेका खिमलाल भट्टराई पनि सहभागी थिए ।

मन्त्री गुरुङले आफ्नै निवासमा भएको भद्र सहमति विपरीत खुलेर ओलीको पक्ष लिएको र भट्टराईले पनि त्यस्तै गरेको भन्दै उनीहरूलाई यो अभियानमा संलग्न गराइएको छैन । त्यसैले पनि हस्ताक्षर संकलन अभियानमा ओली पक्षले आशंका व्यक्त गरेको हुनसक्ने त्यसमा सहभागी सांसदको भनाइ थियो ।

पार्टी नेतृत्वलाई दबाब दिनका लागि नेकपाका ११ स्थायी कमिटी सदस्य कृषि मन्त्री घनश्याम भुसालको संयोजकत्वमा एकजुट भएका छन् । त्यस्तै, ठाकुर गैरेलगायतका केन्द्रीय सदस्यहरूले पार्टी एकताका लागि दबाब दिन भन्दै हस्ताक्षर संकलन गरिरहेका छन् । उनीहरूले केन्द्रीय कमिटी बैठकको पनि माग गरेका छन् ।

प्रकाशित : असार २६, २०७७ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?