नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — शनिबार बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । एक नेताका अनुसार अर्को बैठक असार २२ गते बस्ने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो ।

बिहीबार केहीबेर बसेर स्थगित भएको बैठक पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरुले प्रयास गर्ने भन्दै एक दिनको समय राखेर बैठक स्थगित गरिएको भएको थियो ।

तर, शनिबारसम्म पनि संकट समाधानको सूत्र फेला नपरेपछि बैठक फेरि दुई दिनपछि सरेको हो ।

शुक्रबार बिहान बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्याएपछि विवाद झनै बढेको छ । दाहाल–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् ।

सम्बन्धित समाचार :

प्रकाशित : असार २०, २०७७ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्

ओलीले दाहालसँग भने : तपाईंहरुले मलाई निकाल्नुस्, म अर्को पार्टी घोषणा गर्छु

कान्तिपुर संवाददाता

काठमाडौँ — केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पार्टी फुटिसकेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँगको भेटमा यस्तो बताएका हुन् । 

फाइल तस्बिर

‘पार्टी त फुटिसक्यो सही कुरा हो । भोलि तपाईंहरुले मलाई निकाल्नुस्, त्यसपछि म घोषणा गर्छु,’ ओलीले दाहालसँग भनेको भनाइ उद्धृत गर्दै एक नेताले भने । ओली र दाहालसँगै छलफलमा केहिबेर महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी थिए ।

दाहालले शुक्रबार साँझ सचिवालयका ६ सदस्यहरुसँग ओलीसँग भएको कुराकानी वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई सुनाएका थिए ।

ओलीले भेटमा आफूले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा नदिने अडान पनि लिएका छन् ।

‘प्रधानमन्त्री र अध्यक्षको कुरा गर्न आउनु भएको हो भने कुरै नगर्नु । त्यो सम्भावना छैन,’ ओलीले दाहाललाई भनेका थिए ।

प्रधानमन्त्री ओलीले दाहाललाई अर्को प्रस्ताव पनि गरेका छन् । ‘पार्टी एकता नै गर्ने हो भने एउटा कुरा अझै बाँकी छ । तपाईंले फैसला गर्नुपर्यो, मेरो टिममा बसेर काम गर्ने कि माधव नेपालको टिममा बसेर काम गर्ने ?’ ओलीले दाहाललाई भनेका थिए ।

जवाफमा दाहालले यो असम्भव भएको र यस्ता अनावश्यक कुरा नर्गन सुझाएका थिए । उनले ओलीलाई सहमतिमा आउन पनि भनेका थिए ।

शनिबार स्थायी कमिटी बैठक बस्नुअघि प्रधानमन्त्री ओलीसँग दाहालले छलफल गर्ने तय भए पनि बैठक नै स्थगित भएको छ । त्यो छलफलपछि मात्रै कसरी अगाडि बढ्ने भन्नेबारे बैठकबाट निर्णय गर्ने तयारी दाहाल नेपाल समूहको छ ।

यस्तै ओली समूहले उपाध्यक्ष गौतमलाई फकाउने प्रयास पनि जारी राखेको छ । शुक्रबार साँझ महासचिव पौडेल, शंकर पोखेरललगायतका नेताहरुले गौतमलाई भेटेका थिए ।

प्रकाशित : असार २०, २०७७ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×