१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ओलीको अभिव्यक्तिप्रति दिल्लीमा चासो

‘यसले दिल्ली र काठमाडौंबीचको दूरी बढाउँदै सीमासम्बन्धी वार्ताको सम्भावनालाई थप पर धकेलेको छ’
सुरेशराज न्यौपाने

नयाँदिल्ली — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भनी दिएको अभिव्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ ।

ओलीको अभिव्यक्तिप्रति दिल्लीमा चासो

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा आफूलाई सरकारबाट हटाउन षड्यन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए । ‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्यसंयन्त्र अचम्मसँग सक्रिय छ,’ उनले भनेका थिए । उनले काठमाडौंस्थित भारतीय दूतावासको सक्रियता र होटलहरूमा भइरहेका गतिविधिका साथै दिल्लीका सञ्चारमाध्यमका सामग्रीबाट त्यो प्रस्ट भइरहेको दाबी गरेका थिए ।

ओलीको भनाइलाई दिल्लीका प्रमुख अखबारहरूले सोमबारको संस्करणमा विशेष प्राथमिकताका प्रकाशन गरेका थिए । ओलीको अभिव्यक्तिलाई प्राय: सबैजसो मिडियाले सरकार सञ्चालनमा देखिएको कमजोरी र पार्टीभित्रको चर्किँदै गएको द्वन्द्व व्यवस्थापनमा सफल नभएपछि त्यसबाट उम्कने बहानाका रूपमा अथ्र्याएका छन् । त्यसैगरी दिल्लीस्थित नेपाल मामिलाका जानकार तथा कूटनीतिज्ञहरूले पनि ओलीको पछिल्लो अभिव्यक्ति सरकार तथा पार्टीभित्र आफू कमजोर बन्दै गएपछि त्यसलाई ढाकछोप गर्ने असफल प्रयासका रूपमा लिएका छन् । यसले दिल्ली र काठमाडौंबीचको दूरी बढाउँदै सीमासम्बन्धी वार्ताको सम्भावनालाई थप पर धकेलेको समेत उनीहरूको भनाइ छ ।

नेपालले सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई समेत समेट्दै नयाँ राजनीतिक नक्सा प्रकाशन गर्दै संविधानसमेत संशोधन गरेयता दिल्ली र काठमाडौंबीच संवादहीनता छ । नेपालले सीमा विवाद सुल्झाउन भारतले वार्ताका लागि चासो नदेखाएको बताउँदै आएको छ भने भारतले नक्सा प्रकाशनलगायत नेपालको कामप्रति असन्तुष्टि जनाएको छ । यसले दुवै देशबीचको उच्च राजनीतिक र कूटनीतिज्ञ तहमा विश्वासको संकट चुलिन पुगेको छ । यसै पृष्ठभूमिमा प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले दुवै पक्षबीच अविश्वास थप बढाउने अनुमान छ ।

ओलीको उक्त अभिव्यक्तिलाई भारतका धेरैजसो प्रमुख अखबारले सोमबार पहिलो पृष्ठमै स्थान दिएका थिए । प्राय: सबै मिडियाले ओलीले नयाँ नक्साको विषयमा जसरी सबैतिरबाट समर्थन पाएका थिए, त्यसअनुसार पार्टीभित्र भने उनको लोकप्रियता नरहेको दाबी गरेका छन् । नेपाल मामिलाका जानकारहरूलाई उद्धृत गर्दै ओलीको भनाइले सरकारभित्रको आन्तरिक कमजोरीका साथै भारतसँग सम्बन्ध टुटेको दर्शाएको समेत उल्लेख गरेका छन् ।

ओलीको भनाइप्रति नेपालका लागि भारतका पूर्वराजदूतहरूले पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले आफ्नो पार्टीभित्रको विवादलाई सुल्झाउन नसकेर दुई/दुई पटक प्रधानमन्त्री भइसकेको व्यक्तिबाट यस किसिमको अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले ट्वीटरमा प्रतिक्रिया जनाउने क्रममा ओलीको आरोप नयाँ नभएको जनाएका छन् । ‘यो उही पुरानै गीत हो । कहिलेसम्म ओलीले यो गीत बजाइरहन्छन् ?’ सुदले लेखेका छन् ।

नेपालका लागि भारतका अर्का पूर्वराजदूतले प्रधानमन्त्री ओलीले पार्टीभित्रका विपक्षीलाई तह लगाउन यो आरोप लगाएको बताएका छन् । ‘भोलि सरकार ढल्ने स्थिति भयो भने आफ्ना विरोधीलाई भारतको समर्थक भनेर आरोप लगाउन पाइयोस् भनेर उनले त्यस्तो भनेका हुन्,’ नाम उल्लेख गर्न नचाहेका ती पूर्वराजदूतले भने । उनले सरकार ढाल्न कस–कसले मिटिङ गरिरहेका छन् भन्ने प्रधानमन्त्रीलाई थाहा नहुने कुरै नभएको भन्दै यस्ता अभिव्यक्तिले उनकै सार्वजनिक गरिमामा असर पर्ने बताए । ‘उहाँमा शासन गर्नका लागि चाहिने केही योजनाको अभाव भएजस्तो छ, नत्र दुई/दुई पटक प्रधानमन्त्री भइसकेको मान्छेको आफ्नै गरिमा र छवि हुन्छ, त्यस्तो व्यक्तिबाट यस किसिमको अभिव्यक्ति अपेक्षा गरिँदैन, यो दुर्भाग्यपूर्ण हो,’ उनको भनाइ छ ।

भारत सरकारअन्तर्गतको थिंक ट्यांक एमपी–आईडीएसएका रिसर्च फेलो निहार नायकले ओलीको पछिल्लो आरोपलाई भारतले पुरानै रटानको निरन्तरताका रूपमा बुझेको दाबी गरे । ‘जति बिग्रनुपर्ने थियो पहिल्यै बिग्रिसकेको छ, भारतले सीमाका विषयमा तत्काल वार्ता गर्ने कुनै सम्भावना छैन, अहिले दिल्लीले प्रधानमन्त्री ओलीको अभिव्यक्तितर्फ ध्यान दिनुपर्ने आवश्यकता नै छैन,’ उनले भने । सीमाबाहेकका अन्य पक्षमा भने नेपालसँग छलफल र संवादका लागि सधैं तयार रहने पनि नायकले बताए । ‘दुई देशबीचको जुन सम्बन्ध रहँदै आएको छ त्यसमा सीमाको विषयले असर पर्नु हुँदैन भन्नेमा दिल्ली सचेत छ,’ उनले भने, ‘त्यसैले अन्य क्षेत्रको सहकार्य भने जारी रहनेछ ।’

ओलीले भारतलाई लक्ष्य गर्दै दिएको अभिव्यक्तिप्रति नेपालको राजनीतिक र कूटनीतिज्ञ वृत्तबाट समेत पनि आलोचना गरिएको छ । भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले ओलीको अभिव्यक्ति कूटनीतिक हिसाबले हदैसम्मको अदूरदर्शी र अपरिपक्व भएको बताए । ‘यो हीनताबोध र लघुताभासको परिणाम हो । कूटनीतिक हिसाबले त प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति कल्पना पनि गर्न सकिँदैन,’ उनले भने । ओलीको भनाइले सरकार बनाउने र गिराउने त विदेशीको हातमा हुँदो रहेछ भन्ने पनि अत्यन्तै निराशाजनक सन्देश प्रवाह गरेको उपाध्यायले जिकिर गरे । पार्टीभित्र अप्ठ्यारोमा पर्दै गएपछि आफू जोगिन सिधै छिमेकीलाई आरोप लगाउनु गम्भीर विषय भएको उनको भनाइ छ ।

प्रकाशित : असार १६, २०७७ ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?