२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

'कोरोना भगाउने कार्ड' भिरेर संसद र समिति बैठकमा सहभागी हुँदै सांसद !

'मच्छड धुपलेजस्तै कोरोना भगाउँछ भने, संसद भवन अगाडि किनेको हुँ,' सांसद मोहन बानियाँ
'एकपटक खोलेर लगाएपछि एक महिना काम गर्ने भन्ने छ,' सांसद गणेश पहाडी
विकास समितिकी सभापति कल्याणी खड्काका छोराबाट किनेको सांसदहरुको भनाई
जयसिंह महरा

काठमाडौँ — पछिल्ला केही दिनयता सांसदहरू संसद र संसदीय मिटिङहरुका बैठकमा 'भाइरस रिमुभिङ कार्ड' लेखिएको निलो कार्ड घाटीमा भिरेर सिंहदरबार र बानेश्वरको संसद भवन आउजाउ गर्न थालेका छन् । उक्त कार्ड लगाउँदा कुनै पनि भाइरस १ मिटर पर नै रोकिने उक्त कार्ड भिडाउनेले सुनाएको दाबी सांसदहरू धाराप्रवाह सुनाउने गर्छन् । 

'कोरोना भगाउने कार्ड' भिरेर संसद र समिति बैठकमा सहभागी हुँदै सांसद !

कार्ड दिने व्यक्तिले कार्ड भिरेपछि मास्क पनि लगाउनु पर्दैन भनेको उनीहरू बताउँछन् । तर, सांसदहरूले 'भाइरस रिमुभिङ कार्ड'ले कोरोना भाइरसलाई एक मिटर परै छेक्नेमा विश्वास नगरेर होला मुखमा मास्क भने लगाइरहेका हुन्छन् ।

यसरी भाइरस रिमुभिङ कार्ड लगाउने सांसदहरूमा सत्तारुढ नेकपाका सांसदहरूको बाहुल्यता छ । प्रतिपक्षी दलका सांसदहरूले भने अक्कलझुक्कल मात्रै यस्तो कार्ड लगाएको देखिन्छ ।

नेकपा सांसद मोहन बानियाँले संसद भवन अगाडि उक्त कार्ड किनेको बताए । कार्डबारे आफूले सुनेको आधारमा व्याख्या गर्दै उनले भने, 'चीनबाट आएको हो । संसद भवनको अगाडि बेच्न ल्याएको थियो । बेच्ने व्यक्तिले मच्छर धुपले १ मिटरको आसपासमा मच्छर भगाएजस्तो गरी यो कार्डले कोरोना भगाउँछ भन्यो ।'

चीनले विद्यालय र अफिसमा अनिवार्य गरेको छ भन्ने कुरा कार्ड बेच्नेले आफूहरूलाई भनेको सांसदहरूले बताएका छन् । 'चीनमा स्कुल र कार्यालयहरूमा अनिवार्य गरेको छ रे यो कार्ड । एकपटक खोलेर लगाएपछि एक महिना काम गर्ने भन्ने छ,' नेकपाकै सांसद गणेश पहाडीले भने ।

विकास तथा प्रविधि समिति सभापति एवं नेकपा सांसद कल्याणी खड्काका छोराले उक्त कार्ड सांसदहरूलाई बिक्री वितरण गरेको कार्ड भिर्ने सांसदहरूले बताएका छन् । केहीलाई सित्तैमा त केहीलाई प्रति कार्ड ७ सय रुपैयाँमा बिक्री गरेको सांसदहरूले बताएका छन् ।

सांसद झपट रावलले आफूले ४ वटा कार्ड किनेको बताए । 'संसदमा सबै साथीहरूले त्यो लगाएको देखेँ । केहीले यो लगाउनुपर्‍यो माननीयजी भन्नुभयो । १ मिटरसम्म भाइरस आउन दिन्न पनि भन्नुभयो । कोरोनाभन्दा पनि कुनै पनि भाइरसलाई नआउन दिने भन्ने भएकाले लगाएको हो,' उनले भने, 'संसद सचिवालयका चिकित्सकलाई पनि सोधेको थिए । उनीहरूले राम्रै हुन्छ, लाउनुस् भन्नुभयो ।'

नेकपाकै सांसद लक्ष्मी चौधरीले पनि 'भाइरस रिमुभिङ कार्डले एन्टिबाइटिकको जस्तै काम गर्छ' भन्ने सुनेपछि आफूले पनि लगाएको बताइन् । चीनका विद्यालयमा उक्त कार्डलाई परिचयपत्र जस्तै अनिवार्य गरिएको आफूलाई बताइएको उनको भनाइ थियो ।

विकास समिति सदस्य रहेकी कांग्रेस सांसद रंगमति शाहीले भने आफन्तले जापानबाट ल्याएको कार्ड लगाएको बताइन् । 'भदाले जापानबाट ल्याएर दिएको हो । एउटा मात्रै बाँकी रहेछ । सबैभन्दा बढी बाहिर हिँड्ने म नै भएकाले मलाई दिनुभएको हो । एक महिनासम्म यो कार्डले कोरोना भाग्छ भन्दैथिए,' उनले भनिन्, 'यो भर्खरै निस्किएको भन्ने छ । सबैले लगाएका छन् त्यसैले मैले पनि लगाए ।'

सांसद गणेश पहाडीले भने उक्त कार्डले कोरोना भाइरसलाई एक मिटर परै रोक्नेमा आफूलाई विश्वास नभएको बताए । 'स्वास्थ्य मन्त्रालयले बिक्री वितरणका लागि अनुमति दिएको छैन, नेपालमा खुलम् खुला बिक्री वितरण भएको पनि छैन,' उनले भने, 'स्वास्थ्य मन्त्रालय र चिकित्सकले प्रमाणीत नगरी त लगाए पनि सुरक्षित महसुस के नहुने रहेछ । यो लगाएपछि मास्क लगाउनु पर्दैन भन्छन् तर हामीले मास्क लगाएको लगायै छौं ।'

समिति सभापति खड्का र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि लगाएकाले आफूहरूले लगाएको सांसदहरूले बताएका छन् । खड्काका व्यवसायी छोराले चीनबाट उक्त कार्ड ल्याएर बेचिरहेको सांसदहरूको भनाइ थियो । केही सांसदलाई सित्तैमा दिएको र त्यसपछि अरु सांसदहरूले आफन्तका लागि पनि मगाएर लिएको बताइएको छ ।

खड्काले भने आफूले उक्त कार्ड लगाएर संसदीय समितिमा आएपछि अरु सांसदहरूले चासो व्यक्त गरेको बताइन् । 'मेरो छोरा चीनबाट सामान सप्लाइ गर्छन् । यही क्रममा भाइरस रिमुभ कार्ड पनि ल्यायो । जुन कार्डले मैले लगाएपछि अरु माननीयले पनि सोध्नुभयो । मैले कसैलाई लगाउनुस् भनेको होइन,' उनले भनिन्, 'कार्डबारे जान्न खोज्ने माननीयहरूलाई छोराको नम्बर दिने गरेको छु ।'

पढ्नुहोस्ः

खड्काका छोराले विगतमा पोखरामा होटल व्यवसाय गर्दै आएको र लकडाउन भएपछि चीनबाट यस्तै सामान ल्याएर बेचिरहेको एक सांसदले बताए । केही सांसदहरूलाई सित्तैमा कार्ड दिएको र केहीलाई बजारमा ९ सय रुपैयाँ पर्ने भएपनि सांसद भएकाले ७ सयमा दिएको बताउने गरिएको छ ।

उक्त कार्ड नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि वितरण गरिरहेको बताइएको छ । केही सांसदहरू र नेताहरूलाई वितरण गरिरहेका छन् । व्यक्तिगत खर्चमा नै उनले त्यसरी वितरण गरिरहेको नेताहरूले बताएका छन् ।

सांसदसमेत रहेका नेकपा नेता मुकुन्द न्यौपाने शुक्रबार बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठकमा यो कार्ड भिरेर सहभागी भएका थिए । कार्डबारे उनले भने, 'केटाकेटी हुँदा धामीले एउटा जन्तर लगाइदिन्थे । बोक्सी लाग्दैन, भूतप्रेत लाग्दैन भनेर गलामा झुन्ड्याइदिन्थे । अहिले कोरोना जन्तर लगाइदिए । माधव नेपालले ल्याउनुभएको हो । डाक्टरहरूले दिएको भन्ने छ । जापानमा पनि धेरैले लागएर हिँड्छन् रे । घाममा नदेखाउनु भन्ने नियम रहेछ । अरुले लगाएको देखेपछि मैले मागेँ, दिनुभयो ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा बेसार पानीले कोरोना रोग निको हुन्छ भनेका थिए । न्यौपानेले ओलीको उक्त भनाइलाई व्यंग गर्दै भने, 'खै कोरोना भगाउने त हो कि होइन ? उही बेसारजस्तै हो कि !'

नेपालमा शुक्रबारसम्म कोरोनाबाट ११ हजार ७ सय ५५ जना संक्रमित भइसकेका छन् । जसमध्ये २७ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ९८ जना निको भएर घर फर्किइसकेका छन् । क्वारेन्टाइनको व्यवस्थापन राम्रो नभएको, पीसीआर परीक्षणमा कमी ल्याइएको भनेर सरकारको आलोचना भइरहेका बेला सत्तारुढ दलका सांसदहरू भने भाइरस रिमुभिङ कार्ड भिरेर हिँडिरहेका छन् ।

प्रकाशित : असार १२, २०७७ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?