१६६ नेपाली बोकेर सलाम एयर मस्कटबाट काठमाडौं आउँदै

असार १, २०७७

होम कार्की

काठमाडौँ — ओमानमा अलपत्र परेका एक सय ६६ जना नेपाली कामदारलाई लिएर सलाम एयरको पहिलो विमान उडेको छ ।मस्कटस्थित नेपाली दूतावासले प्राथमिकतामा राखेका नेपाली कामदारलाई सलाम एयरको उडान नम्बर ओभी ४२७ स्थानीय समय ८:१५ मा उडेको हो । यो जहाज त्रिभुवन विमानस्थलमा दिउँसो साढे २ बजे अवतरण हुनेछ ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले अनुसार पीसीआर परीक्षण गरी पठाएको बताइन् । राजदूत ढकालले रोजगारदाता र कामदार आफैले टिकट खर्च बेहोरेको जानकारी दिइन् । दूतावासको सेल्टरमा रहेका १३ जना महिलाको टिकट खर्च भने दूतावासले नै प्रबन्ध गरेको ढकालले बताइन् ।

सरकारले तय गरेको भन्दा झन्डै ८ हजार रुपैयाँ कम ३६ हजार रुपैयाँमा सलाम एयरले उडान गरेको हो । सरकारले मस्कटबाट चार्टर गर्दा नेपाल एयरलाइन्सको लागि ३ सय ६६ डलर (झन्डै ४४ हजार रुपैयाँ) र हिमालयन एयरलाइन्सका लागि  सरकारले झन्डै ४८ हजार रुपैयाँ भाडा कायम गरेको थियो ।

ओमानबाट अर्को उडान असार ४ गते बिहीबार हुनेछ । ओमानबाट स्वदेश फर्कन चाहनेको संख्या करिब ६ सय रहेको छ । 

कोरोना भाइरस

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully