कुवेतबाट तेस्रो उडान : थप १४९ जना नेपाली काठमाडौं आइपुगे

जेष्ठ ३०, २०७७

सुरज कुँवर, होम कार्की

काठमाडौँ — कुवेतबाट ७ जना बालबालिकासहित  १ सय ४९ जना नेपाली महिला कामदार शुक्रबार बिहान नेपाल आइपुगेका छन् । कुवेत सरकारले जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको उडानमार्फत उनीहरुलाई नेपाल पठाएको हो ।

उक्त जहाज शुक्रबार बिहान ११ बजेर २८ मिनेट जाँदा त्रभुवन विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । कुवेतले पठाएको यो तेश्रो उडान हो ।

जजिरा एयरलाइन्स कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ४ बजे उडेको थियो । गैरकानुनी रुपमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदारलाई कुवेत सरकारले पठाएको हो । उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेको हो  । यसको सबै खर्च कुवेतले नै बेहोरेको हो ।

कुवेतले शनिबारका लागि पनि थप दुई उडानका लागि अनुमति मागेको छ । यसअघि बिहीबार बिहान कुवेतबाट दुई वटा उडानमा गरी २ सय ६ जना नेपाली महिला कामदार नेपाल फर्किएका थिए । 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully