कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एसईईको नियमित परीक्षा नहुने, आन्तरिक मूल्याङ्‍कनबाटै परीक्षा

कक्षा ११ र १२ को परीक्षाको विषयमा कुनै निर्णय भएको छैन : शिक्षामन्त्री पोखरेल

काठमाडौँ — सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा(एसईई)सञ्चालन नगर्ने निर्णय गरेको छ । आन्तरिक मूल्याङ्कनबाटै विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । त्यसका लागि भने राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड बनाउनेछ ।

एसईईको नियमित परीक्षा नहुने, आन्तरिक मूल्याङ्‍कनबाटै परीक्षा

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई नगर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कनलाई नै मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । ‘कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ, विद्यालयहरुमा क्वारेन्टाइन बनाइएको छ,’ मन्त्री पोखरेलले भने, ‘परीक्षा गर्ने वातावरण नभएकाले आन्तरिक मूल्याङकनलाई वैधता दिने निर्णय भयो ।’ बोर्डले कार्यविधि बनाएर प्रमाणित गर्ने समेत उनले जानकारी दिए ।

कक्षा ११ र १२ को परीक्षाको विषयमा भने कुनै निर्णय नभएको मन्त्री पोखरेले जानकारी दिए । कक्षा १२ को परीक्षा भने उपयुक्त समयमा सञ्चालन गरिने उनले बताए । कक्षा १२ को परीक्षा विद्यालय तहको अन्तिम परीक्षा भएका कारण सञ्चालन गर्न आवश्यक रहेको उनले जनाए ।

आगामी वर्षदेखि एसईई के गर्ने भन्ने विषयलाई संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको मन्त्री पोखरेलले बताए । विद्यालयबाट यसअघि हुँदै आएको मूल्याङ्कनकै आधारमा बोर्डबाट प्रमाणीकरण गर्ने गरी मन्त्रालयले प्रस्ताव लगेको थियो ।

विद्यालयले यसअघि नै गरेको मूल्याङ्कनलाई स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा सञ्चालन गर्ने संयन्त्रबाट सिफारिस गर्ने, उक्त कामको अनुगमन प्रदेश सरकारले गर्ने र बोर्डले प्रमाणीकरण गर्ने प्रस्ताव शिक्षा मन्त्रालयको छ ।

चैत ६ गतेदेखि सञ्चालन गर्न समय तालिका बनाइएको एसईई चैत ५ गते स्थगित गरिएको थियो । ४ लाख ८२ हजार विद्यार्थी एसईई परीक्षाको तयारीमा थिए । लकडाउनका कारण परीक्षा अनिश्चित बन्दै जाँदा सरकारले बुधबार यस वर्ष परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको हो ।

प्रकाशित : जेष्ठ २८, २०७७ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?