१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जातीय विभेदले निम्त्याएको घटना : ‘दुलही लिन गएको छोराको शव आयो’

हामीमाथि आक्रमण भइरहँदा प्रहरीले कुनै एक्सन लिएन : पीडित
वडाअध्यक्ष र युवतीका बाबु प्रहरी नियन्त्रणमा
प्रहरीमा छनोट भएका थिए नवराज, लकडाउनले तालिम रोकिएको थियो  

जाजरकोट र रुकुम पश्चिम — जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २० वर्षीय नवराज विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन चौरजहारी गए । 

जातीय विभेदले निम्त्याएको घटना : ‘दुलही लिन गएको छोराको शव आयो’

तर, नवराजले न त घरमा दुलही ल्याए, न त आफू नै घर फर्किए । केटीतिरका मान्छेहरुको आक्रमणमा परेर उनको ज्यान गुम्यो । उनलाई साथ दिनको लागि सँगै गएका चौरजहारीका टीकाराम सुनार र रानागाउँका गणेश बुढा मगरको पनि मृत्यु भयो । अन्य तीनजना सन्दिप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

‘हाम्रो जातभात मिल्दैन, पहिले पनि तिमी लिन जाँदा उनीहरुले अपहेलना गरेका थिए । नल्याऊ बाबु भनेर सम्झाएकै थियौं,’ सोमबार नवराजकी आमा उर्मिलाले भनिन्, ‘भनेको मानेन, अहिले यो अवस्था देख्नुपर्‍यो ।’ माथिल्लो जातकी छोरीलाई बुहारीको रुपमा घरमा भित्र्याउँदा अपहेलित हुन डरले त्यसो नगर्न सम्झाउने गरेको उनले बताइन् ।

आफ्नी प्रेमिकालाई विवाह बन्धनमा बाँध्ने नवराजको यो दोस्रो प्रयास थियो । केही महिनाअघि पनि विवाह गर्न खोज्दा चौरजहारी इलाका प्रहरी कार्यालयको रोहबरमा उमेर पुगेपछि विवाह गर्ने गरी छुटाइएको थियो । आमा उर्मिलाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराज पनि युवतीको घरमा जानेआउने गर्थे । यद्यपि, युवतीका आमाबुवा दुईबीचको प्रेम सम्बन्ध टुटाउन चाहन्थे । पटकपटक नवराजलाई चेतावनी पनि दिएका थिए ।

घटनास्थल चौरहजारी नगरपालिका-८, सोती । तस्बिर : हरि गौतम/कान्तिपुर

नवराज आफ्ना साथीहरुलाई साथमा लिएर शनिबार राति युवतीको गाउँ सोती पुगेका थिए । एक्लै जाँदा खतरा हुने भएकोले १८ जना साथीलाई आफूसँगै लगेको उनीसँगै गएका सुदीप खड्काले बताए । नवराजको टोली सोती पुग्ने बित्तिकै युवतीका आमाबुवाले गाउँलेलाई बोलाएर अन्धाधुन्ध आक्रमण गर्न लगाएको उनीसँगै गएका खड्काको भनाइ छ । घटनामा परेर उनी पनि घाइते छन् ।

‘हामी केटीको घर पुग्न नपाउँदै उनकी आमाले डुम किन आयो, अस्तिको चोटले यसलाई पुगेनछ, आज यो डुमको टोलीलाई मार्नै पर्छ भन्दै कराउन थालिन्,’ उनले भने, ‘त्यसपछि त अरु मान्छे आएर हामीलाई लखेट्न थालिहाले ।’ केटीको आमाले गालीगलौज गर्ने बित्तिकै आफूहरु फर्किन थालेको, तर ५०/६० जनाको समूहले ढुंगामुढा गरेको उनले बताए ।

गाउँलेको समूहले करिब आधा घण्टासम्म ढुंगामुढा गर्दै लखेटेका थिए । उनीहरुले नवराजलाई ढुंगाले हानेर मारेपछि भेरी नदीमा फ्याँकेका उनीसँगै गएका अर्का युवा सरोज भँडेलले बताए । आफूहरुले नदीमा हामफाले पनि ढुंगामुढा गर्न नछाडेको उनको भनाइ छ । ‘हामीमाथि आक्रमण भइरहँदा प्रहरी पुगे पनि प्रहरीले कुनै एक्सन लिएन,’ उनले भने, ‘उल्टै उनीहरुलाई सहयोग गरेर आफ्नो बाटो लाग्यो ।’

नवराजले केटी लिन जाँदा घरपरिवारलाई जानकारी भने गराएका थिएनन् । उनी ‘काफल खान जान्छु’ भन्दै घरबाट निस्केका आमा उर्मिलाले बताइन् । उनका अनुसार यसअघि पनि युवतीका परिवारले ‘डुम’ भन्दै दुईपटक कुटपिट गरेका थिए । ‘तेस्रोपटक त मेरा छोराको ज्यानै लिए,’ उनले भनिन्, ‘दुलही लिन गएको छोरा लास बनेर आयो ।’

मृतकका परिवारले सोही वडाका वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा बीरबहादुर मल्ललगायतले लखेटीलखेटी मारेको आरोप लगाएका छन् । मृतक युवाको शव जाजरकोट जिल्ला प्रहरी कार्यालयमा रहेको छ । घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको पोष्टमार्टम गर्न दिएका छैनन् । उनीहरुले घटनामा संलग्नमाथि किटानी जाहेरी पनि दिएका छैनन् ।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले रुकुम पश्चिमको प्रहरीसँग समन्वय गरी घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार रुकुम प्रहरीले वडाध्यक्ष मल्लका साथै केटी, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए ।

सोतीका स्थानीय प्रकाश मल्लले लकडाउनको क्रममा ठूलो संख्यामा युवाहरु गाउँमा आएकोले पनि यो घटना भएको बताए । उनका अनुसार यसअघि पनि लकडाउनको समयमा नवराजको समूह दुईपटक गाउँमा आएको थियो । ‘गाउँलेले लखेट्दै लगेपछि उनीहरुमध्ये केहीले भेरीमा हामफालेका हुन्,’ उनले भने, ‘केही पुल तरेर गएका थिए ।’

अधिकारकर्मी पार्वती बिकले यो घटना जातीय विभेदको निर्मम नमुना भएको बताइन् । अनेक बहाना बनाएर घटनालाई जतातिर मोडे पनि जातभात नमिल्दा भएको कुटपिटले नवराज र उनका साथी मारिएका उनले बताइन् । ‘जातभातकै कारण भौतिक आक्रमण गरेर ज्यान लिने हर्कत अक्षम्य अपराध हो,’ उनले भनिन्, ‘यसमा संलग्न जोकोहीलाई कडा कारबाही गरिनुपर्छ ।’ उनले दवाव र प्रभावमा नपरी घटनाको निश्पक्ष छानबिन गरिनुपर्ने बताइन् ।

३ जनाको शव भेटियो, तीनजना अझै बेपत्ता

जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मृतकका आफन्त

घटनामा परेर मृत्यु भएका ३ जनाको शब भेटिएको छ । नवराज र टीकाराम सुनारको शव आइतबार र गणेश बुढा मगरको शव सोमबार भेटिएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक बेपत्ता छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले उनीहरुको खोजी गरिरहेको छ ।

तीनैजनाको शव भेरी नदी किनारको धल्ला भन्ने स्थानमा भेटिएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कविराज रोकायाले बताए । कार्यालयले उनको नेतृत्वमा घटना अनुसन्धान समिति बनाएको छ । घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भडेल, आशिष विकलगायत १२ जना घाइते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन् ।

प्रहरीमा छनोट भएका थिए, सुखसँग पाल्छु भन्थे बाआमालाई

नवराज नेपाल प्रहरीको सिपाहीमा छनोट भएका थिए । तर, लकडाउनका कारण तालिममा भने सहभागी हुन पाएका थिएनन् । उनी बाबुआमाका एकमात्र सन्तान हुन् । ‘जागिर खाएपछि बिहे गर्छु, तपाईँहरुलाई सुखसँग पाल्छु भन्थ्यो,’ उनले भनिन्, ‘पापीहरुले संसारै अँध्यारो बनाइदिए ।’

प्रकाशित : जेष्ठ १२, २०७७ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?