कतारमा कोरोनाबाट ६ हजार ९ सयभन्दा बढी नेपाली संक्रमित

होम कार्की

काठमाडौँ — कतारमा कोरोना भाइरसबाट संक्रमित हुने नेपाली कामदारको सख्या ६ हजार ९ सय ११ जना पुगेको छ । एक जना नेपालीको मृत्यु भएको छ । यो मे १९ सम्मको विवरण हो । कतारको जनस्वास्थ्य मन्त्रालयबाट कान्तिपुरलाई प्राप्त मे १९ सम्मको रिपोर्टअनुसार संक्रमित ३५ हजार ६ सय ३१ जना मध्ये नेपाली समुदाय दोश्रो नम्बरमा छ ।

सबैभन्दा बढी भारतीय कामदार ११ हजार १८ जना रहेका छन् । तेश्रोमा बंगलादेशी ५ हजार ५ सय ८९, चौथोमा पाकिस्तानी २ हजार ३ सय १०, पाँचौंमा फिलिपिनो एक हजार ५ सय ३६ र छैँटौं कतारी १५ सय ३६ जना रहेका छन् । बाँकी अन्य देशका नागरिक रहेका छन् ।

कुल संक्रमितमा पुरुष ३१ हजार ९ सय ७७ जना र महिला तीन हजार ६ सय ५४ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी १९ देखि ४० वर्ष उमेर समूहका छन् । संक्रमितमध्ये ४३ प्रतिशत न्यून तलबमा काम गर्ने कामदार छन् । जहाँ नेपालीको बाहुल्यता बढी छ । १३ प्रतिशत गैरकामदार, १२ प्रतिशत प्रशासनिक कर्मचारी, १२ प्रतिशत विद्यार्थी, ६/६ प्रतिशत सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, उच्च तहको कर्मचारी र ३ प्रतिशत विमानस्थलका कर्मचारी रहेका छन् ।

कतारले मैजर हेल्थ सेन्टर, रुवाडत अल खलिल हेल्थ सेन्टर, उमसलाल हेल्थ सेन्टर र अल गरफा हेल्थ सेन्टरबाट कोरोना परीक्षण भइरहेको जनाएको छ ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले उपचारमा कुनै विभेद नरहेको बताए । ‘कतारले हार्दिकताका साथ सबै बिरामीलाई आफ्ना नागरिकसरह उपचार गरिरहेको छ । उपचारमा भेदभाव छैन भन्नेमा दूतावास विश्वस्त छ,’ उनले भने ।

राष्ट्रिय महामारी प्रतिरोधक समितिले कोरोना भाइरसको संक्रमण तीव्र गतिले बढिरहेको जनाएको हो । ‘हामी महामारीको उच्च विन्दुमा प्रवेश गरेका छौं । बितेको हप्ताभन्दा हाल आएर दैनिक रुपमा केसहरु तीव्र गतिले बढिरहेको छ,’ समितिका अध्यक्ष अब्दुल्ला हतीफ अलखलले भने, ‘सामाजिक दूरीका अभावका कारण भाइरस बढेको हो ।’

अध्यक्ष अलखलले खाडी क्षेत्रमै कतारले स्वास्थ्य परीक्षण दर बढाएकोले कोरोनाबाट संक्रमित संख्या बढेको देखिएको बताए । ‘कतारमा खाडीमै संक्रमणदर तुलनात्मक रुपमा बढिरहेको छ । आक्रामक रुपका सम्र्पक व्यक्तिको पहिचान भइरहेको छ । कतारले संक्रमित व्यक्तिको जालोलाई बृहत् रुपमा अनुसन्धान गरिरहेको छ । सबैको परीक्षण भइरहेको छ । धेरै देशले यो गर्न सकेको छैन,’ उनले भने, ‘नयाँ पहिचानले धेरै केस देखिएको हो । शारीरिक र सामजिक दूरी कायम नहुँदा संक्रमितको संख्या बढिरहेको हो ।’

राष्ट्रिय महामारी प्रतिरोधक समितिका अनुसार अधिकांश बिरामीलाई कोरोनाका लक्षण नै देखिएको छैन । जसको कारणले भाइरस फैलिरहेको हो । पाल्पाका ३० वर्षीय युवकलाई ३५ दिनभित्र ४ पटक पोजिटिभ देखिँदा पनि कोरोनाको कुनै लक्षण नदेखिएको बताए । ‘मेरो सामान्य लक्षण नदेखेकोले उपचार गरेको छैन । सुगरप्रेसरको मात्रै औषधि खाइरहेको छ । मैले किन औषधि नदिएको भन्दा केही समस्या छैन । तातो पानी खा । त्यसले ठीक गर्छ भनिरहेको छ,’ उनले भने ।

कतारको जनस्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहानसम्म ४० हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म कतारमा संक्रमण पुष्टि भएकाहरुमध्ये ७ हजार ८ सय ९३ जना निको भएका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७७ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्

बाँझो जग्गामा खेती गरे प्रतिरोपनी ५ हजार अनुदान

आश गुरुङ

लमजुङ — लमजुङको मध्यनेपाल नगरपालिकाले बाँझो जमिनमा तरकारी तथा फलफूल खेती गरेमा प्रतिरोपनी ५ हजार रुपैयाँसम्म अनुदान दिने भएको छ ।

नगरपालिकाले ४० वर्षमुनिका युवालाई लक्षित गरी यो कार्यक्रम अघि सारेको जनाएको छ । बेरोजगार युवालाई मध्यनजर राखेर नगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदानको कार्यक्रम ल्याएको नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताए । उनका अनुसार जो कसैले पनि बाँझो जमिनमा खेती गरेमा प्रतिरोपनी ४ हजार रुपैयाँ र अरुको जग्गा भाडामा लिएर बाँझो जमिनमा खेती गरेमा ५ हजार अनुदान दिने निर्णय गरिएको छ ।

कोराना महामारीसँगै आउँदा दिनमा आउन सक्ने खाद्यान्न संकट टार्न र दीर्घकालीन रुपमा पनि युवालाई कृषिकर्ममा टिकाउन कार्यक्रम लागू गर्न लागेको उपमेयर राजकुमार श्रेष्ठले बताए । ‘एकातिर बाँझो जमिनमा खेती हुनेछ । अर्को कुरा युवा स्वदेशमै स्वरोजगार बन्नेछन् । व्यावसायिक बन्नेछन् । फलफूल, तरकारी तथा खाद्यान्नमा नगरपालिका आत्मनिर्भर बन्नेछ ।’

बाँझो जमिनमा खाद्यबाली, तरकारी तथा फलफूल साथै मसालेदारलगायत खेती गर्न सकिने नगरपालिकाले जनाएको छ । खेती गर्नका लागि वडा कार्यालयमामार्फत निवेदन संकलन गर्ने र संकलित निवेदनलाई ‘युवा एवं महिला, कृषि तथा पशुपालन लक्षित कार्यक्रम कार्यान्वयन कार्याविधि २०७५’ अनुसार गठित समितिले सिफारिस गरेपछि अनुदान दिइने मेयर पाण्डेले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा स्वीकृत ‘नगरप्रमुख कृषि आधुनिकरण अनुदान कार्यक्रम’ शीर्षकमा छुट्याएको ५० लाख रुपैयाँ अहिलेको अवस्थामा खरिद प्रक्रिया पूरा गरी खरिद तथा वितरण गर्ने सम्भावना नभएकाले उक्त बजेटलाई बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने प्रक्रिया अघि बढाएको उनले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर खड्काका अनुसार बाँझो जमिनमा खेती गर्न इच्छुकको वडा कार्यालयमार्फत निवेदन संकलन भइरहेको र निवेदन नगरपालिकामा प्राप्त भएपछि तत्कालै कार्यान्वयन प्रक्रियामा अघि बढाइने बताए । ‘अहिले धेरै युवा बेरोजगार छन् । काम पाएनौं भनिरहेको अवस्था छ । बरु बाँझो जमिनमा खेती गरेमा हामीले अनुदान दिने भनेका छौं,’ उनले भने, ‘कृषि कर्ममा युवा लागेमा हामी अन्य अनुदानका कार्यक्रम पनि सहयोग गर्छौं ।’

प्रकाशित : जेष्ठ १०, २०७७ १०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×