कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारका नेपाली उच्च जोखिममा

सयौं जना क्याम्पमा सँगै बस्ने हुनाले नेपाली कामदार संक्रमित हुने क्रम बढ्दै गएको छ । संक्रमणको आशंका गरिएकालाई पनि क्वारेन्टाइनमा एकै ठाउँ राख्ने गरिएको छ ।
होम कार्की

काठमाडौँ — कतारमा नेपाली कामदार कोभिड–१९ संक्रमणको उच्च जोखिममा रहेका छन् । झन्डै २८ लाख ८१ हजार जनसंख्या रहेको कतारमा ३७ हजार ९७ जना संक्रमित भइसकेका छन् । संक्रमण तीव्र गतिले बढिरहेको छ । कतारमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९१ जना संक्रमित भएका छन् ।

कतारका नेपाली उच्च जोखिममा

जसमा आप्रवासी कामदारको संख्या उच्च छ । कतारमा कूल जनसंख्याको झन्डै १२.५ प्रतिशत नेपाली कामदार छन् । संक्रमित भएकामध्ये कम्तीमा १० प्रतिशत नेपाली छन् ।

राष्ट्रिय महामारी प्रतिरोधक समितिले संक्रमणका केस हरेक दिन तीव्र गतिले बढिरहेको जनाएको छ । ‘संक्रमण अघिल्लो साताको तुलनामा ५० प्रतिशतले बढेको छ,’ समितिका अध्यक्ष अब्दुल्ला हतिफ अलखलले नियमित प्रेस बिफ्रिङमा भने, ‘सामाजिक दूरीको अभावले संक्रमण बढेको हो ।’ स्वास्थ्य परीक्षण दर बढाएकाले संक्रमितको संख्या धेरै देखिएको उनको भनाइ छ ।

राष्ट्रिय महामारी प्रतिरोधक समितिका अनुसार अधिकांश संक्रमितमा लक्षण नै देखिएको छैन । पाल्पाका ३० वर्षीय युवकलाई ३५ दिनभित्र ४ पटकको परीक्षणमा पोजिटिभ देखिँदा पनि लक्षण देखिएको छैन । उनी अप्रिल ३ तारिखदेखि क्वारेन्टाइनमा छन् । उनी ड्राइभर हुन् । सडक बनाउने कामदारलाई ल्याउने, लैजाने काम गर्थे । कम्पनीमा संक्रमित देखिएपछि उनीसहित ३० जनालाई क्याम्पबाट सिधै क्वारेन्टाइनमा राखिएको थियो । त्यसमध्ये ३ जना नेपाली थिए । १६ जना निको भएर क्याम्पमै फर्किसके । लक्षण नदेखिएपछि उनलाई अस्पताल लगिएको छैन । औषधि पनि चलाइएको छैन । ‘तातो पानी खानू, त्यसले ठीक गर्छ भनिरहेका छन्,’ उनले कान्तिपुरसित फोनमा भने ।

कतारमा कार्यरत स्याङ्जाका एक युवकले कोभिड–१९ पोजिटिभ हुँदैमा डराउनु नपर्ने बताए । ‘रोग प्रतिरोधक क्षमता छ भने सामान्य अवस्थामा क्रमिक रूपमा आफैं ठीक हुँदै जाने रहेछ । हल्का टाउको पनि दुखेको छैन,’ उनले भने ।

गम्भीरलाई मात्र अस्पताल

संक्रमितलाई अवस्था हेरी क्वारेन्टाइनपछि अस्पताल र पुन: अन्तिम क्वारेन्टाइनमा लैजाने गरिएको छ । झापाका ३३ वर्षीय किरण परियार ११ दिनदेखि मिसाइदस्थित हमाद अस्पतालमा उपचाररत छन् । ‘सुरुमा अलि कठिन भएको थियो । अहिले अलि सजिलो भएको छ,’ उनले कान्तिपुरसँग भने । समितिका अनुसार कूल संक्रमितमध्ये ३६.७ प्रतिशत २५ देखि ३४ वर्षका छन् जसमा कामदार बढी छन् । ४० देखि ४९ उमेर समूहका बिरामी आईसीयूमा छन् । कतारमा सयौं जना क्याम्पमा सँगै बस्दा संक्रमितको संख्या बढ्दै जान थालेको हो । संक्रमित हुनेमा अधिकांश ड्राइभर, क्लिनर, सेल्स र मर्चेन्टाइजरका रूपमा काम गर्ने छन् ।

ड्राइभरकै काम गर्दै आएका सिन्धुपाल्चोकका एक युवकले शंका लागेपछि सबैलाई एउटै क्वारेन्टाइनमा ल्याएर राखिएको बताए । ‘क्वारेन्टाइनमा ठाउँ अभावले बाहिर टेन्ट हालिएको छ । टेन्ट अव्यवस्थित छ । अन्य बिरामी नहुँदा मात्र टेन्टबाट बिल्डिङतिर सारिन्छ,’ उनले भने । नउनले एउटै टेन्टभित्र १ हजार ८ सय जनालाई राखिएको सुनाए । ‘खाजा र खाना खान निस्कँदा ठेलमठेल हुन्छ । पोजिटिभ देखिएका र नदेखिएका एउटै टेन्टभित्र छन्,’ उनले भने, ‘ठीक भइसकेकालाई पनि यहीं राखिएको छ ।’

स्वास्थ्य परीक्षणका लागि मात्रै कतारमा ६ हजार ५ सयभन्दा बढी कामदारलाई क्वारेन्टाइनमा राखिएको छ । त्यसअघि पनि ठूलो संख्यामा कामदारलाई क्वारेन्टाइनमा राखिएको थियो । स्याङ्जाका युवकले नेगेटिभ आइसकेपछि आफैं होसियारी भएर बस्नुपर्ने बताए । ‘नयाँ मान्छेलाई पनि कोठामा हालिदिँदा भने डर लाग्छ,’ उनले भने ।

कतिपयले उपचार र खानामा समस्या नभएको बताएका छन् । ‘कम्पनीले पनि नियमित चासो दिइरहेको हुन्छ’, ४० दिनदेखि क्वारेन्टाइनमा बसेका धनुषाका रामललित रावतले भने, ‘हाम्रो कसैसँग पनि केही गुनासो छैन ।’

१४ महिनादेखि कतारमा मेसन काम गर्दै आएका उनको ५ पटकको परीक्षणमा पनि पोजिटिभ देखिएको छ । ‘डाक्टरले शरीरमा केही छैन भनेका छन् । तातोपानी खाएर बस्नु भनेका छन्,’ उनले भने, ‘बिहान २ घण्टा र दिउँसो धाममा २ घण्टा हिँड्छु । हिँड्दा कोरोना भाग्छ होला ।’

‘उपचारमा भेदभाव छैन’

नारदनाथ भारद्वाज, कतारका लागि नेपाली राजदूत

कतारमा कति नेपाली कामदार संक्रमित छन् ?

हामीलाई समग्र बिरामीको जानकारी छ । यति जना नेपाली भन्ने छैन । संक्रमितमध्ये ५७ जना मात्रै नेपाली दूतावासको सम्पर्कमा छन् । तर अस्पताल वा क्वारेन्टाइनमा योभन्दा बढी छन् । २ जना नेपालीको अवस्था गम्भीर छ । १ जनाको मृत्यु भइसकेको छ । निको भएर बाहिर निस्केकाले पनि उपचार पद्धतिबारे हामीलाई जानकारी दिइरहेका छन् । यहाँको मृत्युदर भने न्यून छ ।

कुन क्षेत्रमा बढी नेपाली संक्रमित देखिएका छन् ?

कतार सरकारले हामीलाई संक्रमित भएकाको क्षेत्र छुट्याएर दिएको छैन । सम्पर्कमा आएअनुसार धेरैजसो निर्माण क्षेत्रमा काम गर्ने देखिएका छन् । त्यसपछि यातायात, ग्यारेज, क्लिनर र मार्केटिङ क्षेत्रमा काम गर्नेहरू संक्रमित छन् ।

बेड अभावले थप उपचारका लागि अस्पताल वा क्वरेन्टाइनमा लगिएन भन्ने गुनासो पनि छ नि ?

पोजिटिभ देखिएको तर अस्पताल नलगिएको भन्ने गुनासो आएको छ । बिरामीबाट आएको कुरालाई नै सत्य मानेर प्रतिक्रिया दिइहाल्ने स्थिति छैन । कतारले ४ हजार बेड उपलब्ध छ भनिरहेको छ । अहिलेसम्म बेड अभाव भएको देखिँदैन । क्वारेन्टाइनमा एउटै हलमा छुट्याएर बेड राखिएको छ । संसारभर उपचार गर्ने पद्धति एउटै हो । यहाँ पनि त्यही हो । कतिपय अपार्टमेन्टमा बस्दा रिजल्ट पोजिटिभ आएको र उपचारमा नलगिँदा साथीहरूले कोठामा छिर्न नदिएर छतमै बस्नुपरेको गुनासो आएको थियो । मैले सम्बन्धित ठाउँमा लेखेर पठाएँ । त्यसमा तुरुन्तै रेस्पोन्स पनि भयो । केस नियमित बढिरहेको छ । कसैले उजुरी दिए यथार्थता कतिसम्म हो भनेर बुझ्नुपर्छ । यहाँ धेरै सिकिस्त बिरामी छैनन् भन्ने लाग्छ । यहाँबाट खबर नआए पनि नेपालबाट आउँछ । परिवारले खबर गर्छन् ।

उपचारको अवस्था कस्तो छ ?

कतारले हार्दिकताका साथ सबै बिरामीलाई आफ्नो नागरिकसरह उपचार गरिरहेको छ । उपचारमा भेदभाव छैन भन्नेमा दूतावास विश्वस्त छ ।

यस्तो बेला दूतावासको विशेष भूमिका भएन भन्ने चौतर्फी गुनासो छ नि ?

कूटनीतिक लक्ष्मण रेखाले धेरै ठाउँमा असजिलो उत्पन्न हुन्छ । कुनै बिरामीले बोलाउनासाथ हामी जान सक्दैनौं । प्रक्रिया पूरा गर्नुपर्छ । अस्पताल वा क्वारेन्टाइनमा गइहाल्न सुरक्षाको कुरा पनि आउँछ । एक त हामी आफंै न्यून जनशक्तिले काम गरिरहेका छौं । गइहाल्दा कतार सरकारलाई विश्वास नगरेको जस्तो देखिन्छ ।

संक्रमण बढिरहेको छ । टेस्टले बढी देखिएको हो । सरकारले नियन्त्रण गर्ने अवस्था रहेको भन्दै आश्वस्त पार्न खोजेको पनि देखिन्छ । समग्रमा अहिले आत्तिने स्थिति छैन । लकडाउन छैन । सुरक्षामा कडा नियम छ । मास्क नलगाउनेलाई २ लाख रियाल जरिवाना हुन्छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?