लकडाउनमा कसरी चल्छ संसद् ?

सांसद र कर्मचारीको पीसीआर परीक्षणका लागि आज नमुना संकलन गरिने
ऋषिराम पौड्याल

काठमाडौँ — कोभिड–१९ का कारण मुलुक लकडाउनमा रहेका बेला संघीय संसद्को वर्षे (बजेट) अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । अधिवेशन सुरु भएपछि सांसद, मर्यादापालक, कर्मचारी र मिडियाकर्मीको उपस्थितिले संसद् भवन र परिसरमा निकै भीडभाड हुने निश्चित छ । त्यसैले सरकारले सम्पूर्ण सुरक्षा विधि अपनाएर संसद् अधिवेशन चलाउने निर्णय गरेको छ । संसद् सचिवालयले बैठक कक्षको व्यवस्थापन र स्वास्थ्य सुरक्षा कायम राख्न विशेष तयारी गरेको छ ।

लकडाउनमा कसरी चल्छ संसद् ?

दुवै सदनका सांसद, कर्मचारी र बैठक सञ्चालनमा सहभागी हुने सबैको बिहीबार पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गरिनेछ । परीक्षणका लागि नमुना संकलन गर्न १० बजे राष्ट्रियसभा र ११ बजे प्रतिनिधिसभाका सांसद संघीय संसद् भवन बानेश्वरमा उपस्थित हुनुपर्नेछ । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार बैठक सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । ‘स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गरिएको छ,’ उनले भने । हरेक दिन बैठक सुरु हुनु अगावै ढोकादेखि प्रत्येक व्यक्ति बस्ने कुर्सी, प्रयोग गर्ने टेबुल, पोडियम, माइकलगायत सबै संरचानलाई फेमिगेट गरिनेछ । फेमिगेटपछि चार घण्टाका लागि ढोकाहरु बन्द गरिनेछन् । सांसदहरु विगतमा जसरी भीडभाड गरेर बैठक कक्षमा प्रवेश गर्न पाउने छैनन् । सामाजिक दूरी कायम गरेर पालैपालो प्रवेश गर्नुपर्नेछ । भित्र पस्ने ढोकानजिकै साबुनपानी राखिनेछ । । प्रत्येक सांसदको टेबुलमा सेनिटाइजर राखिनेछ भने बैठक सुरु हुनुअघि हरेक दिन ज्वरो जाँच गरिनेछ ।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सांसदले पहिलो दिन जुन कुर्सीमा बसेको हो संसद् बैठक चलुन्जेलसम्म हरेक दिन अर्कोमा बस्न पाइने छैनन् । दुवै सदनको बैठक हलमा कम्तीमा एक मिटर दूरी कायम गरेर कुर्सी व्यवस्थापन गरिएको छ । संसद्‌मा ३ सय ३४ जना सांसदलाई कुर्सीको व्यवस्था मिलाइएको छ । प्रतिनिधिसभा हलको माथिल्लो तलाको दर्शकदीर्घामा पनि सांसद बस्ने व्यवस्था गरिएको छ । माथिल्लो हलमा संयुक्त बैठकका दिन १ सय २० जना सांसद बस्न मिल्नेछ । दुवै सदनमा रहेका २–२ वटा कुर्सी छाडेर बस्न मिल्ने मिलाइएको छ । प्रतिनिधिसभा मात्र सञ्चालन भएका दिन भने माथिल्लो तलामा ६० जना सांसद बस्न मिल्ने संरचना बनाइएको छ ।

सभामुख, राष्ट्रियसभा अध्यक्ष, महासचिव, सचिव र कर्मचारीको बस्ने व्यवस्था पनि एक मिटरभन्दा बढी दूरीमा मिलाइएको छ । सरकारको नीति तथा कार्यक्रम पेस गर्नका लागि संयुक्त बैठक बस्ने दिन राष्ट्रपतिका लागि पनि सभामुख र अध्यक्ष बस्ने लहरमा सामाजिक दूरी कायम गरेर कुर्सी राखिनेछ । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सोही कुर्सीमा बसेर पढ्ने छिन् । एक जनाले बोलिसकेपछि अर्को व्यक्तिले बोल्नुअघि पोडिमय र माइकलाई सेनिटाइज गरिनेछ । सांसदले आफू बसेकै ठाउँबाट बोलेका छन् भने बैठक सुरु हुनुअगाडि मात्र माइक र कुर्सीको सेनिटाइज गरिनेछ । सचिवालयका एक कर्मचारीले भने, ‘जेष्ठ सांसद सदस्यलाई भने कुर्सीको छेउको लहरमा बस्न अनुरोध गरिनेछ ।’

शौचालय, ढोकाका ह्यान्डिल, भर्‍याङको रेलिङसमेतलाई बेलाबेलामा सेनिटाइज गरिनेछ । बैठकमा एसीको बदला फ्यान चलाइनेछ । विज्ञहरुको सल्लाहअनुसार एसी नचलाउने निर्णय गरिएको हो । ‘जति व्यवस्थापन भएको छ सबै स्वास्थ्य क्षेत्रका विज्ञको सल्लाहमा गरिएको हो,’ धमलाले भने । सचिवालय र संसद् भवनका सबै ढोका खुला रहनेछन् । सांसदहरुले उच्च गुणस्तरको मास्क प्रयोग गर्नुपर्नेछ । बैठक हलमा पनि मास्क अनिवार्य गरिएको छ । ‘बोल्ने बेलामा भने खोल्ने/नखोल्ने सांसदहरुको अधिकार हो,’ सचिवालयका एक स्वास्थ्यकर्मीले भने । संसद्को क्यान्टिन खुला हुनेछ । तर एउटा टेबुलमा एक जना मात्र बस्न पाइनेछ ।

स्वास्थ्य सम्बन्धी सबै व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिभिल अस्पताल र संसद्कै स्वास्थ्य इकाई टोलीले गरेको हो ।

संयुक्त बैठकका दिन कूटनीतिक नियोग, संवैधानिक निकायलगायत उच्च पदस्थलाई बोलाउने/नबोलाउनेबारे टुंगो लागिसकेको छैन । मिडियाकर्मीलाई कसरी प्रवेश दिने र कुन स्थानमा व्यवस्थापन गर्ने भन्ने पनि अन्तिम निर्णय भएको छैन । ‘माथिल्लो तलामा सांसदलाई व्यवस्थापन गर्ने भएकाले मिडियाकर्मीलाई उक्त स्थानमा प्रवेश हुँदैन,’ एक अधिकारीले भने, ‘त्यसबारे निर्णय हुन बाँकी छ ।’

सरकारले जेठ १५ गते संघीय संसद्‍मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । बजेट अगावै सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसद्‍मा पढ्नुपर्ने छ । अर्थमन्त्रीले बजेट पेस गर्नुअघि संसद्‍मा प्रि–बजेट छलफल गर्नुपर्नेछ । कोभिड–१९ का कारण मुलुक लकडाउनमा भएकाले गत सालको भन्दा यो पटक बजेट अधिवेशन आह्वानमा ढिलाइ भएको हो । गतवर्ष वैशाख १६ मै अधिवेशन सुरु भएको थियो ।

प्रकाशित : वैशाख २५, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?