कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यी हुन् ओलीका घर

बिर्तामोड, तेह्रथुम — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६९ औं जन्मदिन जन्मघर तेह्रथुमको आठराईमा मनाए । रित्तो जन्मघरबाहेक पनि ओलीका झापा र भक्तपुरको बालकोटमा घर छन् । यतिबेला प्रधानमन्त्री निवास बालुवाटार बसिरहेका उनले ५६ वर्षको झापा बसाइँमा जन्मदिन यसरी भव्य रूपमा कहिल्यै मनाएका थिएनन् । 

यी हुन् ओलीका घर

१२ वर्षको उमेरमा तेह्रथुमबाट झापा झरेका ओली अहिले भक्तपुर बालकोट निवासी बनिसकेका छन् । झापामा उनको पैतृक सम्पत्ति मात्र छ । तर, सर्वसाधारणले ओलीको घर भनेर दुइटा घरलाई चिन्ने गर्छन् ।


पृथ्वीनगरस्थित हिमालीचोकमा बुबा मोहनप्रसाद ओली र भाइ जयप्रसाद (जेपी) ओली बसोबास गर्ने घर र दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको परिवार बसोबास गर्ने घर । तर, प्रधानमन्त्री ओलीकै नाममा झापामा घर छैन । उनको नामले चिनिने घरहरू आइतबार सुनसान रहे । बुबा मोहनप्रसाद पनि आठराई नै गएपछि हिमालीचोकको घर सुनसान थियो । मेयर ओली पनि सपरिवार आठराईमै जन्मदिनको कार्यक्रममा सरिक भएपछि दमकस्थित निवास सुनसान रह्यो ।


झापाको दमकस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घर

हिमालीचोकस्थित घर र १८ कट्ठा जमिन मोहनप्रसादका नाममा छ । दमकस्थित घर र जग्गा भने प्रधानमन्त्री ओलीले १७ वर्षअघि नै बेचिसकेका छन् । तर, अहिले पनि दमक–५ स्थित घर प्रधानमन्त्री ओलीकै निवास भनेर चिनिन्छ । ०५१ सालमा गृहमन्त्री भएका बेला ओलीले दमकमा एक कट्ठा १० धुर जमिन किनेर दुई तलाको नौ कोठे पक्की घर बनाएका थिए । जमिन ओलीको नाममा तथा घर पत्नी राधिका शाक्यका नाममा थियो । आर्थिक समस्या परेपछि ओलीले दमकको घरजग्गा ०५९ सालमा ललितपुरका व्यवसायी श्रीराम केसीलाई २० लाख रुपैयाँमा बिक्री गरेका थिए । जमिनसहितको घर खरिद गरे पनि केसीले उक्त घर प्रधानमन्त्री ओलीलाई नै प्रयोग गर्न दिँदै आएका छन् ।


उक्त घरमा २०५३ देखि दमकका नगर प्रमुख भएका रोमनाथ सपरिवार बस्दै आएका छन् । ०४४ सालमा जेलबाट रिहा भएपछि केपी ओलीले पृथ्वीनगरस्थित आफ्नो घरमा भन्दा पार्टी गतिविधिका क्रममा नेता/कार्यकर्ताकै घरमा बढी समय बिताए । भूमिगत बेला ओलीलाई दमककी तारादेवी ढकालले सेल्टर दिने गर्थिन् । उनकै घरमा बसेर ०४८ को आमनिर्वाचनमा झापा–६ बाट सांसदमा निर्वाचित भएका थिए । ०५१ को मध्यावधि निर्वाचन पनि ओलीले ढकाललगायतकै नेता/कार्यकर्ताको घरमा बसेर लडे । मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएपछि ओली ०५१ मंसिर १४ मा गठन भएको कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको गृहमन्त्री नियुक्त भएका थिए । त्यसपछि भने दमकमा जमिन किनेर घर बनाएका थिए ।


भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री ओलीको घर

अझै पनि झापा आउँदा उनी आफूले बेचेकै घरमा बास बस्छन् । ०५६, ०६४, ०७० र ०७४ को निर्वाचन त्यही घरमै बास बसेर लडे । तर, प्रधानमन्त्री भएपछि भने ओली दमकस्थित निवास पुगेका छैनन् । दमकस्थित ओली निवासलाई दुई वर्षदेखि नेपाल प्रहरी र सशस्त्रले आलोपालो २४ घण्टा सुरक्षा दिँदै आएका छन् । ओली बुवा र भाइ बसेको हिमाली टोलको घरमा भने जाने गरेका छैनन् ।


‘जन्मघरमा बर्थडे’

पुरानो घरको आँगनकै छेउमा आइतबार पहिलो पटक हेलिकप्टर उत्रँदा आठराई–४ इवाका गाउँले प्रधानमन्त्री केपी शर्मा ओली आएका होलान् भनेर नजिक जान खोजे । प्रहरी र सेनाले रोके– होइन यसमा प्रधानमन्त्री हुनुहुन्छ । सेनाको त्यो हेलिकप्टरबाट एउटा बाकस लिएर दुई जना उत्रिए । करिब १:१५ बजे अर्को हेलिकप्टर आयो । यसमा थिए ओली, श्रीमती राधिका शाक्य र पिता मोहनप्रसाद । दलबलसहित केही मिनेट ओली १२ वर्षको छँदा छाडेको घरमा पसे । माथि भकारी, एकातिर तल दाउरोको चुलो र अर्कातिर एउटा पलङ भएको घरमा भित्र धेरैबेर नअडिई आँगनमा आएका ओली दम्पती ग्रहशान्ति पूजामा करिब २० मिनेट सामेल भए ।


तेह्रथुमको आठराईमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घर


ओलीको जन्मघरमा लामो समयदेखि कोही थिएनन् । खानेपानीको समस्या र पहाडको दुःख खेप्न नसकेर इवाबाट एक समय बसाइँ जानेको लर्को लागेको थियो । घर कुरेर बसेका तामाङ परिवार पनि त्यही मेसोमा हिँडेपछि रुङेर बस्न गत सातामात्रै ओलीका नातामा भतिजा पर्ने दम्पती आएका छन् । उनीहरू पुरानो घरसँगैको अर्को नयाँ घरमा बस्छन् । ग्रहशान्तिको विधिपछि ओली र अन्य अतिथि त्यही नयाँ घरमा पसे । चिया–पानी खाए र नजिकै बनाइएको मञ्चमा पुगे । कडा सुरक्षा तैनाथीका बीचबाट भलाकुसारी गर्न गाउँलेहरू ओलीको नजिक जान पाउने अवस्था थिएन । ओलीले पनि दौंतरी खोजेर बोल्न–बोलाउन चासो देखाएनन् ।


ताप्लेजुङको ढुंगेसाँघुसम्म जोडिने ६५ किमि सडकको उनले शिलान्यास र छिमेकी गाउँ पाँचथरको कुम्मायकमा नवनिर्मित लिफ्ट खानेपानी आयोजना उद्घाटन गरे । कार्यक्रममा उनले सरकार विकास निर्माणका काममा ‘आक्रामक रूपले अघि बढिरहेको’ बताए ।

कृषि प्राविधिक शिक्षालय सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भइसकेको भन्दै चालु आर्थिक वर्षभित्र काम अघि बढ्ने बताए । ‘भारी नपुगेर’ कृषि उत्पादनले बजार नपाएको भन्दै ओलीले पर्याप्त मात्रामा इस्कुस, बेमौसमी तरकारी, फलफूललगायत कृषि उपज फलाउन आह्वान गरे । भाषणपछि सुरुको हेलिकप्टरले ल्याएको बाकस मञ्चमा खोलियो । त्यसमा देशको चित्र अंकित ‘बर्थडे केक’ थियो । ओलीले जन्मोत्सवका अवसरमा केक काटे । बुवा र श्रीमती राधिकालाई खुवाए । राधिकाले ओलीलाई खुवाइन् । त्यसपछि मञ्चमा आसीनहरूले ओलीलाई शुभकामना दिए । ओलीले उपहार बाँडे । गाउँले, पार्टीको जिल्ला र विभिन्न कमिटीले ल्याएका ज्ञापनपत्र ग्रहण गरे ।



ओलीले जन्मथलोमै आएर जन्मोत्सव मनाउन पाउँदा हर्षित भएको बताए । आठराई क्षेत्रका चार सय ज्येष्ठ नागरिकलाई न्यानो कपडा र दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरे । घरको अवलोकन गरे । बुवा मोहनप्रसाद र पत्नी राधिकाका साथ जन्मघरको सिकुवाको डिलमा बसेर तस्बिर खिचाए । संक्रान्ति बजारमा पुनःस्थापना गरिएको नेपाल बैंकको शाखाको पनि उद्घाटन गरे । गाउँ–गाउँमा विकासको लहर सरकारले ल्याएको भन्दै प्रधानमन्त्री ओलीले तमोरको पानी तानेर जन्मगाउँमा सिंचाइको व्यवस्था गर्ने आश्वासन दिए । खानेपानी आयोजनाका लागि विद्युतमा सहुलियत दिने बताए ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?