सांसद कर्णको प्रश्‍न : भैँसीको नागरिकता हुँदैन, नेपालभित्र आइसकेपछि इन्डियन भन्‍ने ?

काठमाडौँ — राजपा सांसद लक्ष्मणलाल कर्णले सरकारले ठूला व्यवसायीलाई छुट दिएर सीमा क्षेत्रमा भैँसी व्यवसायीलाई दु:ख दिएको भन्दै आपत्ति जनाएका छन् । 

सांसद कर्णको प्रश्‍न : भैँसीको नागरिकता हुँदैन, नेपालभित्र आइसकेपछि इन्डियन भन्‍ने ?

प्रतिनिधि सभा बुधबारको बैठकमा सांसद कर्णले दुई/चार लाखको काम गर्नेलाई कारबाही गरेर सरकारले सम्पूर्ण कुरा सिध्याउन खोजिएको भन्दै असन्तुष्टि पोखेका हुन् । '२/४ लाखको काम गर्ने साना व्यापारीलाई मार्ने काम नहोस् । यसले सरकारको बदनामी हुन्छ', उनले भने, 'करोडौंको माल ल्याउने व्यक्तिले छुट पाउने र दुई/चार लाखको काम गर्नेलाई कारबाही गरेर सम्पूर्ण कुरा सिध्याइदिन खोजिएको हो ? दुवै मन्‍त्रीले यहाँ (संसद्‍) मा जवाफ दिनु पर्‍यो ।' सांसद कर्णले यस विषयमा गृहमन्‍त्री र अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन् ।


बाराको जितपुर बजार भैँसी सप्लायर्स हुने देशकै ठूलो बजार भएको उल्लेख गर्दै सांसद कर्णले वीरगन्जबाट राजधानीतर्फ लान खोज्दा प्रहरीले समाएर भन्सारमा बुझाइदिने गरेको बताए । 'सबैलाई थाहा छ बाराको जितपुर नेपालकै ठूलो भैँसी बजार । त्यहींबाट देशभर भैँसी सप्लायर्स हुन्छ । पशु क्‍वारेन्टाइनको व्यवस्था कहीं पनि छैन । उनीहरु (व्यापारी) ले त्यहींको पशु चिकित्सालयसँग लेखाएर लान्छ स्वस्थ हो भनेर,' सांसद कर्णले भने, 'विरगन्जदेखि माथि जान्छ र प्रहरीले समाएर भन्सारमा बुझाइदिन्छ । यस किसिमको राज्यको व्यवहारबाट नागरिक त्रसित छ ।'


जितपुर बजारबाट ल्याएको भैँसीलाई भारतीय भनेर व्यापारीलाई दु:ख दिने गरेकोमा सांसद कर्णको आपत्ति छ । 'सभामुख महोदय भैँसीको नागरिकता हुँदैन, भएदेखि देखाइदिन्थे,' उनको प्रश्‍न थियो, 'इन्डियन भैँसी ल्याएर आयो भन्‍ने प्रमाण के त ? इन्डियन भैँसी ल्याएर आको हो भने बोर्डरमा समात । नेपालभित्र आइसकेपछि यो इन्डियन भैँसी हो भन्‍ने ? अनि भन्सारमा बुझाउने ? यस किसिमबाट नागरिक त्रसित छन् । यसो नगर्न म अनुरोध गर्छु ।'


कर्णले नेपाल भित्रिने करोडौंको ल्वाङ, मरिच, केराउ दाना, छोकडालगायतमा पनि सरकारले कडाई गर्दा सीमा क्षेत्रको बजार ठप्प भएको बताए । उनले सीमा क्षेत्रको २५ किलोमिटर भित्र पुगेपछि प्रहरीले समाए पनि मुचुल्का बनाउँदा बोर्डरमै समाएको भनेर बनाइ राज्यले झुठो बोलिरहेकोमा आपत्ति जनाए । सीमा क्षेत्रमा व्यापारीलाई समाएर कमिसनको खेल भइरहेको सांसद कर्णको आरोप थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : माघ २९, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?