कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भेडा झरे औल

हरि गौतम, छपाल लामा

(रुकुम पश्चिम) र (हुम्ला) — केही दिनयता मध्यपहाडी लोकमार्गको दायाँबायाँ रोकिने गाडीको संख्या धेरै छ । लेक डुल्ने भेडा र गोठालासँग भलाकुसारी गर्न र फोटो खिच्ने यात्रुका कारण सवारीसाधन रोकिन्छन् ।

भेडा झरे औल

लगातारको हिमपात र चिसो बढेसँगै भेडा औलतिर झर्न थालेका छन् । लोकमार्गको साँख–रिनदह खण्डमा दुई सातायता भेडा हेर्ने र भेडाको फोटो खिच्नेको हुल नै छ । बिहान ११ बजे र बेलुकी ५ बजे आसपासको समय भने भेडाको बथान हिँड्दा हुलले नै सडक ढाक्छन् । चर्न जाँदा र फर्कंदा मध्यपहाडी लोकमार्ग भएरै भेडा हिँडाइने भएकाले भेडाको बथान नसकिएसम्म सवारीसाधन रोकिनैपर्छ । सवारी आवागमन नै ठप्प पार्ने गरी हिँड्ने भेडाको बथानले दिनमा दुईपटक झन्डै एक किलोमिटर यात्रा गर्छ ।


भेडा चढ्ने लेकका बुकीमा चिसो बढ्दै जाँदा गोठाला बथानसहित औल झर्छन् । घरदेखि बुकी चर्दै मुसिकोट नगरपालिकाको ७ र ८ नम्बर वडामा पुग्ने उनीहरूलाई ठ्याक्कै दुई महिना लाग्छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११, सेराका पाँच परिवार झन्डै चार सय भेडासहित रिनदह र बैरीदहमा घाम ताप्दै दिन गुजार्दैछन् । खुला ठाउँमा पाल टाँगेर पाँच जनाको परिवार भेडीगोठ रुङेर बसिरहेको छ । भेडालाई चिसोबाट बचाउन र न्यानो ठाउँ खोज्न उनीहरू बर्सेनि औल झर्छन् । डेढदेखि दुई महिना औल चरन गरेपछि लामो समय लगाएर घर हुँदै बुकी उक्लिन्छन् ।

सेराका करबहादुर बुढा, रामप्रसाद बुढा, कृष्णबहादुर बुढा, जसबहादुर बुढा र वीरमान बुढा आफ्नो परिवार, भेडा र कुकुरसँगै लिएर औल झरेका छन् । पाँच जिल्लाका लेकमा भेडा चराउँदै बर्सेनि हिँड्ने गरेको करबहादुरले बताए । उनीहरू भेडा चराउँदै रुकुम पूर्व, म्याग्दी, बागलुङ, रोल्पा र रुकुम पश्चिमका विभिन्न लेक छिचोल्छन् । कात्तिक पहिलो साता भेडा औल झार्न हिँडेका उनीहरू पुस महिनाको अन्तिम साता रुकुम पश्चिमको नौबहिनी र गर्पाधुरी पुगेका थिए । विभिन्न ठाउँमा बस्दै चराउँदै उनीहरू उही बाटो भएर बुकी उक्लन्छन् । ‘तातो सर्दै गएपछि हामी पनि लेक सर्दै जान्छौं,’ उनले भने, ‘फागुन महिनामा यहाँबाट बुकीका लागि हिँड्ने गरेका छौं ।’ अहिले धेरै ठाउँ चरन क्षेत्र हिउँले ढाकेका छन् ।


पछिल्लो समय चरन क्षेत्र साँघुरिँदै गएको कृष्णबहादुरको गुनासो छ । सामुदायिक, राष्ट्रिय तथा निजी वनमा पशु चराउन कडिकडाउ हुनु र सडक सञ्जाल जोडिनुजस्ता कारणले चरनक्षेत्र साँघुरिएको हो । केही वर्षअघिसम्म उनीहरू सल्यान र दाङसम्म भेडा लिएर पुग्थे । ‘लेकमा चिसो बढ्दै जाँदा औल झर्ने निहुँले दाङ पुगेर च्याङ्ग्रामा नुन र चामल बोकेर ल्याउँथ्यौं,’ उनले भने, ‘अब सडकले नुन र चामल गाउँमा पुर्‍यायो, त्यसैले अहिले उता जान छाड्यौं ।’ पछिल्लो समय भेडापालकसँग सामुदायिक वनले शुल्क लिन थालेको छ ।


एक महिनाका लागि सामुदायिक वनले उनीहरूबाट ४७ हजार रुपैयाँ लिएको छ । ‘भेडापालनका लागि चरन क्षेत्र चाहिन्छ नै, त्यसका लागि लेक र औल गर्नैपर्छ,’ जसबहादुरले गुनासो गरे, ‘सबैतिर बन्देज लाग्दा भेडा पाल्न सकस भयो ।’ सामान्यतया: एउटा भेडापालक किसानले वर्षमा २ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । भेडा र ऊन बिक्रीबाट आम्दानी भइरहेको उनले बताए । दसैंतिहारमा म्याग्दी र बागलुङका बासिन्दा भेडा किन्न आउने गरेका छन् । एउटा भेडा ८ हजारदेखि २१ हजारसम्म बिक्री हुने गरेको छ ।


यसपटक लामो समयदेखिको हिउँ नपग्लँदा हुम्लामा घरपालुवा पशुचौपाया र वन्यजन्तुलाई चरिचरनमा समस्या भएको छ । हिमपातले लेकाली क्षेत्रका विभिन्न वनका नाउर, घोरल, थार, मृगलगायत वन्यजन्तुलाई चरिचरनमा समस्या भएको हो । हिउँका कारण लोपोन्मुख वन्यजन्तु बढी समस्यामा परेको डिभिजन वन कार्यालयका रेञ्जर सन्डप लामाले बताए । हिमपातको असर सबैभन्दा बढी नाम्खा गाउँपालिकामा देखिएको छ । ‘घरपालुवा जनावरले कम्तीमा न्यानो ओत पाएका छन्,’ उनले भने, ‘नाउर, थार, झारललगायत वन्यजन्तु खानेकुरा नपाउँदा पाटनमै अलपत्र परेको खबर आएको छ ।’ वन क्षेत्रमा बाक्लो हिउँ जमेपछि किसानलाई गाई, चौंरीलगायत पशुचौपाया चराउन समस्या भएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । हुम्लामा यो वर्ष ६ पटक भारी हिमपात भइसकेको छ ।

प्रकाशित : माघ ११, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?