फोन ट्यापिङ प्रावधान हटाउन संशोधन, कुन विधेयक कस्ता ?

‘ऐनको अधीनमा बन्ने निर्देशिका र कार्यविधि सार्वजनिक गर्न नहुने व्यवस्था’ खारेज गर्न माग 

पुस २४, २०७६

विद्या राई, जयसिंह महरा

काठमाडौँ — नागरिकको कुराकानी सोझै रेकर्ड गर्न पाउने अधिकार गुप्तचर निकायलाई दिन नहुने प्रस्तावसहित सांसदहरूले नेपाल विशेष सेवाको गठन सञ्चालनसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयकमा संशोधन दर्ता गराएका छन् । सत्तारूढ नेकपाकी सांसद विमला राई पौड्याल र प्रतिपक्ष कांग्रेस सांसदहरू राधेश्याम अधिकारी, सरिता प्रसाईं, प्रकाश पन्थ र धनकुमारी खतिवडा तथा समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले अदालतको अनुमतिमा मात्र फोन ट्यापिङ गर्न पाउने व्यवस्थाका लागि छुट्टाछुट्टै संशोधन दर्ता गरेका हुन् ।

राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई बलियो बनाउन भनी ल्याइएको उक्त विधेयक राष्ट्रिय सभामा छ । विधेयकमा राअवि (गुप्तचर) ले संदिग्ध र निगरानीमा रहेका व्यक्ति, संघसंस्थाबाट सार्वजनिक सञ्चार माध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृश्य वा विद्युतीय संकेत वा विवरण निगरानी, अनुगमन र इन्टरसेप्सन गर्न तथा अभिलेख गर्न सक्ने व्यवस्था गरिएको छ । विधेयकको दफा १० मा सूचना संकलनका लागि अनुसन्धान विभागका अधिकृतहरूलाई संदिग्ध लागेका व्यक्तिहरूको कम्प्युटर, टेलिफोन, मोबाइल फोन, इन्टरनेट वा दूरसञ्चारसम्बन्धी विवरण, संकेत वा सूचना लिने र ती विवरण सम्बन्धित सेवा प्रदायकबाट पनि लिन पाउने व्यवस्था छ ।


विधेयकका यी व्यवस्थाले जोसुकैको पनि टेलिफोन रेकर्ड हुन सक्ने, गोपनीयता भंग हुने भन्दै प्रमुख प्रतिपक्ष कांग्रेस, मानव अधिकारवादी, अधिकारकर्मी तथा सरोकारवालाले विरोध गरिरहेका छन् । राष्ट्रिय सभामा पेस भएर छलफल र संशोधनका लागि संसदीय समितिमा पुगेको उक्त विधेयकमा ‘नेपाली नागरिकका हकमा सूचना संकलन तथा प्रतिगुप्तचरी क्रियाकलापका सिलसिलामा अदालतको अनुमति नलिई इन्टरसेप्सन गर्न पाइने छैन’ भन्ने व्यहोरा राख्नुपर्ने संशोधनकर्ताहरूको माग छ । सांसदहरूले यस्तो सूचना सार्वजनिक गर्ने गुप्तचर अधिकारीलाई १० वर्षदेखि जन्मकैदको सजाय गर्नुपर्ने प्रस्ताव गरेका छन् । 


सत्तारूढ नेकपाका सांसद रामनारायण बिडारीले भने सञ्चार सञ्जाललाई अनुगमन वा निगरानी गरी आवश्यकताअनुसार विषयवस्तु प्राप्त गर्ने ‘इन्टरसेप्सन’ कार्य गुप्तचर निकायको अधिकार रहेको संशोधनमा उल्लेख गरेका छन् । उनले संदिग्ध र आवश्यकताअनुसार भन्ने शब्द विधेयकमा आवश्यक नरहेकाले संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् । कानुनको अधीनमा रही राअविले प्रतिगुप्तचरी कार्य गर्नुपर्ने उनको संशोधन प्रस्तावमा छ । राअविले गोप्य अभियान सञ्चालन गर्न तथा सूत्र परिचालन गर्न छुट्टै कार्यविधि बनाउने भन्ने विधेयकको प्रस्ताव हटाउनुपर्ने संशोधनमा उल्लेख छ ।


सत्तारूढ नेकपाकै सांसद बिमला राईले भने सरकारले प्रस्ताव गरेको व्यवस्था यथावत् राख्नुपर्ने तर्क गरेकी छन् । राअविले गरेका काम चित्त नबुझ्ने व्यक्तिलाई अदालत जाने बाटो खुला गरिदिनुपर्ने प्रस्ताव उनको छ । ‘आफ्ना व्यक्तिगत सूचना संकलन भएकामा र विधिबारे चित्त नबुझे वा सूचना संकलन व्यक्ति वा निकायबाट दुरुपयोग भएको लागे अदालतमा उजुरी गर्न यो दफाले बाधा पुर्‍याउने छैन,’ उनले प्रस्तावमा उल्लेख गरेकी छन् । 


राअविका कर्मचारी परिचयपत्र देखाएर कसैको कार्यालय, घर, सवारी साधनमा प्रवेश पाउने व्यवस्था खारेज गर्नुपर्ने अधिकारीलगायतका सांसदहरूको प्रस्ताव छ । विधेयकमा कसैले राअविका कर्मचारीले चाहेको स्थानमा पूर्वजानकारी पाएर पनि प्रवेश गर्न नदिए प्रधानमन्त्री वा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउन सक्ने व्यवस्था छ । कानुनी रीत पुर्‍याएर मात्रै कसैको घर, भवन, सवारी वा अन्य सम्पत्तिमा प्रवेश पाउने व्यवस्था राख्नुपर्ने सांसद बिडारीको प्रस्ताव छ । सांसद बिमला राई पौड्यालले ऐनको अधीनमा रही बनाइएका नियमहरू सार्वजनिक गर्नुपर्ने भन्दै विधेयकको दफा १०७ हटाउन प्रस्ताव गरेकी छन् । ऐनको अधीनमा बन्ने निर्देशिका र कार्यविधि सार्वजनिक गर्न नहुने व्यवस्था विधेयक छ । बिडारी, प्रमिलाकुमारी, अधिकारी, प्रसाईं, पन्थ, खतिवडाले पनि ऐनको अधीनमा रहेर निर्माण गरिने निर्देशिका र कार्यविधि सार्वजनिक भएपछि मात्रै कार्यान्वयन हुनुपर्ने कानुनी प्रावधान भएकाले उक्त दफा हटाउनुपर्ने संशोधनमा उल्लेख गरेका छन् ।


‘जस्केलाबाट कानुनको कुठाराघात’

सूचना आयोगका निवर्तमान प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले संवैधानिक प्रावधानका कारण सार्वजनिक सरोकारका विषयमा नागरिकले सूचना पाउन कठिनाइ रहेको बताएका छन् । 

‘संवैधानिक व्यवस्थाकै कारण गलत नियतका सार्वजनिक निकायका अधिकारी र सूचना अधिकारीलाई नागरिकलाई सूचना दिन अनुदार बन्न बल पुगेको छ,’ बुधबार प्रमुख आयुक्त/आयुक्तहरूले पाँचवर्षे कार्यकालबाट अवकाश लिँदै गर्दा आयोगद्वारा राजधानीमा आयोजित कार्यक्रममा उनले भने । आयोगले संविधान संशोधन गरी सूचनाको हकसम्बन्धी धारामा रहेका कमजोरी परिमार्जन गर्न सरकारसमक्ष प्रस्ताव गरेको जानकारी दिँदै उनले त्यसमा सुनुवाइ नभएको गुनासो पनि गरे । 


‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ,’ संविधानको मौलिक हकअन्तर्गत धारा २७ मा लेखिएको छ । सोही धारामा ‘कानुनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन,’ भन्ने उल्लेख छ । 


‘संविधानको उक्त धारा परिमार्जन गर्न सुझाव पेस गर्दा पनि सरकारले नसुनेझैं गरेर जस्केलाबाट कानुनको कुठाराघात गरिरहेको छ,’ उनले भने । निवर्तमान प्रमुख आयुक्त बाँस्कोटा, निवर्तमान सूचना आयुक्तद्वय किरणकुमार पोखरेल तथा यशोदादेवी तिम्सिनाले आफ्नो पाँचवर्षे कार्यकालमा संविधानको धारा परिमार्जनसँगै इमेलबाट पनि सूचना माग्न र पाउन सकिने प्रावधान राख्न सरकारलाई सुझाव दिएका छन् । आयोगबाट अवकाश लिँदै गर्दा तीनै आयुक्तले संयुक्त रूपमा सरकारलाई सुझाव पेस गरेका छन् । आयोगलाई संवैधानिक बनाउन, प्रादेशिक सूचना आयोग गठन गर्न, सूचनादाताको संरक्षणसम्बन्धी कानुन बनाउन र कर्मचारीको बढुवामा खुला कार्यशैलीलाई अंक दिने व्यवस्था गर्न सरकारलाई सुझाव दिएका हुन् । 


पाँच वर्षमा ५६ सय आदेश

उनीहरूको कार्यकाललाई सूचना आयोगको सबैभन्दा सक्रिय कार्यकाल मानिएको छ । पाँचवर्षे कार्यकालमा १ सय ७५ बैठक गरे भने राजनीतिक दल, सरकारका सचिवहरू, बैंक तथा बिमा कम्पनी, सार्वजनिक संस्था, अन्तर्राष्ट्रिय संघसंस्था, प्रदेश र स्थानीय तहका नाममा ५ हजार ६ सय ३ आदेश जारी गरेका थिए । पहिलो वर्ष आव २०७१/७२ मा ७ सय ७७ पुनरावेदन परेकामा ९८ प्रतिशत फर्छ्योट गरेका थिए । कार्यकाल सकिएको वर्ष ०७५/७६ सम्म आइपुग्दा पुनरावेदनको संख्या बढेर १ हजार ४४ पुगेको थियो । शतप्रतिशत फर्छ्योट गरेका छन् ।


कुन विधेयक कस्ता ?

१. शान्ति र सुरक्षा कायम गर्ने विधेयक 


२. राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक 

३.राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक  


४.सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 


५.मिडिया काउन्सिल विधेयक  


६.विज्ञापन विधेयक


७.नेपाल विशेष सेवा विधेयक  

विद्या विद्या राई कान्तिपुरकी संवाददाता हुन् । उनी जलवायु र लैगिंकता, मानवअधिकारलगायत सामाजिक मामिला सम्बन्धी विषयमा समाचार तथा लेख लेख्छिन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully