१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रोहिंग्यालाई हट्न हप्ता दिनको म्याद

नगेन्द्र अधिकारी

काभ्रे — म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले ७ दिनको समय दिएका छन् । मंसिर १० गते कुशादेवी झरेका उनीहरुले २३ परिवारका लागि छुट्टाछुट्टै टहरा बनाए पनि जग्गाधनी सत्यराम थापाले हट्न निर्देशन दिएका हुन् । 

रोहिंग्यालाई हट्न हप्ता दिनको म्याद

शरणार्थी हुन् भन्ने आएको ३ दिनपछि मात्रै थाहा पायौं, काम गर्न अनुमति नभएको र नेपालले शरणार्थी स्वीकार नगरेको थाहा पाएपछि हट्न भनिसकेका छौं ।’ सत्यरामको भनाई उद्धत गर्दै उनका भतिजा रामेश्वरले भने । त्रिवीका एक प्राध्यापकमार्फत रोहिंग्याहरु सत्यरामको सम्पर्कमा पुगेका थिए । खाली रहेको जग्गा भाडामा लागेर पैसा आउने भएपछि बस्न अनुमति दिएको सत्यरामका भतिजा रामेश्वरले बताए ।

रोहिंग्याका टोली नेता महोम्मद युसुफले टहरा निर्माणको लागि ६ लाखभन्दा बढी खर्च भइसकेको भन्दै बस्ने अर्को विकल्प पनि नभएको बताए । ‘यतिका संरचना बनाइसक्यौं, अहिले केके कुराले अप्ठ्यारो भयो भनेर हट्न भन्न थाल्नुभएको छ,’ युसुफले भने, ‘आफ्नो देश हैन, आफ्नो ठाउँ हैन, कहाँ जाने, के खाने केही टुंगो छैन ।’

नेपालले शरणार्थी मान्यता नदिए पनि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर)बाट शरणार्थी प्रमाणित उनीहरु काम नपाउने भएपछि अप्ठ्यारोमा परेको बताउँछन् । ‘युनएनएचसीआरले भत्ता दिन पनि छोड्यो, काम गर्न पनि दिँदैन, नेपाली जनताले काम त दिएका छन्, जसरी पनि आफ्नो पेट त पाल्नुपर्यो’ युसुफले भने, ‘बस्न र काम गर्न पनि नदिने हो भने युएनएचसिआरको गेटमा गएर धर्ना दिन्छौं ।’

शरणार्थी सम्बन्धी उच्च आयोगले सन् २०१५ सम्म प्रति परिवारका सदस्य ५ हजार ७ सय ५०, प्रति महिला ३ हजार ७ सय ५० र प्रति बालबालिका २ हजार ७ सय ५० भत्ताबापत दिने गरेको थियो । उक्त सुविधा रोकिएपछि रोहिंग्याहरु अवधै रुपमा काम गर्दै आएका छन् । कुशादेवीमा ९० जना अट्ने गरी संरचना निर्माण भएको छ । युसुफले हालसम्म ६ लाख भन्दा बढी खर्च भइसकेको बताए । कपनको लसुनटारबाट सरेर कुशादेवीमा बस्न थालेका उनीहरुले प्रति परिवार ७० हजार उठाएका थिए । ३४ मध्ये १३ पुरुष, ९ महिला र १२ बालबालिका छन् ।

याे पनि पढ्नुहाेस् → पनौतीमा पनि रोहिंग्या

प्रकाशित : मंसिर २७, २०७६ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?