नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं : प्रधानमन्त्री ओली

मंसिर १, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने बताएका छन् । भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने मात्र नभई प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने बताएका हुन् । 

नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरे । कतिपयले नक्सा सच्चाउन भनेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा सच्याउने मात्रै नभई अतिक्रमित भूमि फिर्ता ल्याउने बताए ।

‘अहिलेको सरकार संवाद गर्न नसक्ने होइन । इतिहासले देखाइसकेको छ । सरकारले संवादको माध्यमबाट सीमा समस्या समाधान गर्छ । कतिपयले नक्सा सच्याउन भनेका छन् तर त्यो समाधान होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘भूमि फिर्ता लिने कुरा हो । नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं ।’

उनले नेपालको जमिनबाट भारतिय सेना फिर्ता लैजान भन्दै नेपाली भूमिमा सेना राख्ने पनि बताए । ‘हामी हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् भन्छौं र त्यहाँ हाम्रो सेना राख्छौं,’ प्रधानमन्त्रीले भने, ‘हामी विश्व शान्तिमा लागेका छौं । शान्ति सेनामा सेना पठाएर । अरुको रक्षा गर्न सक्नेले आफ्नो पनि सक्छ ।’ 


केही समय अघि भारतले जारी गरेको राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेपछि नेपालमा भारतको विरोध भइरहेको छ ।



भारतको नयाँ नक्सा

कान्तिपुर

Link copied successfully