ग्राण्डी अस्पतालले भन्यो, 'प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य' [अपडेट]- समाचार - कान्तिपुर समाचार

ग्राण्डी अस्पतालले भन्यो, 'प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य' [अपडेट]

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल गएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

अस्पतालले बुधबार बेलुका प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको स्वास्थ्यबारे आवश्यक परीक्षणहरु पूरा भएपछि आज राति वा भोलिसम्ममा उनी निवास फर्कने जनाएको हो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ‘आत्तिनुपर्ने कुरा केही छैन, सबै ढुक्क भए हुन्छ, उहाँलाई एकदम राम्रो छ, खाना खाइरहनुभएको छ, आराम गरिरहनुभएको छ’ भने ।

पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै डाइरेक्टर डा पाण्डेले भने, “प्रधानमन्त्रीको उपचार गर्ने मुख्य डाक्टरमा प्राडा दिव्या सिंह शाह हुनुहुन्छ, हरेक परीक्षणको नतिजाहरु आएपछि त्यसलाई डाक्टरको टिमले विश्लेषण गर्नेछ, प्रधानमन्त्रीको स्वास्थ्य भनेको देशका लागि जिज्ञासाको विषय हो, आत्तिनुपर्ने छैन, उहाँको अवस्था सामान्य छ ।”

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्नका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल लगायतका नेता तथा मन्त्रीहरु अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री ओली गत भदौमा सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस)बाट उपचार गरी स्वदेश फर्किएका थिए ।



...............

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल लगिएको छ । ग्राण्डी अस्पतालले भने यसबारे कुनै औपचारिक जानकारी दिएको छैन ।

'अस्पतालको निर्देशकका रुपमा मेरो पहिलो काम भनेको बिरामीको उपचार हो । प्रधानमन्त्रीको सचिवालयले औपचारिक रुपमा जानकारी दिनका लागि मलाई आग्रह नगरेसम्म मैले केही पनि भन्न मिल्दैन । मेरो बाध्यता बुझिदिनुस्,' ग्राण्डीका निर्देशक डा. चक्रराज पाण्डेले फोनमा भने । उनले प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि त्यहाँ पुगेको जानकारीलाई पनि औपचारिक रुपमा पुष्टि गर्न मानेनन् ।

अस्पताल उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखेर विभिन्न परीक्षण र उपचार भइरहेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उनलाई नियमित स्वास्थ्य परीक्षणका लागि मात्रै बिहान ९ बजे अस्पताल लगिएको हो । 'उहाँ परीक्षणका रिपोर्ट आएपछि बालुवाटार फर्कनु हुन्छ,' उनले भने ।

प्रधानमन्त्री ओलीले पछिल्लोपटक भाद्र ५ गते सिंगापुर गएर त्यहाँ दुई साता बसेर प्लाज्माफेरेसिस गराई भाद्र २० गते स्वदेश फर्किएका थिए ।

सुरुमा प्रधानमन्त्री ओलीको साउन १० गते शुक्रबार सैनिक अस्पताल छाउनीमा नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो । रेनल बायोप्सीको रिपोर्टकै आधारमा उनलाई थप परीक्षण र उपचारका लागि सिंगापुर लैजाने निर्णय भएको थियो ।


रेनल बायोप्सी मिर्गौला प्रत्यारोपण गरिएको मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गर्न गरिन्छ । यसको परीक्षण मिर्गौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिए पनि गरिन्छ । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको प्रत्यारोपणलगत्तै पनि यस्तो बायोप्सी गरिन्छ ।


प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो । ६ वर्षअघि उनको हातमा संक्रमण भएको थियो । निकै लामो समय उपचार गरेर निको भएको थियो । उनले दिल्ली र थाइल्यान्ड गएर उपचार गरेका थिए । त्यसपछि उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए ।


गत वर्ष प्रधानमन्त्रीको शपथ लिनु केही दिनअघि बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेसनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।



प्रकाशित : कार्तिक १३, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्

दुर्घटनामा बालिकाको मृत्यु

कान्तिपुर संवाददाता

दोलखा — भीमेश्वर नगरपालिका—२ स्थित सुक्लामा बलेरो गाडी दुर्घटना हुँदा नौ वर्षीया बालिका रोशनी वलीको मृत्यू भएको छ ।


सदरमुकाम चरिकोटतर्फ आइरहेको बा१४च ४६७ नम्बरको बलेरो गाडी बुधबार बिहान ८ बजेतिर दुर्घटना भएको प्रहरी नायव उपरिक्षक मानबहादुर राईंले बताए । बलेरोमा सवार नौ जनामध्ये पाँच जना घाइते छन् ।

प्रहरीका अनुसार घाइतेहरु ३५ बर्षिय भोवहादुर वली, ३० दुर्गा वली, पाँच वर्षिय रोहन वली, ३७ बर्षिय रञ्जनी तामाङ र ३५ बर्षि चालक मनु तामाङको चरिकोट अस्पतालमा उपचार भैरहेको छ । बलेरो सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दोलखा बजारबाट नागदहसम्म कच्ची र अप्ठेरो सडकका कारण उक्त क्षेत्रका बासिन्दा सधैं जोखिम यात्रा गर्न बाध्य छन् ।

प्रकाशित : कार्तिक १३, २०७६ ११:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×