कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

मलेसिया रोजगारको गाँठो फुक्यो, स्वास्थ्य संस्थाको निरीक्षण गर्न मलेसियाली टोली नोभेम्बरमा आउने सहमति

भाद्र २६, २०७६
मलेसिया रोजगारको गाँठो फुक्यो, स्वास्थ्य संस्थाको निरीक्षण गर्न मलेसियाली टोली नोभेम्बरमा आउने सहमति

Highlights

  • मापदण्डमा उत्तीर्णलाई बायोमेडिकल प्रणालीमा समावेश गर्छौ : मलेसिया
  • मलेसिया अबिलम्ब खुल्छ : श्रम मन्त्री

काठमाडौँ — नेपाल सरकारद्वारा सूचीकृत एकसय २२ मध्ये ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्न आगामी नोभेम्बरको पहिलो साता टोली पठाउन मलेसिया सरकार सहमत भएको छ । यसअघि बायोमेडिकल प्रणालीमा समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाहरुको भने निरीक्षण हुने छैन । दुई महिनाअघि मात्रै मलेसिया सरकारको वार्षिक निरीक्षणमा पास भइसकेकोले उनीहरुले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने बाटो खुल्ला भएको छ ।

मलेसियाको पुत्राजयमा नेपाल र मलेसियाका उच्च अधिकारीबीच बिहीबार दिउँसो सम्पन्न संयुक्त कार्यदलको बैठकमा यस्तो सहमति भएको हो । बैठक तीन दिनसम्म चलेको थियो । सहमतिमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । बैठकको नेतृत्व नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वरिष्ठ सह-सचिव रामप्रसाद घिमिरेले गरेका थिए । बैठकमा परराष्ट्र र कानुन मन्त्रालयका उच्च अधिकारीको पनि सहभागिता थियो ।


सहमति पत्रमा मलेसियाको मावन संशाधन नीति विभागका प्रमुख बेट्टी हसन र नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव घिमरेबीच हस्ताक्षर भएको हो ।


‘मलेसियाबाट आउने निरीक्षण टोलीले सूचीकृत नयाँ स्वास्थ्य संस्थाको निरीक्षण गर्नेछ । निरीक्षणमा पास हुने स्वास्थ्य संस्थालाई मात्रै बायोमेडिकल प्रणालीमा समावेश गर्नेछ,’ बैठकमा सहभागी एक अधिकारीले मलेसियाबाट कान्तिपुरलाई भने, ‘पहिलेदेखि नै बायोमेडिकल सुरु भएको संस्थाले काम सुरु गर्न पाउनेछ । मलेसिया सरकारको स्थापित मापदण्ड पुग्नेलाई छनोट गर्नेछ ।’


बैठकमा नेपाली टोलीले स्वास्थ्य मापदण्ड पुर्‍याउने संस्थालाई बायोमेडिकलमा सहभागी हुनेपर्ने अडान राखेका थिए । ‘कतिवटा संस्थाहरु छानिनेछ । त्यो सरकारको विषय होइन । विधि अनुसार स्वास्थ्य संस्थाको छनोट हुनुपर्छ,’ बैठकमा नेपाली पक्षले राखेको भनाई उद्धृत गर्दै ती अधिकारीले भने, ‘मापदण्ड पुग्नेले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्छ ।’


मलेसियाले सुरुमा तत्कालको लागि ३६ वटा स्वास्थ्य संस्थाहरु नै प्रर्याप्त भएको भन्दै आवश्यकता अनुसार थप गर्दै जाने अडान राखेको थियो ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियाको गतिरोध अबिलम्ब सुचारु हुने प्रतिक्रिया दिए । ‘मलेसियाको रोजगारीलाई सुचारु गर्ने वातावरण बनेको छ,' उनले भने, ‘श्रम समझदारी अनुसार अब चाँडै नेपालीहरु कामको लागि मलेसिया जान पाउनेछन् ।’

प्रकाशित : भाद्र २६, २०७६ १४:३३
x
×