नेतृत्व होडमा फरक अनुहार

भाद्र २४, २०७४

रवीन्द्र उप्रेती, अवधेश झा

महोत्तरी/राजविराज — स्थानीय तह चुनावका लागि बुधबार भएको मनोनयनमा राजनीतिकर्मी मात्र नभएर विभिन्न पेसाव्यवसायका व्यक्तिले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

सभासदका उम्मेदवार, पूर्वगाविस अध्यक्ष, प्रजातन्त्र सेनानीदेखि पत्रकार र व्यवसायी पनि स्थानीय तहको नेतृत्व गर्ने दौडमा छन् । 

महोत्तरीमै सबैभन्दा बढी मतदाता रहेको बर्दिवास नगरमा प्रमुख पदका लागि कांग्रेसबाट प्रह्लाद क्षत्री उम्मेदवार छन् । एमालेबाट सुरेश राउत र माओवादी केन्द्रबाट विदुर कार्कीसमेत ८ जना मेयरमा भिड्दै छन् । कार्की २०५४ को चुनावमा तत्कालीन किसान गाविसको अध्यक्ष पदमा जनमोर्चाबाट चुनिएका थिए । मनोनयनको अन्तिम समयमा औरही नगरपालिकामा माओवादीका तर्फबाट प्रमुख पदको उम्मेदवार बनेका नरेन्द्र यादव राजपाको जिल्ला अध्यक्ष मण्डलका सदस्य थिए । ०५४ को स्थानीय चुनावमा यादव कांग्रेसबाट तत्कालीन औरही गाविसका अध्यक्ष पदमा विजयी भएका थिए । गौशाला नगरपालिकामा कांग्रेसका मनु अधिकारी पहिलोपटक निर्वाचनमा होमिएका छन् । ०३४ सालदेखि नेविसंघ हुँदै राजनीतिमा लागेका उनी लोकतन्त्र स्थापनाको आन्दोलनमा जेलनेल र यातना खेप्दै आए पनि कुनै पद नलिएकाले कांग्रेस वृत्तमा त्यागी नेता मानिन्छन् । गौशालामा एमालेले पद्मप्रसाद सुवेदीलाई टिकट दिएको छ । उनी यसअघि ०४७ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन क्षेत्र नं ५ बाट संसदीय चुनावमा उठेका थिए । माओवादी केन्द्रले शिवनाथ महतोलाई मेयर उम्मेदवार बनाएको छ । राजपाले युवा कार्यकर्ता भोला मण्डललाई टिकट दिएको छ । उनकै गाउँ निगौलबाट संघीय समाजवादी फोरमले महिला प्रत्यासी रामकुमारी महतोलाई मेयर उठाएको छ । जलेश्वर नगरपालिकाबाट प्रमुख पदमा कांग्रेसबाट अशोक साह उम्मेदवार छन् । राजपाले शंकार शाहीलाई टिकट दिएको छ । त्यस्तै माओवादी केन्द्रले प्रमुख पदको टिकट दिएका कौशलेन्द्र शर्मा तत्कालीन जिविसको इलाका सदस्यमा निर्वाचित थिए । 

पत्रकार पनि उम्मेदवार
पत्रकारिता क्रियाशील हरिप्रसाद मण्डलसमेत चुनावी प्रतिस्पर्धामा होमिएका छन् । मण्डल लगातार ३ चरण ९ वर्षसम्म पत्रकार महासंघ महोत्तरी शाखाको अध्यक्ष भएका व्यक्ति हुन् । यसपटक उनी राजपाका तर्फबाट मटिहानी नगरपालिकाको प्रमुख पदका उम्मेदवार हुन् । यसअघि शरतसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट दोस्रो संविधानसभा निर्वाचनमा सभासद पदमा उठेका थिए । अर्का पत्रकार वैधनाथ चौधरी पनि उम्मेदवार बनेका छन् । गोरखापत्रको संवाददता हुँदै अहिले लोकपुकार साप्ताहिकमा लेख्दै आएका चौधरी पत्रकार महासंघ महोत्तरीका सल्लाहकार हुन् । उनले नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट पिपरा गाउँपालिका–७ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । त्यस्तै, ००७ सालको क्रान्तिका योद्धा ९० वर्षीय रामरतन मिश्रले कांग्रेसको टिकटमा वडासदस्य पदमा उम्मेदवारी दिएका छन् । लामो समयदेखिको पार्टीप्रति समर्पित भए पनि सामान्य पदमा टिकट दिएकोमा कुनै दुखेसो नरहेको उनले बताए । 

पूर्वमन्त्री र व्यवसायी पनि
सप्तरीमा पूर्वमन्त्रीदेखि पत्रकार र सर्वसाधारणसम्म उम्मेदवार बनेका छन् । सदरमुकाम राजविराज नगरको प्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवार भएका अनिस अन्सारी पूर्वसहायक मन्त्री हुन् । गजेन्द्रनारायण सिंह आपूर्तिमन्त्री हुँदा उनी आपूर्ति सहायक मन्त्री थिए । सिंहले स्थापना गरेको सद्भावना पार्टीका संस्थापक नेता अन्सारी साताअघि मात्र जनकपुर गएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हातबाट पार्टी सदस्यता लिएका थिए । उनी सद्भावनाबाट कांग्रेस, तमलोपा हुँदै माओवादी भित्रिएका हुन् । विगतमा कांग्रेसको टिकटबाट उनी सप्तरी क्षेत्र नम्बर ३ का सांसद उम्मेदवारसमेत भएका थिए । 

राजविराजको मेयरमा कांग्रेसका उम्मेदवार धु्रव देव गैरसरकारी क्षेत्रमा पनि सक्रिय छन् । संघीय समाजवादी फोरम नेपालका तर्फबाट प्रमुखको उम्मेदवार भएका भीमराज यादव राजनीतिसँगै ठेक्कापट्टा र व्यापारसमेत गर्छन् । सद्भावना पार्टीबाट लामो समय राजनीति गरेका यादव जिविसका इलाका सदस्यसमेत भएका थिए । यादव दोस्रो चरणको निर्वाचनताका राजपा परित्याग गरी फोरममा प्रवेश गरेका थिए ।

एमाले उम्मेदवार सुखराम यादव राजनीतिसँगै सहकारी र पत्रकारितामा सक्रिय छन् । दोस्रो चरणको चुनावअघि उनी एमालेमा प्रवेश गरी प्रमुखको उम्मेदवार भएका छन् । 

यस्तै राजपाबाट मेयर उम्मेदवार शम्भु यादव राजनीतिसँगै ठेक्कापट्टा र व्यापार पनि गर्छन् । उनी सद्भावना हुँदै राजपामा क्रियाशील छन् । राजविराज नगरका अर्का प्रमुख उम्मेदवार शैलेश चौधरी फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष हुन् । गजेन्द्रनारायण सिंहले स्थापना गरेको सद्भावना पार्टीका संस्थापकमध्येका चौधरी एमाले प्रवेश गरेका थिए । केही वर्षअघि फोरम लोकतान्त्रिकमा आएका चौधरी राजविराज नगरपालिकाको प्रमुख भइसकेका छन् । चौधरी नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्षसमेत हुन् । नगरप्रमुखमा ३ स्वतन्त्रसहित ११ जनाले उम्मेदवारी दिएका छन् ।

रवीन्द्र

अवधेश

Link copied successfully