ललितपुरमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

प्रहरीका अनुसार लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू गाडीमा भाग्न खोजेपछि गोली चलाइएको हो ।

जेष्ठ ३०, २०८३

गौरव पोखरेल

Police open fire to arrest drug dealer in Lalitpur

काठमाडौँ — ललितपुरमा ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल ओसारपसारमा संलग्न समूहलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार, शनिबार बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ९२०१ नम्बरको रातो रंगको सुजुकी कारमा ठूलो परिमाणमा ट्रामाडोल ल्याइँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो ।

ललितपुर महानगरपालिका–२३ गैरीगाउँबाट नख्खुतर्फ आउँदै गरेको उक्त कार र बा ५२ प ४५६७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक तथा सवार व्यक्तिहरूले अटेर गरी भाग्न खोजेको बोहराको दाबी छ । त्यसपछि प्रहरीले नियन्त्रणका लागि पेस्तोलबाट एक राउन्ड हवाई फायर गर्नुपरेको उनले कान्तिपुरलाई जानकारी दिए ।

प्रहरीले कार र मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा कारको पछाडिको डिक्कीमा लुकाएर राखिएको अवस्थामा ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको जनाएको छ । साथै घटनास्थलबाट तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतको बिहार राज्य, सीतामढी जिल्लाका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय मोहम्मद सद्दाम रहेका छन् ।

प्रहरीका अनुसार गोली कसैलाई लागेको छैन । घटनास्थलबाट ३० हजार क्याप्सुल ट्रामाडोलसहित कार, मोटरसाइकल र पाँच थान मोबाइल बरामद गरिएको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ । पछिल्लो समय लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीद्वारा गोली चलाउने क्रम बढ्दो छ ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully