फलाम र काठ मिश्रित कुर्सीका काठ फेर्नुपर्ने भएकोले मर्मत र रंगरोगनपछि राखिएको सार्वजनिक निर्माण विभागले जनाएको छ ।
काठमाडौँ — मुख्य प्रशासनिक केन्द्र सिंहदरबार नजिकै भद्रकाली सडक खण्डमा पैदलयात्रीका लागि राखिएका सार्वजनिक कुर्सी काठमाडौं महानगरपालिकाले मर्मतपछि पुन: यथावत् स्थानमै राख्न थालेको जनाएको छ ।
फलाम र काठ मिश्रित कुर्सीका काठ फेर्नुपर्ने भएकोले मर्मत र रंगरोगनपछि राखिएको सार्वजनिक निर्माण विभागले जनाएको छ ।
बालेद्र शाहले मेयरबाट राजीनामा दिएपछि काठमाडौं महानगरले पैदलयात्री बस्नका लागि राखिएका कुर्सी हटाइएको भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा भिडियोहरु भाइरल भइरहेका थिए ।
आलोचना साथै विभिन्न टीकाटिप्पणी हुन थालेपछि महानगरले स्पष्टीकरण दिँदै उक्त कुर्सीहरु मर्मत साथै व्यवस्थापनको लागि झिकिएको जनाएको थियो ।
२०८१ साल असोजदेखि महानगरभित्रका विभिन्न स्थानहरुमा गरेर कुल १ सय ४० वटा सार्वजनिक कुर्सी राखिएको थियो । त्यसमध्ये भद्रकालीदेखि सिंहदरबार सडक खण्डका पैदल मार्गमा ११ वटा कुर्सी राखिएका छन् । त्यसबाहेक बागमती,बागमती नदीका करिडोर,गुहेश्वरी,कोटेश्वर,कालमोच लगायतका ठाउँमा कुर्सी राखिएका थिए ।
महानगरले आगामी दिनमा थप कुर्सीहरु राखिने जनाएको छ । दोस्रो चरणमा नापी विभाग,तीनकुने कोटेश्वर खण्ड,रत्नपार्क,माइतीघर,ववरमहल, कमलपोखरी लगायतका स्थानमा ४९ वटा कुर्सी राखिने महानगरले बताएको छ । त्यस्तै, तेस्रो चरणमा विभिन्न स्थानमा माग र आवश्यताका आधारमा १५० वटा कुर्सी राखिने पनि महानगरले जनाएको छ ।
