काठमाडौं महानगरपालिकाले भन्यो, 'मर्मतका लागि कुर्सी झिकिएको हो, हटाइएको होइन'

२०८१ साल असोजदेखि महानगरभित्रका विभिन्न स्थानहरुमा गरेर कुल १ सय ४० वटा सार्वजनिक कुर्सी राखिएको थियो ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City said, 'The chair was taken out for repairs, not removed'

What you should know

काठमाडौँ — बालेद्र शाहले मेयरबाट राजीनामा दिएपछि काठमाडौं महानगरले पैदलयात्री बस्नका लागि राखिएका कुर्सी हटाइएको भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा भिडियोहरु भाइरल भइरहेका छन् ।

आलोचना साथै विभिन्न टीकाटिप्पणी हुन थालेपछि महानगरले स्पष्टीकरण दिँदै उक्त कुर्सीहरु मर्मत साथै व्यवस्थापनको लागि झिकिएको जनाएको छ ।  महानगरले सिंहदरबार–भद्रकाली सडक खण्डमा राखेको फलाम र काठ मिश्रित कुर्सीहरुको मर्मत सुरु गरेको महानगरका  सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले बताए । 

पुराना र र्जीण भएका कुर्सीलाई मर्मत गर्ने,सम्भार र रंगरोगन गर्ने,यात्रुको चाप भएको ठाउँमा कुर्सीको संख्या थप्ने,एक ठाउँमा एकै किसिमको कुर्सी राखेर एकरुपता कायम राख्ने, कुर्सीलाई आकर्षक र प्रयोगमैत्री बनाउने काम भइरहेको उनले बताए ।‘उमेर समूह,शारीरिक अवस्था जस्ता पैदल यात्रुको आवश्यकतालाई ध्यानमा राखेर सहजता बढाउने काम थालेका छौ,’ राईले भने,‘यसअघि राखिएका कुर्सी हटाउने कुनै योजना छैन । एकरुपता कायम गर्न साटफेर हुन सक्छ ।’

सडक किनारा,पार्क,नदीको करिडोरमा कुर्सी व्यवस्थापन चलिरहेको उनले बताए । 

२०८१ साल असोजदेखि महानगरभित्रका विभिन्न स्थानहरुमा गरेर कुल १ सय ४० वटा सार्वजनिक कुर्सी राखिएको थियो । त्यसमध्ये भद्रकालीदेखि सिंहदरबार सडक खण्डका पैदल मार्गमा ११ वटा कुर्सी राखिएका छन् । त्यसबाहेक बागमती,बागमती नदीका करिडोर,गुहेश्वरी,कोटेश्वर,कालमोच लगायतका ठाउँमा कुर्सी राखिएका थिए । 

महानगरले आगामी दिनमा थप कुर्सीहरु राखिने जनाएको छ । दोस्रो चरणमा नापी विभाग,तीनकुने कोटेश्वर खण्ड,रत्नपार्क,माइतीघर,ववरमहल, कमलपोखरी लगायतका स्थानमा ४९ वटा कुर्सी राखिने महानगरले बताएको छ । त्यस्तै, तेस्रो चरणमा विभिन्‍न स्थानमा माग र आवश्यताका आधारमा १५० वटा कुर्सी राखिने पनि महानगरले जनाएको छ । 

सामाजिक सञ्जालमा बालेद्र शाहले मेयरबाट राजीनामा दिएपछि पैदलयात्री बस्नका लागि राखिएका कुर्सी हटाइएको भन्दै महानगरले निकै आलोचना खेप्नु परेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully