काठमाडौंका ७ प्रहरी कार्यालय अझै पुरानो अवस्था फर्किन सकेनन्

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ती कार्यालयहरु नजिकका अन्य स्थानबाट सञ्चालनमा रहेका छन् । क्षति पुगेका कार्यालयमध्ये ५ वटा कार्यालय मर्ज भएर सञ्चालन गरिएका छन् ।

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

7 police offices in Kathmandu still unable to return to their old status

What you should know

काठमाडौँ — गत भदौ २४ गतेको प्रदर्शनमा क्षतिग्रस्त भएका उपत्यकाका ९७ वटा प्रहरी कार्यालयमध्ये ७ वटा अझै पुरानै अवस्थामा सञ्चालन हुन सकेका छैनन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, ती कार्यालयहरु नजिकका अन्य स्थानबाट सञ्चालनमा रहेका छन् । क्षति पुगेका कार्यालयमध्ये ५ वटा कार्यालय मर्ज भएर सञ्चालन गरिएका छन् ।

प्रहरी वृत्त, नयाँ बानेश्वरले नागरिक लगानी कोषको पुरानो भवनबाट आंशिक सेवा दिइरहेको छ । प्रहरी वृत्त, बौद्ध, स्वयम्भु, गौशाला र जनसेवालेसमेत आंशिक रुपमा सेवा दिइरहेको छ । हाल पूर्ण क्षमतामा १० वटा कार्यालयले मात्र अनुसन्धान गरिरहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौं मातहत १५ वटा कार्यालयलाई अनुसन्धान गर्ने अख्तियारी छ । ‘जेन–जी आन्दोलनपछि भएको आगजनी र तोडफोडले सेवा प्रवाह नै प्रभावित भएको छ,’ एसपी भट्टराईले भने, ‘विस्तारै प्रहरीलाई पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको छ ।’

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार, क्षतिग्रस्त भएका प्रहरी कार्यालयहरुको पुनःमर्मत,सम्भार र निर्माण कार्यमा समुदायबाट उल्लेख्य सहभागिता छ । ‘यसले समुदायको प्रहरीप्रतिको विश्वास समेत देखाउँछ,’ उनी भन्छन् ।

स्थानीय निकाय र नागरिकस्तरबाट हालसम्म प्रहरीलाई ४९ वटा दुईपांग्रे र २ वटा चार पांग्रे सवारी साधनसमेत प्रदान गरिएको छ । यसले काम, कारबाहीलाई सहज बनाएको प्रहरी बताउँछ ।

यो अवस्थामा काठमाडौं प्रहरीले ८३ नाल हतियार बरामद गरेको छ । तीमध्ये ५२ वटा आफैं दाखिला हुन ल्याइएका हुन् । प्रहरीले १०२ जना कैदीबन्दीलाईसमेत पक्राउ गरेर दाखिला गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully