काठमाडौँ — काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बुधबार पनि बस्न सकेन । महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट ल्याउने विषयमा अन्योल कायम रह्यो ।
काठमाडौं महानगरपालिका–१७ का वडाध्यक्ष एवं प्रवक्ता नवीन मानन्धरले मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले दुईभित्र कार्यपालिका बैठक नबोलाएमा बहुमत दलका वडाध्यक्षहरु मिलेर बैठक बोलाउने चेतावनी दिएका छन् ।
उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले बहुमत दलका वडाध्यक्षहरु मिलेर बैठक बोलाउन सक्ने प्रावधान रहेकाले मेयर शाह र उपमेयर डंगोललाई दुई दिनको अल्टिमेटम दिएको बताए । ‘मेयर, उपमेयरको विवादका कारण जनताको बजेट रोक्नु भएन,’ उनले भने, ‘अब आउने नगरसभाको नेतृत्व नेपाली कांग्रेसले गर्छ ।’
काठमाडौं महानगरको ४२ सदस्यीय कार्यपालिकामा कांग्रेस (२६ सिट) को बहुमत छ । एक सय ६२ सदस्य नगर सभामा पनि कांग्रेस (९७ सिट) को बहुमत छ ।
काठमाडौंका मेयर बालेन, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको टकराबका कारण महानगरले पहिलो पटक समयमा बजेट ल्याउन नसकेको हो ।
काठमाडौं टावर भवन निर्माणको नक्सा स्वीकृतको विषयलाई लिएर भएको विवादका कारण कार्यपालिकाको बैठक गत पुसदेखि बसेको छैन । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि काठमाडौं टावर भवन निर्माणको नक्सा प्रक्रिया नै पूरा नगरी स्वीकृत गरेको आरोप छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
