विवादले काठमाडौं महानगरले समयमा ल्याउन सकेन बजेट

असार १०, २०८२

कान्तिपुर संवाददाता

Due to the controversy, Kathmandu Metropolis could not bring the budget on time

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट समयमा ल्याउन सकेको छैन । महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको टकराबले महानगरले पहिलो पटक समयमा बजेट ल्याउन नसकेको हो ।

काठमाडौं टावर भवन निर्माणको नक्सा स्वीकृतको विषयलाई लिएर भएको विवादका कारण कार्यपालिकाको बैठक ७ महिनादेखि बसेको छैन । प्रमुख प्रशासकिय अधिकृत गुरागाईंमाथि काठमाडौं टावर भवन निर्माणको नक्सा प्रक्रिया नै पूरा नगरी स्वीकृत गरेको आरोप छ ।

२०८१ पुस १४ गते १६ औं नगरसभा बैठक बस्नुअगाडि बसेको कार्यपालिका बैठकपछि हालसम्म बस्न सकेको छैन ।

स्रोत अनुसार मेयर शाह प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको संलग्नतामा बैठक बस्ने पक्षमा छैनन् । शाहले गुरागाईंलाई बिदामा बस्न दबाब दिइरहेका छन् । तर, गुरागाईंले त्यसलाई नकार्दै आइरहेका छन् ।

काठमाडौं टावर सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गतको महानगरपालिकाकै स्वामित्वको जग्गामा बन्ने बसपार्कसहितको भवन हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र निति, कार्यक्रम तथा बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ । सोही ऐनको दफा १७ मा कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नुपर्ने उल्लेख छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले मेयर साहले कार्यपालिका बैठक नबोलाउँदा बजेट ल्याउन नसकेको बताए । ‘मेयर साबसँग छलफल र समन्वय भइरहेको छ । टुंगो लागेको छैन । असारभित्र पूर्ण बजेट आउँछ,’ उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully