काठमाडौँ — उपत्यकाका नदीनालामा जलसतह बढेको छ । बिहीबार बेलुकादेखिको लगातारको वर्षापछि बागमती, धोबीखोला लगायत नदीनालामा जलसतह बढेको हो ।
कुपन्डोल, कपन र अनामनगरसहितका कतिपय ठाउँमा खोला भरिएर सडकसमेत जलमग्न बनेका छन् । त्यसका कारण करिडोरका सडकमा यातायात सञ्चालन र सर्वसाधारणलाई आवतजावतमा समस्या निम्तिएको छ ।
शुक्रबार साँझ धोविखोला कपन जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस वर्षको मनसुन प्रणाली शुक्रबारदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको छ ।
यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो ।
![High flow in the rivers of Kathmandu Valley, call for caution [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/new-rainfall-plight-3-2062025032016-1000x0.jpg&w=1001&h=0)