काठमाडौँ — काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई महानगरकै कर्मचारीहरूले ताला फोडी हाजिर गराएका छन् ।
गुरागाईँलाई महानगरका प्रमुख बालेन्द्र शाहले नगर प्रहरी समेत परिचालन गरेका थिए । तर महानगरकै कर्मचारीले नै गुरागाईँलाई उनकै कार्यकक्षको ताला फोडी प्रवेश गराएका हुन् ।
गुरागाईंले तीन महिना १४ दिनपछि बिहीबार कार्यालयमा हाजिर गर्न पुगेका हुन् । गुरागाईँ गत पुस ७ गतेदेखि घर बिदामा राखिएको थियो । उनी महानगरमा नहुँदा तीन महिनादेखि कर्मचारीलगायत सम्पूर्ण आर्थिक कारोबार रोकिएको थियो ।
बिहीबार बिहानदेखि दिउँसोसम्म महानगरमा प्रमुख प्रशासकीय अधिकृतलाई गुरागाईँलाई हाजिर हुन नदिन नगर प्रहरी तैनाथ थिए । अर्कोतिर कर्मचारीहरू गुरागाईँलाई जसरी पनि कार्यालयमा प्रवेश गराउन बल गरिरहेका थिए ।
सोही बेला महानगरकी उप–प्रमुख सुनिता डंगोल र कार्यपालिका सदस्यसहितको अनौपचारिक बैठकपछि ताला फोडेर गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराएको थियो ।
अनौपचारिक बैठकमा महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले लिखित आदेशमा ताला लगाइएको हो की मौखिक आदेशमा भनेर प्रश्न गरेकी थिइन् । जवाफमा पाण्डेले मौखिक आदेशमा लगाएको प्रतिक्रिया दिएका थिए ।
त्यस अघि गुरागाईँसहितको बैठकमा उप–प्रमुख डंगोलले मेयर साहलाई कोठामा बसेर निर्देशन दिने नभई कार्यालयमा आएर समस्या समाधानका लागि पहल गर्न भनेकी थिइन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै गत फागुन २१ गते पत्राचार गरेको थियो ।
सम्बन्धित समाचार : काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृतको विवाद के हो ?
