कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनले अप्ठेरोमा परेका बिरामीलाई अस्पतालसम्म पुर्‍याउनेलाई कोरोना

काठमाडौँ — बूढानीलकण्ठ नगरपालिका–३ मा सोमबार पुष्टि भएका कोरोना संक्रमित निजी एम्बुलेन्स सञ्चालक रहेको नगरपालिकाले जनाएको छ । ३७ वर्षीय उनले लकडाउनको अवधिमा आफ्नो गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्दै आएका थिए । 

लकडाउनले अप्ठेरोमा परेका बिरामीलाई अस्पतालसम्म पुर्‍याउनेलाई कोरोना

‘लकडाउनको अवधिमा अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पुर्‍याउने, राहत बाँड्ने काममा सक्रिय थिए,’ नगर प्रवक्ता नवराज भट्टराईले भने, ‘डाइलसिस गर्नुपर्ने बिरामी, गर्भवतीलगायतलाई अस्पताल पुर्‍याउने काम गर्दै आएका थिए ।’

नगरपालिकाले जेठ ८ र ९ गते १ सय १ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । ‘जसमध्ये ६० जनाको नतिजा नेगेटिभ र एक जनाको नतिजा पोजिटिभ आएको हो,’ उनले भने, ‘४० जनाको नतिजा आउन बाँकी छ ।’

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले ती व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरिसकेको उनले बताए । उनलाई अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिँदै छ ।

सोमबार काठमाडौंका ३ जनासहित थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?