अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य

नवनियुक्त डिन वैद्यले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने, पर्यटन प्रवद्र्धन गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउने कार्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताएका छन् ।

श्रावण १०, २०८३

कान्तिपुर संवाददाता

Suraj Vaidya as Dean of the Honorary Consular Corps Nepal

काठमाडौँ — वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतहरूको संगठन अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को डीनमा निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्य फिलिपिन्सका अवैतनिक वाणिज्यदूत हुन् । 

काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले वैद्यलाई नयाँ डीनमा सर्वसम्मत चयन गरेको हो । यसअघि बुल्गेरियाका लागि नेपालस्थित भोला थापा यसको डिन थिए । सम्मेलनले एचसीसीएनको भाइस डिनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ ।

नेपालको औद्योगिक क्षेत्रमा लामो योगदान र अनुभव बटुलेका वैद्यको ६ दशकभन्दा पुरानो व्यापारीक घराना वैद्य अर्गनाइजेशन टोयोटा गाडीको आधिकारीक विक्रेताको रुपमा लामो समयदेखि रहँदै आएको छ । योसँगै ग्रुपले अटोसँगै सिमेन्ट, हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । 

नवनियुक्त डिन वैद्यले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने, पर्यटन प्रवद्र्धन गर्ने र आर्थिक कूटनीतिलाई सुदृढ बनाउने कार्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताएका छन् ।

डिनको जिम्मेवारी सम्हालेपछि बिहीबार जारी गरेको प्रेस वक्तव्यमा वैद्यले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै आर्थिक सहकार्य विस्तार गर्न सक्रिय रूपमा अघि बढ्ने बताएका हुन् । 

एचसीसीएनले हाल विश्वका ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै वैद्यले ती राष्ट्रले विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार, प्रविधि, नवप्रवर्तन, पर्यटन तथा लगानीमा महत्वपूर्ण योगदान पुर्याइरहेको जनाए । 

पाँच अर्बभन्दा बढी जनसंख्या र १ सय ट्रिलियन अमेरिकी डलरभन्दा बढीको संयुक्त आर्थिक आकार भएका ती मुलुकसँग नेपालको सम्बन्ध विस्तार गर्नु आर्थिक विकासका लागि महत्वपूर्ण अवसर भएको उनको भनाइ छ । 

नेपालले लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटन विस्तार गर्ने र अन्तर्राष्ट्रिय व्यापार बढाउने लक्ष्य लिएको वर्तमान अवस्थामा आर्थिक कूटनीतिको महत्व झनै बढेको वैद्यले बताए । 

मानार्थ वाणिज्यदूतहरूले सरकार–सरकारबीच मात्र नभई निजी क्षेत्र, लगानीकर्ता, उद्यमी, शैक्षिक संस्था र समुदायबीच सहकार्य विस्तार गर्ने सेतुको भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे ।  

कान्तिपुर

Link copied successfully