कक्षाकोठामा सिर्जनशीलता प्रयोगबारे ब्रिटिस काउन्सिलको क्षेत्रीय सम्मेलन

ब्रिटिस काउन्सिलका अनुसार सम्मेलनमा बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका विज्ञहरूले कक्षाकोठामा सिर्जनशीलतालाई प्रभावकारी सिकाइको आधारका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अनुभव आदानप्रदान गर्नेछन् ।

श्रावण ५, २०८३

कान्तिपुर संवाददाता

British Council Regional Conference on Using Creativity in the Classroom

What you should know

काठमाडौँ — ब्रिटिस काउन्सिलले दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता र शिक्षा क्षेत्रका विज्ञहरूलाई सहभागी गराएर ‘साउथ एसिया टिचिङ इंग्लिस अनलाइन कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएको छ । जुलाई २३ देखि २५ सम्म सञ्चालन हुने निःशुल्क अनलाइन सम्मेलनमा सिर्जनशीलता, समावेशिता र प्रविधिमार्फत विद्यार्थीलाई बदलिँदो विश्व परिवेशअनुकूल कसरी सक्षम बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।

ब्रिटिस काउन्सिलका अनुसार सम्मेलनमा बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका विज्ञहरूले कक्षाकोठामा सिर्जनशीलतालाई प्रभावकारी सिकाइको आधारका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अनुभव आदानप्रदान गर्नेछन् । साथै, विविध भाषिक पृष्ठभूमिका विद्यार्थीका लागि समावेशी सिकाइ वातावरण निर्माण, नवप्रवर्तनमुखी शिक्षण पद्धति, विद्यार्थीको सहभागिता तथा कृत्रिम बुद्धिमत्ता (एआई)लाई मानवकेन्द्रित शिक्षणको पूरकका रूपमा उपयोग गर्ने उपायबारे पनि छलफल हुनेछ ।

दक्षिण एसियाली शैक्षिक प्रणालीले पाठ्यक्रमका अपेक्षा, प्रभावकारी मूल्यांकन र विद्यार्थीका बदलिँदा आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने चुनौतीका बीच सम्मेलन आयोजना गर्न लागिएको हो । अंग्रेजी भाषा अझै पनि शैक्षिक, प्राज्ञिक तथा व्यावसायिक अवसरको महत्वपूर्ण माध्यम भए पनि शिक्षण अब भाषा सिकाइमा मात्र सीमित नरही आलोचनात्मक सोच, सहकार्य, विद्यार्थीको स्वायत्तता र सिकाइप्रतिको स्वामित्व विकासमा केन्द्रित हुनुपर्नेमा सम्मेलनले जोड दिने जनाइएको छ ।

सम्मेलनमा मुख्य प्रस्तुति, अनुभवमा आधारित छलफल तथा कक्षाकोठाका असल अभ्यास प्रस्तुत गरिनेछन् । सहभागीहरूले दक्षिण एसियाका साझा शैक्षिक चुनौतीको स्थानीय सन्दर्भमा अपनाइएका समाधान तथा प्रभावकारी शिक्षण अभ्यासबारे जानकारी लिन सक्नेछन् ।

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले प्रभावकारी सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप विकासका लागि सिर्जनशीलताको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले सम्मेलनले अनुसन्धानमा आधारित दृष्टिकोण, व्यवहारिक अभ्यास र कक्षाकोठामा कार्यान्वयन गर्न सकिने रणनीतिबारे शिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालालाई जानकारी दिने विश्वास व्यक्त गरे ।

कान्तिपुर

Link copied successfully