हुन्डाई नेक्स्ट जेन कपमा प्रतियोगितामा आठ टोलीका ८० खेलाडी सहभागी भएका थिए ।
काठमाडौँ — नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा भएको 'हुन्डाई नेक्स्ट जेन कप'मा टिम भेन्यू विजेता बनेको छ ।
एजीटेन एकेडेमीसँगको सहकार्यमा ललितपुरस्थित च्यासल मैदानमा भएको यू-१६ कपमा टिम भेन्यू विजेता र टिम क्रेता ईलेक्ट्रिक उपविजेता भएको हो । प्रतियोगितामा आठ टोलीका ८० खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा टिम क्रेता ईलेक्ट्रिक, टिम भेन्यू, टिम आईओएनआईक्यू फाइभ, टिम एक्टर, टिम कोना, टिम क्रेता, टिम ग्रान्ड आईटेन एनआईओएस र टिम पालिसेड टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
हुन्डाईले आफ्नो विश्वव्यापी ब्रान्ड भिजन नेक्स्ट स्टार्टस् नाउअनुरूप नेपालमा पनि ग्रासरुट फुटबलको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ । एजीटेन एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले भने, 'नेपालमा प्रतिभाको अभाव कहिल्यै थिएन, अभाव थियो अवसरको । यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्ने मात्र होइन, त्यसलाई पूरा गर्ने आत्मविश्वास पनि दिन्छन् । हुन्डाई नेपालको यस्तो साथले नेपाली फुटबलको भविष्यलाई अझ बलियो बनाउने विश्वास लिएको छु ।'
प्रतियोगिताले युवा खेलाडीहरूलाई व्यवस्थित प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, सिक्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा खेलप्रतिको समर्पणलाई अझ मजबुत बनाउने अवसर प्रदान गरेको पनि आयोजकको भनाइ छ ।
