साझेदारीले नेपालको सूचना प्रविधि र डिजिटल उद्यमशीलताको जगलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको जनाइएको छ
काठमाडौँ — द ब्रिटिस कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ‘स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६’ का लागि रणनीतिक सम्झौता भएको छ ।
यससम्बन्धी सम्झौतापत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरे ।
यस साझेदारीले नेपालको सूचना प्रविधि र डिजिटल उद्यमशीलताको जगलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको जनाइएको छ ।
‘नेपालमा पछिल्ला केही वर्षमा डिजिटल रूपान्तरतरण र प्राविधिक नवप्रवर्तनको लहर तीव्र गतिमा अघि बढिरहेको छ,’ दुवै संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्न र नेपालमा एउटा बलियो स्टार्टअप इकोसिस्टम निर्माण गर्न ऐतिहासिक पहल सुरु भएको छ ।’
सम्झौताअनुसार क्यान महासंघ यस प्रतिष्ठित ग्लोबल प्रतिस्पर्धाको ‘स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर’का रूपमा रहनेछ ।
साझेदारीका क्रममा दुवै संस्थाका नेतृत्वकर्ताहरूले नेपालको आर्थिक समृद्धिका लागि स्टार्टअप कल्चर र डिजिटल फाउन्डेसनको महत्त्वमाथि जोड दिएका छन् ।
