मेडिकल ल्याब परीक्षणबाट प्रमाणित प्रविधिबाट स्यानिटाइज गरिएको हेल्मेट करिब १५ दिनसम्म ताजा र दुर्गन्धरहित रहने कम्पनीको दाबी छ ।
What you should know
भैरहवा — मुलुकमा पहिलोपटक दुई पाङ्ग्रे सवारी चालकले प्रयोग गर्ने हेल्मेट सफाइ गर्ने मेसिन भित्र्याइएको छ । गैरे फ्रेसपोड नेपालले बिहीबार दिउँसो बुटवलमा कार्यक्रम आयोजना गरेर हेल्मेट क्लिनिङ तथा स्यानिटाइजिङ मेसिन सार्वजनिक गरेको हो ।
गैरे प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरे र नाडा अटोमोबाइल एसोसिएसन नेपालका सचिव मेघराज पौडेलले संयुक्त रूपमा मेसिन सार्वजनिक गरेका हुन् ।
भारतको प्रतिष्ठित कम्पनी फ्रेसपोड इन्डियाले उत्पादन गरेको मेसिनको नेपालका लागि आधिकारिक वितरक गैरे फ्रेसपोड प्रालि रहेको छ । बुटवल–१९ कालिका नगरस्थित गैरे फ्रेसपोड प्रालिले बिहीबारबाट विशेष छुटसहित मेसिन बिक्री थालेको छ । हेल्मेट सफाइ गर्ने मेसिनको नेपालमा करिब ६ लाख रुपैयाँ मूल्य रहेको छ । मेसिनले पाँच मिनेटभित्र हेल्मेट सफा गरिसक्छ । त्यसका लागि क्यूआरबाट पैसा तिर्ने व्यवस्था मिलाइएको छ ।
एकपटकको १ सय ७५ रुपैयाँ भुक्तानी गरेपछि मेसिनको ढोका आफैं खुल्छ । लगत्तै मेसिनमा राखेको हेल्मेट पाँच मिनेटभित्र किटाणुरहित र सफा हुने कम्पनीको दाबी छ । नियमित हेल्मेट सरसफाइले छालासम्बन्धी समस्या तथा संक्रमणको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास पनि गैरे फ्रेसपोडले व्यक्त गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष गैरेका अनुसार लामो समय हेल्मेट प्रयोग गर्दा पसिना, धूलो, ब्याक्टेरिया र दुर्गन्ध जम्ने समस्याको समाधानका लागि यो प्रविधि नेपालमा भित्र्याइएको हो । मेसिनमा अनलाइन क्यूआर भुक्तानी प्रणालीसमेत जडान गरिएको उनले जानकारी दिए । नगद बोक्नुपर्ने झन्झटबिनै ग्राहकले डिजिटल माध्यमबाट सहज रूपमा सेवा शुल्क भुक्तानी गर्न सक्ने उनको भनाइ छ ।
भारतमा सन् २०२५ मे ४ मा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्ऽबाबु नायडुले उक्त मेसिनको औपचारिक उद्घाटन गरेका थिए । छोटो समयमै भारत, श्रीलंका तथा अफ्रिकालगायतका देशमा विस्तार भएको फ्रेसपोडले अहिलेसम्म २ सयभन्दा बढी मेसिन बिक्री गरेर ५ लाखभन्दा बढी हेल्मेट स्यानिटाइज गरिसकेको कम्पनीले जनाएको छ ।
फ्रेसपोडले भारतमा गुणस्तरीय सेवाका लागि गोल्ड मेडल, सर्बिया, थाइल्यान्ड, मलेसिया र चीनमा आयोजित अन्तर्राष्ट्रिय इनोभेसन प्रदर्शनीमा समेत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको संस्थापक भास्करकुमार लकजुले बताए । गैरे प्रतिष्ठानका निर्देशक प्रवेशराज गैरेका अनुसार मेसिनले जम्मा पाँच मिनेटमा हेल्मेटभित्रको धूलो, दुर्गन्ध र किटाणु हटाई सफा, स्यानिटाइज्ड र सुगन्धित बनाउँछ । मेडिकल ल्याब परीक्षणबाट प्रमाणित प्रविधिबाट स्यानिटाइज गरिएको हेल्मेट करिब १५ दिनसम्म ताजा र दुर्गन्धरहित रहने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यस्तो सेवा विशेष गरी मोटरसाइकल चालक, राइडर, डेलिभरी सेवा प्रदायक तथा दैनिक हेल्मेट प्रयोगकर्ताका लागि उपयोगी हुनेछ ।
आगामी दिनमा पेट्रोल पम्प, सपिङ कम्प्लेक्स, कलेज, अस्पताल तथा टू व्हीलर डिलर एण्ड सर्विस सेन्टर नेटवर्कमार्फत सेवा विस्तार गरिने जनाएको छ । प्रतिष्ठानका निर्देशक गैरेका अनुसार हेल्मेट स्यानिटाइजिङ मेसिनको मूल्य भ्याटसहित ५ लाख ९५ हजार रुपैयाँ छ । एक वर्षको म्यानुफ्याक्चरिङ वारेन्टीसमेत उपलब्ध रहेको छ ।
