नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको गन्तव्य बनाउन इक्यान–आइप्यानबीच समझदारी

अभियानमार्फत नेपालको उच्च शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्दै विदेशी विद्यार्थी, अनुसन्धानकर्ता तथा शैक्षिक साझेदारलाई नेपालसँग जोड्ने प्रयास गरिने जनाइएको छ।

असार १६, २०८३

कान्तिपुर संवाददाता

ICAN-IPAN sign agreement to make Nepal an international education destination

What you should know

काठमाडौं — नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको गन्तव्यका रूपमा स्थापित गर्ने, ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी बनाउने तथा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

समझदारीले नेपालमा गुणस्तरीय उच्च शिक्षाको प्रवर्द्धन, अन्तर्राष्ट्रिय स्तरका शैक्षिक संस्थासँग सहकार्य विस्तार, विद्यार्थीलाई विश्वसनीय परामर्श सेवा उपलब्ध गराउने तथा नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आकर्षक अध्ययन गन्तव्यका रूपमा विकास गर्ने साझा लक्ष्य अघि सारेको छ।

इक्यान तीन दशकदेखि नेपालको शैक्षिक परामर्श क्षेत्रको अग्रणी तथा सबैभन्दा ठूलो छाता संस्था हो। संस्थाले हजारौं नेपाली विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थासम्म पुग्न सहजीकरण गर्दै सुरक्षित, पारदर्शी, नैतिक तथा गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रवर्द्धन गर्दै आएको छ।  

त्यसैगरी, आइप्यान विदेशी विश्वविद्यालयको सम्बन्धन तथा शिक्षा मन्त्रालयको स्वीकृतिमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूको साझा संगठन हो। संस्थाले गुणस्तरीय उच्च शिक्षा स्वदेशमै उपलब्ध गराउने, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्ने तथा नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ काम गर्दै आएको छ।

समझदारीअनुसार अब इक्यानका सदस्य संस्थाले आइप्यानका सदस्य कलेज तथा शिक्षण संस्थामा सञ्चालन हुने शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, प्रवेश मापदण्ड, छात्रवृत्ति, करियरका अवसर तथा अन्य शैक्षिक जानकारीमा प्रत्यक्ष पहुँच पाउनेछन्। यसबाट विद्यार्थी र अभिभावकलाई अझ तथ्यपरक, अद्यावधिक तथा गुणस्तरीय शैक्षिक परामर्श सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दुवै संस्थाले व्यावसायिक, पारदर्शी, नैतिक तथा जिम्मेवार कार्यसंस्कृति विकास गर्दै संस्थागत सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

समझदारीको अर्को महत्वपूर्ण पक्ष ‘स्टडी इन नेपाल’ अभियानलाई संयुक्त रूपमा अघि बढाउने सहमति हो। यसअन्तर्गत नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आकर्षक अध्ययन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, विदेशी विद्यार्थी भर्ना बढाउने, नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने, अनुसन्धान तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने र शैक्षिक कूटनीतिलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ।

यस अभियानमार्फत नेपालको उच्च शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्दै विदेशी विद्यार्थी, अनुसन्धानकर्ता तथा शैक्षिक साझेदारलाई नेपालसँग जोड्ने प्रयास गरिने जनाइएको छ।

समझदारीअनुसार दुवै संस्थाले संयुक्त रूपमा क्षमता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, शैक्षिक अभिमुखीकरण, अनुसन्धान, नीतिगत संवाद, बीटूबी नेटवर्किङ, अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन तथा ‘स्टडी इन नेपाल’ अभियानअन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछन्। यसबाट शिक्षा क्षेत्रमा कार्यरत संस्थाबीच समन्वय, सहकार्य र सूचना आदानप्रदान थप प्रभावकारी हुने विश्वास गरिएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत पनि दुवै संस्थाले संयुक्त कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन्। आर्थिक रूपमा विपन्न, जेहेन्दार, प्रतिभाशाली तथा अवसरबाट वञ्चित विद्यार्थीलाई आइप्यानका सदस्य संस्थामा छात्रवृत्ति तथा विशेष शैक्षिक अवसर उपलब्ध गराउन सहकार्य गरिने उल्लेख छ।

यस साझेदारीमार्फत विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षाबारे सही, विश्वसनीय र अद्यावधिक जानकारी उपलब्ध गराउने, गुणस्तरीय शैक्षिक परामर्श प्रणालीलाई थप सुदृढ बनाउने, अन्तर्राष्ट्रिय शैक्षिक अवसरमा पहुँच विस्तार गर्ने तथा नेपालको शिक्षा क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि गर्न संयुक्त रूपमा काम गरिने जनाइएको छ।

समझदारीपत्रमा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल र आइप्यानका अध्यक्ष लक्ष्मण केसीले हस्ताक्षर गरेका छन्। हस्ताक्षर समारोहमा दुवै संस्थाका नेतृत्वले यस सहकार्यले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

कान्तिपुर

Link copied successfully