तालिममा विभिन्न संस्था तथा पेशागत पृष्ठभूमिका सहभागीहरूको उल्लेखनीय सहभागिता
काठमाडौँ — सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स नेपालले निर्माण व्यवसाय विकास कार्यान्वयन समिति तथा नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा सहरी सडक योजना तथा व्यवस्थापन विषयक चारदिने तालिम सुरु गरेको छ।
नेपालको परामर्श, निर्माण क्षेत्र तथा सम्बन्धित सरकारी विभाग र मन्त्रालयअन्तर्गतका परियोजनाका सरोकारवाला निकायह (नियोक्ता, परामर्शदाता र निर्माण ब्यबसायी) का व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम गरिएको हो ।
कार्यक्रमको पहिलो दिन बुधबार कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय भीम पराजुलीज्यूको प्रमुख आतिथ्य रह्यो । उक्त अवसरमा विशेष अतिथिहरू नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष पद्मबहादुर शाही, नेपाल इन्जिनियर्स एसोसिएसन, कोशी प्रदेशका अध्यक्ष जगरनाथ शाह, पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका निर्देशक धर्मेन्द्र सिंह तथा नेपाल निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशका अध्यक्ष जनसेवक भण्डारीको समेत उपस्थिति थियो ।
तालिममा विभिन्न संस्था तथा पेशागत पृष्ठभूमिका सहभागीहरूको उल्लेखनीय सहभागिता छ। यसमा प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयका प्रतिनिधि, सहरी विकास तथा भवन निर्माण विभाग र सडक विभाग जस्ता संघीय सरकारी निकायका पदाधिकारी तथा विभिन्न नगरपालिकाका कार्यपालिका कार्यालयका प्रतिनिधि सहभागी छन्।
