शुक्रबारदेखि आइतबारसम्म चल्ने कार्यक्रममा नेपाल र भारतका विद्यार्थी, डेभेलपर्स, डिजाइनर तथा नवउद्यमीहरू सहभागी हुँदै नविन परियोजनाहरू प्रस्तुत गर्दै छन् ।
काठमाडौँ — डियरवाक कलेजका विद्यार्थीले शुक्रबारदेखि ‘डियरह्याक’ कार्यक्रम सञ्चालन गरेका छन् । आइतबारसम्म चल्ने कार्यक्रममा विभिन्न संकायका विद्यार्थी, डेभेलपर्स, डिजाइनर र नवउद्यमीहरू सहभागी हुने आयोजक विद्यार्थी समितिले जनाएको छ ।
यसअघिका संस्करणमा विकास गरिएका परियोजनामध्ये ‘बन रक्षक’ र ‘रिजनेट’ महत्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । ‘वन रक्षक’ले वन फडानीमा प्रयोग हुने भारी उपकरणको आवाज पहिचान गरी सम्बन्धित निकायलाई सूचना दिने प्रणाली विकास गरेको छ भने ‘रिजनेट’ ले प्रारम्भिक चरणका उद्यमीलाई आफ्ना व्यावसायिक अवधारणा विकास र परिमार्जन गर्न सहयोग गर्ने उद्देश्य राखेको छ ।
यस वर्षको संस्करणमा नेपालका विभिन्न जिल्ला र भारतका विद्यार्थीको पनि सहभागिता रहेको छ । कार्यक्रममा ह्याक सेसन, उद्योग क्षेत्रका विज्ञबाट मार्गदर्शन, कार्यशाला तथा परियोजना प्रदर्शन समावेश रहनेछन् ।
