एनसेल डाटा सेन्टरले सूचना सुरक्षा र गोपनीयतासम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता पनि प्राप्त गरिसकेको छ ।
काठमाडौँ — ललितपुरमा सञ्चालनमा रहेको एनसेलको डाटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ को प्रमाणीकरण पाएको छ ।
यो अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त टिएर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई थप उजागर गर्ने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इन्टिग्रेटेड डाटा सेन्टरका रुपमा समेत चिनिएको यो डाटा सेन्टर सरकारद्वारा सूचीकृत भएको नेपालकै पहिलो डाटा सेन्टर तथा क्लाउड सेवा रहेको कम्पनीको दाबी छ ।
‘यो प्रमाणीकरणले एनसेल डाटा सेन्टरको डिजाइन रेटिङ थ्रीको मापदण्डअनुसार रहेको पुष्टि गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसले अत्यावश्यक र संवेदनशील कार्य सञ्चालन गर्न समानान्तर रुपमा मर्मत गर्न सकिने उच्च उपलब्धता, उच्च अतिरिक्तता र प्रतिकूलताबाट छिट्टै उठ्ने क्षमताका पुर्वाधार उपलब्ध रहेको सुनिश्चित गर्छ । अधिकतम अपटाइमका लागि डिजाइन गरिएको डाटा सेन्टर पूर्वनिर्धारित मर्मत वा आकस्मिक घटनाहरूको समयमा पनि बिनाअवरोध सञ्चालनमा रहन सक्षम छ ।’
यो मूल्यांकन तथा प्रमाणीकरण टेलिकम्युनिकेसन इन्डस्ट्री एसोसिएसन (टीआईए) बाट अधिकार प्राप्त अडिट र प्रमाणीकरण गर्ने संस्था डाटा सेन्टर मिडिया एलएलपीले गरेको एनसेलले जनाएको छ ।
‘यो प्रमाणीकरण एनसेलका साथै नेपालकै लागि पनि एक कोशेढुंगा हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘किनकि नेपालबाट डिजाइन एन्ड कम्स्ट्रक्टेड फसिलिटीमा यो टीआईएको प्रमाणीकरण प्राप्त गर्ने एनसेल डाटा सेन्टर पहिलो हो ।’
एनसेल डाटा सेन्टरले सूचना सुरक्षा र गोपनीयतासम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता पनि प्राप्त गरिसकेको छ ।
‘यसले सुशासन, डाटा संरक्षण अनि जोखिम व्यवस्थापन प्रक्रियाहरूलाई थप बलियो बनाउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘एनसेलले आईएसओ ९००१ र १४००१ मान्यता पनि प्राप्त गरिसकेको छ ।’
