फोनपे र युनियनपे इन्टरनेशनलको सहकार्यबाट चीन, सिंगापुरलगायत देशका पर्यटकले नेपालका मर्चेन्टहरूमा डिजिटल क्यूआर भुक्तानीको सुविधा सहज रूपमा पाउने छन्।
काठमाडौँ — नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्यूआर स्किममा युनियनपे इन्टरनेशनललाई पनि जोडेको छ। काठमाडौंमा आयोजित विशेष कार्यक्रममा यो सहकार्यको घोषणा गरिएको हो ।
यसबाट चीन, हङकङ, मकाउ, सिंगापुरलगायतबाट युनियनपे प्रयोगकर्ताले नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा सहज रूपमा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले फोनपे नेटवर्कमा युनियनपे इन्टरनेशनलको एकीकरण महत्वपूर्ण उपलब्धि भएको बताए ।
युनियनपे विश्वकै ठूलो कार्ड तथा पेमेन्ट नेटवर्कमध्ये एक हो । फोनपेसँगको सहकार्यमार्फत युनियनपे प्रयोगकर्ताले अब नेपालभर रहेका २० लाखभन्दा बढी मर्चेन्ट टचपोइन्टमा आफ्नै देशजस्तै सहज डिजिटल भुक्तानी गर्न सक्ने कम्पनीको दाबी छ ।
फोनपे क्यूआरमार्फत डिजिटल भुक्तानी स्वीकार गर्ने सबै मर्चेन्टहरूले अब अन्तर्राष्ट्रिय ग्राहकबाट युनियनपे एप प्रयोग गरी सहज रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन्।
