किओचलाई पेपे पिज्जा ग्रुपको ५१ लाख ११ हजार सहयोग घोषणा

पेपे पिज्जा ग्रुपले देशभरका प्रमुख भाटभटेनीका सुपर स्टोरहरूमा ‘फुड पार्क’ सञ्चालन गर्दै आएको छ । ती फुड पार्कमा ‘पेपे पिज्जा’, ‘पेपे आइसक्रिम’, ‘बम्बे बाइट्स’ र ‘मोमो फ्रम द हिमालयाज’लगायत ब्रान्ड सञ्चालनमा छन् ।

जेष्ठ ८, २०८३

कान्तिपुर संवाददाता

Pepe Pizza Group announces Rs 5.111 million support to Kioch

काठमाडौँ — काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पेपे पिज्जा ग्रुपको ५१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग घोषणा गरेको छ ।

उक्त सहयोग ‘पेपे’ समूहको तर्फबाट प्रदान गरिएको कम्पनीका सञ्चालक कौशल तिम्सिनाले जनाए । बाल स्वास्थ्य सेवामा सहयोगस्वरूप उक्त रकम सहयोग गर्ने घोषणा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बालबालिकाको स्वास्थ्य क्षेत्रमा लगानी गर्नुलाई कम्पनीले सामाजिक जिम्मेवारीको रूपमा लिएको तिम्सिनाले जनाए । ‘नेपालका बालबालिकाको स्वास्थ्यमा योगदान पुर्‍याउनु हाम्रो दायित्व हो भन्ने महसुस गरेका छौं,’ उनले भने ।

पेपे पिज्जा ग्रुपले देशभरका प्रमुख भाटभटेनीका सुपर स्टोरहरूमा ‘फुड पार्क’ सञ्चालन गर्दै आएको छ । ती फुड पार्कमा ‘पेपे पिज्जा’, ‘पेपे आइसक्रिम’, ‘बम्बे बाइट्स’ र ‘मोमो फ्रम द हिमालयाज’लगायत ब्रान्ड सञ्चालनमा छन् ।

बालबालिकाका लागि खेल क्षेत्रसमेत समावेश गरिएका ती फुड पार्कले बालमैत्री वातावरण निर्माणमा सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ ।

किओचले एमआरआई र सिटी स्क्यान उपकरण खरिदका लागि ५ करोड ५० लाख रुपैयाँभन्दा बढी सहयोग प्रतिबद्धता प्राप्त गरेको छ ।

करिब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त अत्याधुनिक उपकरण खरिदमार्फत अस्पतालले नेपालभरका बालबालिकाका लागि स्वास्थ्य सेवा पूर्वाधार थप सुदृढ बनाउने जनाएको विज्ञप्तिमा उल्लेख छ ।


यसअघि समाजसेवी मीनबहादुर गुरुङले अस्पतालको ‘वेस्ट ब्लक बिल्डिङ’ निर्माणका लागि ७१ करोड रुपैयाँभन्दा बढी सहयोग प्रदान गरिसकेका छन् ।

कान्तिपुर

Link copied successfully