विराटनगरमा 'मिथिला स्वाद' पस्किँदै सन्तोष

जनकपुरबाट सुरु भएको ‘मिथिला थाली’ काठमाडौंको झम्सिखेल, गैरीधारा र गौशालासम्म विस्तार भइसकेको छ भने अब विराटनगरमार्फत पूर्वी नेपालमा समेत प्रवेश गरेको छ।

जेष्ठ ७, २०८३

पर्वत पोर्तेल

Santosh is enjoying the taste of 'Mithila' in Biratnagar

What you should know

विराटनगर — अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष शाहले ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’मार्फत विराटनगरमा नयाँ स्वाद पस्किएका छन् । 

बेलायतको चर्चित कुकिङ रियालिटी सो 'मास्टरसेफ: द प्रोफेसनल' बाट अन्तर्राष्ट्रिय पहिचान बनाएका शाहले विराटनगरको डीडीसी भवनअगाडि नयाँ आउटलेट सञ्चालनमा ल्याएका हुन्। 

एउटै छानामुनि मिथिला परिकार, जनकपुरे स्वाद र मिथिला कला समेटिएको यो आउटलेटलाई उनले  रेस्टुरेन्ट मात्रै नभई ‘स्वादको संस्कृति  साट्ने थलो’का रूपमा अर्थ्याएका छन् । 

शाहका अनुसार मिथिला संस्कृति, खानपान र परम्परागत स्वादलाई देशका मुख्य सहरमा विस्तार गर्ने उद्देश्यले ‘मिथिला थाली’ ब्रान्ड अघि बढाइएको उनले बताए। विराटनगरमा खुलेको यो पाँचौँ आउटलेट हो।

रेस्टुरेन्टको मुख्य आकर्षण ‘मिथिला थाली’ हो, जसमा तरुवा, तिलौरी, विरिया, कडिबडी, चोखा, घिउ रोटी, भातलगायत मिथिला क्षेत्रका मौलिक परिकार समेटिएका छन्। त्यस्तै ‘जनकपुर फिस हाउस’मा तावा फ्राइ ट्राउट, लोकल झिँगे माछा, क्रिस्पी फ्राइ प्राउनदेखि स्पेसल तावा फिस सेटसम्मका परिकार उपलब्ध छन्। परिकारसँग जनकपुरे शैलीको साँदेको खट्टे, मुलाको अचार, सातु, लस्सी र पान पनि पस्किने व्यवस्था गरिएको छ।Santosh is enjoying the taste of 'Mithila' in Biratnagar

आउटलेटको अर्को विशेषता यसको सजावट हो। सम्पूर्ण इन्टेरियर मिथिला आर्टमा आधारित छ। प्रवेशद्वारदेखि भित्तासम्म मिथिला चित्रकलाले सजाइएको छ भने स्थानीय कलाकारका कलाकृतिहरू प्रदर्शनमा राखिएका छन्। ग्राहकले ती कला खरिद गर्न सक्ने व्यवस्था मिलाइएकाले कलाकारलाई प्रत्यक्ष आर्थिक सहयोग पुग्ने शाहले जनाए। 

प्रारम्भिक चरणमा करिब सय जनासम्म बस्न मिल्ने क्षमता रहेको र विस्तारपछि अढाइ सय जनासम्म पुर्‍याइने योजना रहेको व्यवस्थापनले जनाएको छ। सेमिनार, गोष्ठी तथा विभिन्न कार्यक्रमका लागि हलसमेत निर्माण गरिएको छ।

शाहले विराटनगरलाई आगामी दिनमा ‘रेस्टुरेन्ट हब’ बन्न सक्ने सम्भावना भएको सहरका रूपमा चित्रण गरेका छन्। उनका अनुसार यहाँ पाँचतारे होटल, अन्तर्राष्ट्रिय चेन र नयाँ खाद्य परियोजनाहरू विस्तार भइरहेका छन्, जसले खाद्य पर्यटनको सम्भावना पनि बढाएको छ।

पछिल्ला वर्षमा शाहले अमेरिका, युरोप, अष्ट्रेलिया, न्युजिल्यान्ड र जापानसम्म नेपाली रैथाने परिकारको पप–अप शो गर्दै आएका छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मौलिक स्वादको माग बढिरहेको अनुभव सुनाउँदै उनले स्वदेशमा भने ‘मिथिला थाली’ ब्रान्ड विस्तारलाई प्राथमिकतामा राखेको बताए।

यसअघि जनकपुरबाट सुरु भएको ‘मिथिला थाली’ काठमाडौंको झम्सिखेल, गैरीधारा र गौशालासम्म विस्तार भइसकेको छ भने अब विराटनगरमार्फत पूर्वी नेपाली बजारमा समेत प्रवेश गरेको छ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully