विद्युतीय सवारीको मोटर क्षमताबारे नाइमा र नाडाको ध्यानाकर्षण

कानुनी, प्राविधिक तथा संस्थागत प्रक्रिया पूरा गरी आयातित सवारीसाधनको पर्याप्त तथ्य र आधिकारिक आधारबिना शंका उत्पन्न गर्ने, भ्रम फैलाउने र अनर्गल प्रचार गर्ने कार्यले समग्र विद्युतीय सवारी उद्योगप्रतिको विश्वसनीयता गुम्ने पनि नाडाले चिन्ता व्यक्त गरेको छ ।

जेष्ठ २, २०८३

कान्तिपुर संवाददाता

NAIMA and NADA draw attention to the motor capacity of electric vehicles

What you should know

काठमाडौँ — पछिल्लो समय विभिन्न माध्यममार्फत नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को मोटर क्षमताबारे भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

यस विषयलाई नाइमाले यसअघि अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री लगायतसँगको छलफलमा समेत उठाइएको नाइमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘ईभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनसम्बन्धी विषयमा स्पष्ट, व्यावहारिक र एकरूप व्यवस्था आवश्यक रहेको धारणा हामीले राखेका थियौं,’ नाइमाले भनेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त टेस्टिङ एजेन्सीहरूले जारी गरेका आधिकारिक विवरण, परीक्षण तथा प्रमाणीकरण प्रक्रियाका आधारमा मात्र नेपालमा विद्युतीय सवारी आयात हुने गरेको नाडाको टिप्पणी छ । विश्व अटोमोबाइल उद्योगमा एउटै मोडलका सवारीसाधन विभिन्न देश, नियामकीय संरचना तथा बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेसनमा उत्पादन हुनु सामान्य अन्तर्राष्ट्रिय अभ्यास रहेको नाइमाको पनि स्पष्टोक्ति छ । ‘केवल वेबसाइटमा देखिएका विवरण, मोडल नाम वा बाह्य जानकारीका आधारमा मोटर क्षमतासम्बन्धी निष्कर्ष निकालिनु प्राविधिक रूपमा विश्वसनीय आधार मान्न सकिँदैन,’ नाइमाले भनेको छ ।

कानुनी, प्राविधिक तथा संस्थागत प्रक्रिया पूरा गरी आयातित सवारीसाधनको पर्याप्त तथ्य र आधिकारिक आधारबिना शंका उत्पन्न गर्ने, भ्रम फैलाउने र अनर्गल प्रचार गर्ने कार्यले समग्र विद्युतीय सवारी उद्योगप्रतिको विश्वसनीयता गुम्ने पनि नाडाले चिन्ता व्यक्त गरेको छ । ‘नेपालमा ईभी व्यवसायीहरूले प्रचलित कानुन, कर तथा भन्सारसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्दै पारदर्शी र जिम्मेवार ढंगले व्यवसाय गरिरहेका छन्,’ नाडाले भनेको छ ।

विद्युतीय सवारीसाधन नेपालको स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको नाइमाको दाबी छ । ‘ईभी क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ ऊर्जाको प्रभावकारी उपयोग बढाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने तथा समग्र ऊर्जा तथा यातायात क्षेत्रको दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुर्‍याइरहेको छ,’ नाइमाले भनेको छ ।

कान्तिपुर

Link copied successfully